
कञ्चनपुर सामुदायिक वनमा वृक्षरोपण सप्ताह सुरु भएको छ। जैविक विविधता संरक्षणका लागि सामुदायिक वन समन्वय समितिले वृक्षरोपण सप्ताह सुरु गरेको छ।सामुदायिक वन समन्वय समितिले १ साउनदेखि ७ गतेसम्मै एक साताव्यापी रूपमा वृक्षरोपण गर्न लागेको हो। आफ्नै नर्सरीमा फलफूललगायतका वनस्पतिजन्य बिरुवा उत्पादन गरेर सामुदायिक वनहरूमा वृक्षरोपण गरिरहेको छ।
सामुदायिक वन समन्वय समितिले बिहीबार शुक्लाफाँटा नगरपालिका– १ बन्साहको झिलिमिली सामुदायिक वनदेखि वक्षरोपण सुरु गरेको जनाएको छ । सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले विगतका वर्षहरू जस्तै यस वर्ष पनि सामुदायिक वनमार्फत वनसहित निजी जमिन, खोला, नदीनाला क्षेत्रमा वृक्षरोपण कार्यक्रम सुरु गरिएको बताए।
अध्यक्ष जोशीले तराई भूपरिधि कार्यक्रममार्फत पर्यावरण संरक्षण गर्दै जैविक विविधताका लागि वृक्षरोपण अभियान सञ्चालन गरिएको बताए । अध्यक्ष जोशीले सामुदायिक वन समन्वय समिति (सिएफसिसी)मा आबद्ध रहेका वनहरू, तिनका उपभोक्ता एवं अन्य नागरिकलाई निःशुल्क बिरुवा वितरण गरेर वृृक्षरोपण गर्न लगाएको बताए । अध्यक्ष जोशीका अनुसार फलफूल, आयुर्वेद, वनस्पतिजन्य प्रजातिका बिरुवा वृक्षरोपण गरिएको छ ।
अध्यक्ष जोशीले यस वर्ष शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका र लालझाडीका एक सयहाराहारी सामुदायिक वनमा झन्डै ५० हजार बिरुवा वृक्षरोपण गर्ने लक्ष्य रहेको बताए ।