मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १ बिहीबार
  • Thursday, 17 July, 2025
हावार्ड डब्लु फ्रेन्च
२o८२ श्रावण १ बिहीबार १o:o२:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

गाजाको मामिलामा पूर्वाग्रही छन् पश्चिमा सञ्चारमाध्यम

Read Time : > 4 मिनेट
हावार्ड डब्लु फ्रेन्च
नयाँ पत्रिका
२o८२ श्रावण १ बिहीबार १o:o२:oo
  • गाजामा जे भएको छ, त्यो ठुलो दुर्लभ मानवीय विपत्ति हो, जसको निरन्तर र स्पष्ट छानबिनको आवश्यकता छ

गत साता मैले सुनेको पहिलो समाचारमध्ये एक थियो, गाजामा इजरायलले अर्को रक्तपातपूर्ण हवाई आक्रमण गर्‍यो, दर्जनौँ प्यालेस्टिनीको मृत्यु । मैले यो समाचार बिबिसीको बिहानी सेवाको रिपोर्टमा सुनेँ । दिन सुरु भएपछि थप विवरण खोज्न एउटा नोट नै बनाएँ । त्यसपछि एकपटक जुरुक्क उठेँ । मैले प्रमुख अमेरिकी अखबार र ब्रिटिस प्रेसबाट केही समाचार पढ्नुअघि अन्य दिनमा झैँ नेसनल पब्लिक रेडियो सुनेँ । 

बिबिसीबाहेक कुनै पनि माध्यममा मृत्यु हुने प्यालेस्टिनीको संख्या खासै उल्लेख गरिएको थिएन । बिबिसी रेडियोले गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अक्टोबर ७, २०२३ मा हमासको घातक हमलापछि इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या ५७ हजारभन्दा बढी पुगेको उल्लेख गरेर प्रसारणको नेतृत्व गर्‍यो ।

उक्त दिन मैले पढेका गाजासम्बन्धी लगभग सबै अमेरिकी समाचार विवरण यसै साताको सुरुमा कतारमा हुने इजरायल–हमासबिचको अप्रत्यक्ष कूटनीतिको नयाँ चरणको सम्भावनामा केन्द्रित थिए ।

एक पत्रकार र पत्रकारिताको प्राध्यापकको हैसियतमा म केही समयदेखि पश्चिमी प्रेसको असंगत र प्राय: तुच्छ ध्यानप्रति चिन्तित छु, जुन इजरायलले गाजामा गरेको आश्चर्यजनक विनाशमा केन्द्रित छ । यो मुख्यतया ज्यान गुमाउने कुरा हो । तर, यसमा प्यालेस्टिनी समुदायको भौतिक विनाश, व्यापक भोकमरी र रोग पनि समावेश छ । 

आजको व्यस्त र अराजक संसारमा जानकारीमा रहन चाहने व्यक्तिको ध्यानको मागले लगभग सबैको क्षमतालाई उछिनेको छ । यद्यपि, गाजामा जे भएको छ, त्यो ठुलो गम्भीरता मात्र होइन, बरु दुर्लभ मानवीय र नैतिक विपत्ति हो, जसको निरन्तर र स्पष्ट छानबिनको आवश्यकता पर्छ ।

यस संकटको गम्भीरता गाजामा इजरायलको अभियानको सुरुवातदेखि नै स्पष्ट छ । यसको प्रारम्भिक चरणमा इजरायली सेनाले अस्पतालमा आक्रमण गर्‍यो, जसलाई धेरै विश्लेषकले जेनेभा महासन्धिको स्पष्ट उल्लंघनको रूपमा लिएका थिए । एकपछि अर्को आक्रमणले गाजाका अस्पताललाई ध्वस्त पारे । ती अस्पताललाई हमास लडाकुलाई कथित आश्रय दिन प्रयोग गरिएको इजरायली दाबी छ । आक्रमणका कारण बिरामी र घाइतेको उपचार गर्ने क्षमतामा ह्रास आएको छ । 

