मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २ शुक्रबार
  • Friday, 18 July, 2025
मीनराज बसन्त काठमाडाैं
२o८२ श्रावण २ शुक्रबार o७:१५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पुँजी बजारमा उल्लास : एक वर्षमा २१ खर्ब २४ अर्बको सेयर कारोबार

अघिल्लो आव ०८०/८१ मा सात खर्ब ३४ अर्बको कारोबार भएकामा गत आवमा १८९.२३ प्रतिशतले कारोबार वृद्धि

Read Time : > 1 मिनेट
मीनराज बसन्त, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २ शुक्रबार o७:१५:oo
  • राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्‍याएकाले आगामी दिनमा बजार थप उचालिने लगानीकर्ताको विश्वास

गत आर्थिक वर्ष ०८०/८१ मा धितोपत्र बजारमा ऐतिहासिक कारोबार भएको छ । अघिल्लो आवमा जम्मा सात खर्ब ३४ अर्बभन्दा बढीको कारोबार भएकामा गत आवमा कारोबार रकम २१ खर्ब २४ अर्ब ९१ करोड पुगेको छ, जुन अघिल्लो आवको तुलनामा १८९.२३ प्रतिशतले बढेको हो । यसअघि आव ०७७/७८ मा सबैभन्दा धेरै १४ खर्ब ५४ अर्बभन्दा बढीको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार गत आवको अन्तिम दिन (असार मसान्त)सम्म बजार पुँजीकरण ३१.०५ प्रतिशतले बढेर ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ । ०८२ को असार मसान्तसम्म ३५ खर्ब ५३ अर्ब ६७ करोड बजार पुँजीकरण थियो । सूचीकृत कम्पनीको संख्या दुई सय ७२ पुग्यो।

गत आवमा धितोपत्र बजारमा सूचीकृत कम्पनीको संख्या दुई सय ७२ पुगेको छ । मर्जर तथा प्राप्तिका कारण तीन कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासनमार्फत चारवटा कम्पनी थपिएका छन् । साथै, प्रथम निष्कासनमार्फत तीन करोड ६५ लाख कित्ता सेयर, थप निष्कासनमार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको चार करोड ३२ लाख ५८ कित्ता सेयर, सामूहिक लगानी कोषको ३७ करोड ८१ लाख एकाइ र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।  

नयाँ आवलाई बजारको स्वागत 
नयाँ आर्थिक वर्ष ०८२/८३ को पहिलो दिन धितोपत्रमापक नेपाल स्टक एक्सेचज (नेप्से) ७५.८४ अंक अर्थात् अघिल्लो दिनको तुलनामा २.७१ प्रतिशतले बढेर परिसूचक २८७०.६३  विन्दुमा बन्द भएको छ । 

चालू आवको मौद्रिक नीति कार्यान्वयनमा आएसँगै बजारले लय समात्ने संकेत देखाएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. पौडेलले ल्याएको पहिलो मौद्रिक नीतिले सेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्‍याइनु, पहिलोपटक घर किन्न तीन करोडसम्मको कर्जा सुविधा तोकिनु, बैंकको ब्याजदर सस्तो हुनुजस्ता कारणले पनि बजारले गति लिन थालेको लगानीकर्ता बताउँछन् । 

बिहीबार तीन सय ११ कम्पनीको कारोबार भयो, जसमध्ये दुई सय ४० कम्पनीको मूल्य बढ्यो भने नौ कम्पनीको घटेको छ । सो दिन १६ अर्ब ३० करोड ८० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो । बुधबार भने १३ अर्ब ५७ करोड ९६ लाखभन्दा बढीको कारोबार भएको थियो । त्यसका साथै १३ वटै समूहको सूचकमा हरियाली छाएको छ । ‘अन्य’ समूह सर्वाधिक ५ प्रतिशतले बढ्दा जलविद्युत्, लगानी र जीवन बिमा तीन प्रतिशतभन्दा बढीले बढेका छन् । 

त्यस्तै, कारोबारमा आएका कम्पनीमध्ये ट्रेड टावरको मूल्यमा सर्किट लागेको छ । त्यस्तै, शुभम पावर, थ्रीस्टार हाइड्रोपावरको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने इस्टर्न हाइड्रोपावर, बाराही हाइड्रोपावर र नेपाल रिइन्स्योरेन्सलगायतको सेयर मूल्य सर्वाधिक बढेको छ । यता, म्युचुअल फन्डका लगानीकर्ताले घाटा व्यहोरेका छन् । जसमा एनआइबिएल स्टेबल फन्ड, एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड, रिलायबल समृद्धि योजना, मुक्तिनाथ म्युचुअल फन्ड–१ लगायत छन् ।