मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 22 July, 2025
Invalid date format २१:२२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

हलेँसीमा एकमहिने बोलबम मेला सुरु, पहिलो दिनमै पुगे साढे १२ हजार दर्शनार्थी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:२२:oo

हलेँसी महादेव मन्दिरमा महिना दिनसम्म लाग्ने ‘बोलबम’ मेला आज (सोमबार)बाट सुरु भएको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेँसीमा साउन महिनाभर बोलबम मेला लाग्ने गर्छ । 

मेला सुरु भएसँगै यस क्षेत्रमा गेरुवस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ । मेलाको पहिलो दिन (आज) १२ हजार ४७५ दर्शनार्थी तथा भक्तजनले हलेँसी मन्दिर दर्शन गरेको हलेँसी सूचना केन्द्रका प्रमुख रमेश राईले जानकारी दिए। ‘हलेँसी दर्शनमा आएका अधिकांश भारतीय नागरिक छन्। अधिकांशले आफ्नै सवारीसाधन प्रयोग गरेर आउने गरेका छन्,’ उनले भने । 

साउनभर लाग्ने मेलाको अवसरमा पैदल तथा सवारीसाधनमार्फत दर्शनार्थी तथा भक्तजन हलेँसी आउने गर्छन्। तराईबाट हलेँसीसम्म आउने र जाने सडक विस्तार भएपछि हलेँसीमा बोलबम मेला लाग्न थालेको हलेँसी विकास समितिका अध्यक्ष डिल्ली चाम्लिङले जानकारी दिएका छन्। 

बोलबम मेलामा सिराहा, सप्तरी, धनुषा, जनकपुरधाम, झापा, विराटनगर, इलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक तथा भुटान, चीनको तिब्बतलगायतबाट समेत दर्शनार्थी आउने गरेका छन्। मनोकांक्षा पूरा हुने विश्वासका साथ हलेँसी मन्दिरको प्रमुख गुफाभित्र अवस्थित शिवलिंगमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएका जल चढाउने गरिन्छ। 

पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे मनोकांक्षा पूरा हुने र सुख तथा शान्ति मिल्ने विश्वास छ । बोलबमको अवसरमा हलेँसीमा लागेको मेला भर्न तथा दर्शन गर्न आएका दर्शनार्थीका कारण अहिले यहाँका साना तथा ठुला होटेल भरिभराउ भएको हलेँसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए।  

मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मी, मन्दिर व्यवस्थापन समिति तथा स्थानीय क्लबमा आबद्ध पदाधिकारीलाई बिहानैदेखि खटाइएको हलेँसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताइन्। 

मेलाको अवसरमा यस क्षेत्रमा करोडौँको कारोबार हुने गरेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताएका छन्। त्रिधार्मिकस्थल हलेँसीमा पछिल्लो समय दर्शनार्थी तथा भक्तजनको बाल्लो भिड लाग्न थालेपछि आपराधिक घटना हुन नदिन सिसी क्यामेरासमेत जडान गरिएको छ।