मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
Invalid date format १८:oo:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

गाउँमै कृषि तथा पशु सेवा केन्द्र स्थापना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:oo:oo

किसानको घरदैलोमै पुगेर सेवा दिने उद्देश्यले अछामको मंगलसेन नगरपालिकाले गाउँमै सामुदायिक कृषि तथा पशु सेवा केन्द्र स्थापना गरेको छ। वडा नम्बर ८, ९, १० र ११ लाई लक्षित गरेर केन्द्रहरू स्थापना गरिएको हो।

नगरप्रमुख पदमबहादुर बोहरा र उपप्रमुख संगीता रावल (सोडारी)ले बिहीबार कुस्काटिया र लुगाडा गाउँमा स्थापना गरिएका कृषि तथा पशु सेवा केन्द्रहरूको उद्घाटन गरेका हुन्। अब किसानलाई बिउ लिन तथा बालीनालीमा लाग्ने रोग किराको उपचारका लागि घण्टौँ यात्रा गरेर मंगलसेन पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ।

केन्द्रमार्फत किसानका लागि बिउ वितरण, अन्नबालीमा लाग्ने रोगको निदान तथा पशुतर्फ नश्ल सुधार, कृत्रिम गर्भाधान, खोप तथा अन्य पशु उपचार सेवा दिइने मंगलसेनका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताए। उनका अनुसार सेवा केन्द्रले कृषि तथा पशुपालक किसानका  लागि विशेष परामर्शसमेत दिनेछ।

गाउँमा सेवा केन्द्र नहुँदा यसअघि किसान र कर्मचारी दुवैले सास्ती भोग्नुपरेको पशु विकास शाखा प्रमुख डा. बालकुमार शर्माले बताए। पशु तथा कृषिको समस्या लिएर किसान सदरमुकाम आउनुपर्ने र कर्मचारीसमेत नगरपालिकाबाट गाउँ पुग्नुपर्ने बाध्यताले यसअघि समस्या थियो। गाउँमै कर्मचारी बस्ने भएपछि अब भने दुवैलाई सहज हुने उनको भनाइ छ।

सेवा केन्द्रको उद्घाटनका  लागि कुस्काटिया र लुगाडा पुगेका नगरप्रमुख बोहरालाई वडा नम्बर १० का निवर्तमान वडाध्यक्ष नेत्रबहादुर रावलले सेवा केन्द्र स्थापनासँगै कर्मचारी नियमित गराउन र औषधिको समेत अभाव हुन नदिन आग्रह गरेका छन्। त्यस्तै, वडा नम्बर ८ का वडाध्यक्ष ज्ञानेन्द्रबहादुर बोहरा, निवर्तमान वडाध्यक्ष हिरण्य बोहरा, वडा नम्बर १० का वडाध्यक्ष जनकबहादुर कुँवर, वडा नम्बर ११ का वडाध्यक्ष नरबहादुर भण्डारी, समाजसेवी पुष्पबहादुर बोहरालगायतले सेवा नियमित गराउनेबारे आफूहरू निरन्तर सहयोग गर्ने र नगरपालिकाले आवश्यक जनशक्ति र औषधिलगायतका अन्य सामग्री उपलब्ध गराइदिनुपर्ने माग गरे।

नगरप्रमुख बोहराले वास्तविक किसानका लागि जुनसुकै सहयोग गर्न पनि नगरपालिका तयार रहेको बताए। गाउँमै सेवा केन्द्र स्थापना भएपछि पशुपालन र बाँझो जमिनमा उब्जनी हुने विश्वासमा आफू रहेको उनले बताए। मंगलसेनले यसअघि अन्य वडाहरूलाई लक्षित गरेर अरू ठाउँमा पनि कृषि तथा पशु सेवा केन्द्रहरू स्थापना गरिसकेको छ।