
इजरायलका राजदूत श्मुलिक आरिी बासले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग भेट गरी इजरायलमा नेपाली कृषि विद्यार्थीहरूको इन्टर्नसिप कार्यक्रम पुनः सञ्चालन गर्ने विषयमा छलफल गरेका छन् । इजरायलले विगतदेखि वर्तमानसम्म नेपालप्रति विभिन्न चरणमा विविध क्षेत्रमा गरेको सहयोगको शिक्षामन्त्रीले प्रशंसा गरे ।
शिक्षामन्त्रीले इन्टर्नसिपसम्बन्धी विषय प्रस्तुत गर्न अनुरोध गरेपछि राजदूत बासले सन् २००१ देखि सञ्चालनमा रहेको परियोजनाबारे जानकारी दिए। सो कार्यक्रममार्फत चार हजारभन्दा बढी नेपाली कृषि विद्यार्थी इजरायलको कृषि अनुभव हासिल गर्न सफल भएका राजदूत बासले बताए। धेरैजसोले इजरायलबाट फर्केपछि नेपालको कृषि क्षेत्रमा उल्लेखनीय योगदानसमेत पुर्याएका उनको भनाइ छ।
तर, सन् २०२३ अक्टोबर ७ मा भएको हमास आतंकवादी हमलापछि विद्यार्थीलाई इजरायल जान रोक लगाइएको छ। यदि यो प्रक्रियागत ढिलाइ यथावत् रह्यो भने नेपालको कृषिलाई अगाडि बढाउन सक्ने लगभग एक हजार कृषि इन्टर्नहरूले अवसर गुमाउने बताए। राजदूत बासले शिक्षा मन्त्रालयसँग विश्वविद्यालयहरूमा विद्यार्थीहरूलाई समयमै दर्ता गर्ने र इजरायल जान दिनका लागि निर्देशन गरी सहयोग गरिदिन हुन आग्रह गरे।
यस सन्दर्भमा शिक्षा मन्त्रालयले इन्टर्नसिपमा जाने विद्यार्थीहरूको इजरायल फिर्तीमा कुनै अवरोध नरहेको स्पष्ट गरेको छ। शिक्षा मन्त्रालयले अभाव पूर्ति गर्न आगामी वर्षमा कोटा बढाउने प्रस्ताव पनि गरेको छ। इजरायली परराष्ट्र मन्त्रालयबाट प्राप्त जवाफ र इजरायलका लागि नेपाली राजदूतबाट सुरक्षा अवस्थाबारे दुई सकारात्मक रिपोर्टहरूअनुसार परराष्ट्र मन्त्रालयले इजरायलको सुरक्षा अवस्था सामान्य भइसकेकाले इजरायल जाने प्रक्रिया पूर्ववत् प्रक्रियाअनुसार निरन्तरता दिन पनि एक सूचना जारी गरिसकेको छ।
विद्यार्थी दर्ता प्रक्रिया द्रुत रूपमा अघि बढाउन, यसबारे विद्यार्थीहरूलाई जानकारी दिन र विश्वविद्यालयहरूसँग समन्वय गर्न सबै सम्बन्धित निकायहरूलाई आग्रह पनि गरिएको छ।