त्यसपछि इजरायलीले प्यालेस्टिनीलाई जबर्जस्ती स्थानान्तरण गर्ने अभियान चलाए, सहरहरू खाली गरे र हतास बासिन्दालाई गाजाको एक भागबाट अर्को भागमा र फेरि पुन: पहिलेको स्थानमा फर्काए । यसैबिच अन्तर्राष्ट्रिय राहत समूह र मानव अधिकार संगठनले गाजामा खाना र अन्य मानवीय आपूर्तिको प्रवाहमा बाधा पुर्‍याएकोमा इजरायलीको आलोचना गरे । तर, इजरायली अधिकारीले हमासलाई हतियार तस्करी हुनबाट रोक्न कडा निरीक्षण आवश्यक भएको भन्दै आफ्नो देशको सरकारले चालेको कदमको बचाउ गरे । मानवीय एजेन्सीहरूले भोकमरीको संकटको चेतावनी दिँदा इजरायलले गाजामा खाद्यान्न आपूर्तिमा कुनै पनि कमी नआएको दाबी गर्दै राष्ट्र संघअन्तर्गतका समूह र अन्य राहत संस्था दोषी रहेको र सम्भवत: हमाससँग मिलेर काम गरिरहेको संकेत गर्‍यो ।

संकटको हालैको चरणमा इजरायलले यस वर्ष गाजामा लगभग सबै मानवीय आपूर्ति काटिदियो, जसले गर्दा यो क्षेत्र लगभग पूर्ण नाकाबन्दीमा पर्‍यो । दुई महिनाभन्दा बढी समयपछि इजरायलले सहायता पुन: सुरु गर्न अनुमति दियो । तर, यस्तो अनुमति केबल निजी सुरक्षा ठेकेदारसँग काम गर्ने इजरायली र अमेरिकाले अनुमोदन गरेको गाजा मानवीय फाउन्डेसनमार्फत दिइयो, जुन राहत वितरणका लागि खासै भरपर्दो मानिँदैन । 

संयुक्त राष्ट्र संघ, विभिन्न अनुभवी राहत संस्था र मानव अधिकार समूहहरूले यो निर्णयको आलोचना गरे । त्यसपछिको घटना अझ भयावह छ । हालैका सातामा चिन्ताजनक रूपमा यी सहायता वितरण केन्द्रमा पुग्ने वा लाइनमा उभिने क्रममा भोकमरीको सामना गरिरहेका प्यालेस्टिनीलाई बारम्बार गोली हानेर मारिएको छ । गत हप्तासम्म यस्ता राहत स्थलमा भएका हिंसाबाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको र हजारौँ घाइते भएका थिए ।

इजरायली सेनाले गाजामा अन्य गैरसैन्य निसानामा भएका अर्थहीन आक्रमणमा प्यालेस्टिनीलाई मारेको छ, जसमा गत हप्ता कफी पसलमा भएको हमला पनि समावेश छ । उक्त हमलामा कम्तीमा ३० जनाको मृत्यु भयो । यो अवस्था सामान्य कुरा होइन । जुनको अन्त्यतिर कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रमा मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघका विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बानिजले गाजामा भएका अत्याचारको कठोर शब्दमा निन्दा गरे । 

हो, गाजामा अहिले भएका हिंसाको प्रकोपको पछाडि अनैतिकता पनि स्पष्ट छ । हमासले इजरायलमा एक हिंस्रक हमला सुरु गरेर यो संकटलाई उक्सायो । उक्त आक्रमणमा करिब एक हजार दुई सयजनाको मृत्यु भयो, जसमा दर्जनौँ बालबालिका पनि थिए । त्यस्तै, थप २५१ जनालाई बन्धक बनाइएको थियो, जसमध्ये धेरैको मृत्यु भइसकेको छ । यद्यपि, यस त्रासदीपछि जे भयो, त्यो अझ स्पष्ट रूपमा इजरायलले गाजाको सम्पूर्ण जनसंख्यालाई हमासको अपराधका लागि सामूहिक रूपमा दोषी ठहर्‍याउने वास्तविक अभियानजस्तै भएको छ ।

२०औँ शताब्दीले दुई विश्वयुद्ध र ठुलो मात्रामा रक्तपातका अनगिन्ती उदाहरणसहित ठुलो त्रास देख्यो । यद्यपि, त्यस समयमा मानव सभ्यता पनि अगाडि बढेको देखिन्थ्यो । 

गाजाको संकट चर्चा गरिरहँदा विश्वका अन्य स्थानका युद्धको प्रसंग पनि आउँछ । युक्रेनमा रुसी युद्ध, सहर र नागरिक जनसंख्यालाई बारम्बार लक्षित गर्नु, युद्धमा राष्ट्रहरूलाई न्यूनतम मापदण्डका लागि जिम्मेवार बनाउनु विश्वको असफलताको अर्को उदाहरण हो । दैनिक बर्बरताका अन्य उदाहरण प्रशस्त छन्, जस्तै– सुडानमा चलिरहेको गृहयुद्ध, जहाँ प्रतिद्वन्द्वी पक्षले नागरिकमाथि असंख्य अत्याचार गरेका छन् । 

