मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
Invalid date format o७:११:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गण्डकीका मुख्यमन्त्री पाण्डे साउन पहिलो साता तिब्बत जाँदै 

कैलाशयात्रीका लागि तत्काल मुस्ताङको कोरला नाका खोल्न प्रस्ताव गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:११:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधिमण्डल चीनको स्वशासित क्षेत्र तिब्बतको औपचारिक भ्रमणमा जाने भएको छ । ६ देखि १२ साउनसम्म हुने उक्त भ्रमणमा मुख्यमन्त्री पाण्डेले तिब्बत सरकारका उच्च अधिकारीसँग भेटवार्ता, कैलाश मानसरोवरको दर्शन र लिन्जी सहरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । पोखरा महानगरपालिका र लिन्जी सहरबिच भगिनी सम्बन्ध छ । 

पाण्डेले तिब्बत सरकारका अधिकारीसँग मुस्ताङको कोरला नाकालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा सञ्चालन गर्न र नेपाली तथा विदेशी कैलाश मानसरोवर यात्रीलाई तीर्थयात्रामा जान सहजीकरण गर्न प्रस्ताव गर्ने भएका छन् । मुख्यमन्त्री पाण्डे र तिब्बत सरकारका अधिकारीबिच ७ साउनमा ल्हासामा भेटवार्ता तय भएको छ ।

पाण्डेको भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । ‘नेपाल र चीनबिच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षका अवसरमा आयोजित कार्यक्रममा सहभागिताका लागि प्रतिनिधिमण्डलको नेतृत्व गरेर तिब्बत जाँदै छु,’ मुख्यमन्त्री पाण्डेले भने, ‘ल्हासामा तिब्बत सरकारका उच्च अधिकारीहरूसँगको भेटमा कोरला नाका सुचारु गर्न प्रस्ताव गर्नेछु । यसबारे कुराकानी गर्न संघीय सरकारसँग पनि सहमति लिएको छु ।’ 

मुख्यमन्त्री पाण्डेले केरुङ नाका बाढीका कारण बन्द भएको र तातोपानी नाकाको सडक पनि वर्षामा सहज नभएकाले मुस्ताङको कोरला नाका कैलाशयात्रीका लागि सबैभन्दा उपयुक्त हुने बताए । ‘बाढीका कारण पुल र बाटो ध्वस्त हुँदा रसुवागढी–केरुङ नाका बन्द छ । कैलाशयात्रीहरूलाई अप्ठ्यारो परेको छ । त्यसकारण दुवै देशले केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणा गर्नुपर्ने, त्यहाँबाट नेपाली र विदेशी नागरिकलाई कैलाश मानसरोवर जान चीन सरकारले सहजीकरण गर्नुपर्ने प्रस्ताव गर्दै छु,’ पाण्डेले भने । उनले कोरोला नाकाबाट कैलाश मानसरोवर यात्राको दूरी छोटो भएकाले सहज हुने बताए । कोरला नाका गण्डकी प्रदेशअन्तर्गतको मुस्ताङ जिल्लामा छ । 

प्रधानमन्त्री केपी ओलीसँग सोमबार मुस्ताङका जनप्रतिनिधिले भेटका क्रममा कोरला नाका खुलाउने प्रयास गर्न अनुरोध गरेका थिए । प्रधानमन्त्री ओलीले पनि यसका लागि चीन सरकारसँग प्रस्ताव गर्ने जवाफ दिएका थिए । 

भ्रमण दलमा १३ सदस्य
भ्रमण दलमा गण्डकी सरकारका तर्फबाट मुख्यमन्त्री पाण्डेसहित पाँचजना सहभागी हुनेछन् । यस्तै, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य नेतृत्वको टोली र नेपाल–चीन पिपुल्स फ्रेन्डसिप एसोसिएसनको टोली गरी थप आठजना पनि सहभागी हुनेछन् । पोखराबाट ६ साउनमा तिब्बतको ल्हासा उडानमा जाने र १२ साउनमा ल्हासाबाट पोखरा फर्किने कार्यक्रम रहेको मुख्यमन्त्री पाण्डेले बताए । 

ल्हासाबाट मुख्यमन्त्री पाण्डेको टोलीलाई तिब्बत सरकारले तिब्बत एयरलाइन्सको उडानमा आली विमानस्थलसम्म लैजाने र त्यहाँबाट गाडीमा कैलाश मानसरोवरको यात्रा गराउने कार्यक्रम छ । ल्हासामा हुने औपचारिक भेटवार्तामा नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलालगायत अधिकारी पनि सहभागी हुने कार्यक्रम छ ।