
बागलुङको दक्षिण कुस्मिसेरा जोड्ने सडकअन्तर्गत जुम्लीखोलामा सडक निर्माणको २२ वर्षपछि मोटरेबल पुल निर्माण भइरहेको छ। २०५६ सालदेखि निर्माण सुरु भएको सडकमा २०६५ सालदेखि यातायात सञ्चालनमा आए पनि जैमिनी नगरपालिका–१ मा पर्ने जुम्लीखोलामा पुल निर्माण हुनसकेको थिएन।
जुम्ली खोलामा पक्की पुल नहुँदा हरेक बर्खायाममा यातायात ठप्प हुन्थे। खोलामा निर्माण भएको सडक हरेक वर्ष बगाउने हुँदा पैदलयात्रीलाई समेत कठिन हुने गरेको थियो। सडक खुलेको २२ वर्षपछि यहाँ पुल निर्माण सुरु भएको हो। स्थानी पूर्वाधार विकास आयोजना कार्यालय पोखराले २०८१ असार २३ गते पुल निर्माणका लागि बिमए-जयकालीका भगवती जेभीलाई जिम्मेवारी दिएको थियो।
२०८२ पुस १५ गते निर्माण सक्ने गरी सम्झौता भएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर जनकराज पन्तले बताए। पन्तका अनुसार एक करोड ९४ लाख ५१ हजार ९६४ लागतमा पुल निर्माण गर्न थालिएको हो। हालसम्म ८० प्रतिशत भौतिक प्रगति भैसकेको पुलका अधिकांश काम सकिएका छन्। जुम्लीखोलामा १५.८० मिटर लामो र ८.४० मिटर चौडा पुल बन्नेछ।
निर्माण कम्पनीले पुलको असजिलो काम सकेको र सामान्य काम मात्रै बाँकी रहेकाले सम्झौता मितिअगावै काम सम्पन्न हुने पन्तले बताए। जुम्लीखोला पुल बनेपछि जैमिनीसहित दक्षिण बागलुङ र गुल्मीका हजारौँ नागरिकले सहज रूपमा यात्रा गर्न पाउनेछन्। पुल निर्माणले जैमिनी नगरपालिका र दक्षिण बागलुङको विकासमा महत्त्वपूर्ण योगदान गर्ने जैमिनीका उपप्रमुख हरिहर शर्माले बताए।
एसियाली विकास बैंकको सहयोगमा २०५६ सालमा निर्माण सुरु भएको दुई जिल्ला जोड्ने प्रमुख सडक भए पनि यो सडकका केही जोखिमपूर्ण खोलाहरूमा पक्की पुल बन्न सकेका थिएनन्। यही सडकअन्तर्गत यसै वर्ष जैमिनी नगरपालिका–९ र १० को सिमानामा पर्ने ठेउलेखोलाको रुम्टामा पनि पक्की पुल निर्माण भएको छ। पुल निर्माणपछि स्थानीय उत्पादनको बजारीकरणमा थप टेवा पुग्ने विश्वास गरिएको उपप्रमुख शर्माको भनाइ छ।
‘पुल बनाउँदा महत्त्वपूर्ण कुरा मुख्य स्ट्रक्चरको हो, यो पलमा मुख्य स्ट्रक्चर बनिसकेको छ,’ पन्तले भने, ‘निकै मेहनतपछि जुम्लीखोलाको पुल तयार भएको छ। सायद छिट्टै नै यसलाई सञ्चालनमा ल्याउनेछौँ।’ सम्झौताअनुसारको मिति भन्दाअगावै पुल निर्माणको काम सकिएको पन्तले बताए। पुलको वारिपारि सडकतर्फको केही काम भने बाँकी रहेको र वर्षाका कारण कालोपत्रेको काम सकिन केही समय लाग्ने निर्माण व्यवसायी बताउँछन्।