मध्यपूर्वमा सुरक्षा कायम गर्न देशको अभियान (जसमा हालै इरानसँगको युद्ध पनि समावेश छ) दशकौँदेखि पश्चिमी समाचार कभरेजको मुख्य विषय बनेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको ह्वाइट हाउस भ्रमणको व्यापक कभरेजले प्रमाणित गरेझैँ संयुक्त राज्य अमेरिकासँग यसको सम्बन्ध पनि त्यस्तै छ । इजरायलको घरेलु राजनीतिले पनि अमेरिकी मिडियामा कभरेज पाउँछ ।

यद्यपि, गाजा मलाई त्यस्तो ठाउँजस्तो लाग्छ, जहाँ प्रेसले प्राय: आफ्नो आँखा चिम्लिन्छ वा भइरहेको मानवीय विपत्तिलाई कम महत्व दिन्छ । इजरायलले २१ महिनाको संकटमा अन्तर्राष्ट्रिय पत्रकारहरूलाई गाजामा पहुँच दिन सावधानी अपनाएको छ, ताकि त्यहाँ भएको विनाशको कभरेज सीमित होस् र घटनाहरूको स्वतन्त्र विवरण रोक्न सकियोस् । यो कुनै क्षम्य विषय होइन्, तथापि पश्चिमी मिडियाले यो मानवीय विपत्तिलाई कम महत्व दिएका छन् ।

यसैबिच, इजरायली सरकारले आफ्नो अभियानलाई जारी राखेको छ । गाजा संकटको सुरुमा अमेरिकी अधिकारी र नीति–निर्माता (इजरायलका समर्थकसहित)ले नेतन्याहुले आफ्नो राजनीतिक करियरलाई बलियो बनाउन गाजामा द्वन्द्वलाई निरन्तरता दिइरहेका थिए भन्ने सुझाव दिएका थिए र युद्धको अन्त्यका लागि योजना नभएकोमा उनको आलोचना गरेका थिए ।

यद्यपि, ट्रम्प प्रशासनअन्तर्गत यस्ता आपत्तिका आवाज मधुरो बनेका छन् । त्यसको स्थानमा प्यालेस्टिनीविनाको गाजालाई आह्वान गर्ने आवाज अगाडि आएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प आफैँले यस क्षेत्रलाई आकर्षक समुद्र किनारको घरजग्गामा परिणत गर्नेबारे बोलेका छन् । एक प्रमुख परामर्श समूहले गाजाबाट स्थानान्तरण गर्न प्यालेस्टिनीलाई प्रतिव्यक्ति नौ हजार डलर तिर्न सक्ने सम्भावनाबारे अध्ययन गरेको गतसाता फाइनान्सियल टाइम्सले रिपोर्ट गरेको थियो ।

यसैबिच पश्चिम किनारमा हालैका हप्तामा प्यालेस्टिनी गाउँमा यहुदी बसोवास गर्नेमाथि आक्रमण बढेको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले मे महिनामा प्यालेस्टिनी राज्यलाई मान्यता दिनु ‘नैतिक कर्तव्य’ हो भनेपछि इजरायली रक्षामन्त्री इजरायल काट्जले भने, ‘तिनीहरूले कागजमा प्यालेस्टिनी राज्यलाई मान्यता दिनेछन् र हामी स्थलबाट यहुदी–इजरायली राज्य निर्माण गर्नेछौँ । त्यो कागज इतिहासको रद्दीको टोकरीमा फ्याँकिनेछ, र इजरायल राज्य समृद्ध हुनेछ ।’

यस्ता शब्दका पछाडि अपराध र भ्रम दुवै लुकेका छन् । गाजा र वेस्ट बैंकको जमिनबाट प्यालेस्टिनीलाई हिंसात्मक रूपमा हटाउनु गैरकानुनी हो । यस आधारमा इजरायलले सुरक्षित र स्वस्थ भविष्य निर्माण गर्न सक्छ भन्ने सोच्नु एक भयानक कल्पना हो । इजरायललाई मद्दत गर्ने उत्तम तरिका भनेको प्यालेस्टिनीलाई मद्दत गर्ने तरिका पनि हो । र, त्यो भनेको मानव अधिकारलाई प्रवर्द्धन गर्ने र मानवजीवन र मर्यादाको अपमानको निन्दा गर्ने मापदण्डमा राख्नु हो ।

फरेन पोलिसीबाट