मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नागरिकसँग मेयर कार्यक्रमअन्र्तरगत घरमै गएर स्वास्थ्य सेवा उपलब्ध गराइदै ।
मोहन विष्ट कञ्चनपुर
२o८२ असार ३० सोमबार १८:५८:oo
Read Time : > 1 मिनेट
समाचार

कृष्णपुरले दियो एक वर्षमा साढे ३२ हजारलाई घरमै पुगेर स्वास्थ्य सेवा

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ असार ३० सोमबार १८:५८:oo

कञ्चनपुरको कष्णपुर नगरपालिकाले सञ्चालन गरेको नागरिकसँग मेयर कार्यक्रम प्रभावकारी बन्दै गएको छ । मेयर हेमराज ओझा नेतृत्वले सञ्चालन गर्दै आएको कार्यक्रममार्फत स्थानीयवासीले घरआँगनमै स्वास्थ्य सेवा मात्रै पाएका छैनन्। स्थानीय सरकारको वास्तविक स्वरूपसमेत प्रस्तुत गरिरहेका छन्। 

निर्वाचनका वेला घरघरमा आएर मत मागेजस्तै मेयर ओझा नेतृत्वले घरघरमै पुगेर स्वास्थ्यकर्मीको टोलीसहितले उपचार सेवा दिइरहेको स्थानीयवासीले बताएका छन्। कृष्णपुर नगरपालिका–४ पवित्रा बस्तीकी करनी चौधरीले स्थानीय नगरपालिकाबाट स्वास्थ्यकर्मी घरमै पुगेर स्वास्थ्य चेकजाँच गराउँदै आएको बताइन्। ‘घरमै स्वास्थ्यकर्मी पुगेर चेकजाँच गरेको मेरो यो पहिलोपटक हो,’ उनले भनिन्, ‘यसअघि थिएन, यसरी नै जनताका लागि अन्य तहका सरकारले सेवा सुविधा ल्याइदिए हुन्थ्यो।’ 

कृष्णपुर नगरपालिका–५ ,गुलरियाका नन्दराज भट्टले पालिकाबाट स्वास्थ्यकर्मी आएर चेकजाँच एवं परामर्श दिएपछि खुसी लागेको बताए । ‘हामी बिरामी भएपछि अस्पताल  जाँदा सकसका बिच उपचार गर्नुपर्ने बाध्यता आउँछ,’ उनले भने, ‘स्वास्थ्यकर्मी घरमै आएर उपचार गरिरहेका छन्, यो राम्रो पक्ष हो, यसरी नै नागरिकले उपचार पाए हामीलाई फाइदा हुन्थ्यो।’ 

कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा  प्रमुख रतनसिंह विष्टले विगतका वर्षहरूजस्तै यस वर्ष पनि स्वास्थ्यकर्मीका टोली बनाएर घरघरमा उपचारमा खटिएको बताए । उनका अनुसार १२ स्वास्थ्यकर्मीको टोलीले १ देखि ९ वटै वडा घरघरमा  पुगेर चेकजाँच परामर्श  गरिएको बताए । मधुमेह, ब्लडप्रेसर, पिसाब चेकजाँच गरेर रोग पत्ता लगाउँदै आएको उनले बताए । ‘घरमै पुग्दा नागरिकको स्वास्थ्य चेकजाँच गरेर कुनै रोग देखिए त्यही निदान गर्ने निःशुल्क औषधि वितरण गर्ने, परामर्श दिने जटिल देखिए कृष्णपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेका छौँ,’ उनले भने, ‘गम्भीर भए थप उपचारका  लागि एम्बुलेन्स सेवा पनि निःशुल्क उपलब्ध गराएका थियौँ ।’ शिशु, गर्भवर्ती, सुत्केरी महिला, युवादेखि जेष्ठ नागरिकलाई उपचार गरिएको विष्टले बताए । अभियानका क्रममा १२ जनामा क्षयरोग र एक जनामा कुष्टरोग पहिचान भएको र उनीहरूको उपचारका लागि समेत पालिकाले प्रबन्ध मिलाएको बताए । 

नागरिकसँग मेयर कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष ०८१/०८२ मा साढे ३२ हजारभन्दा बढीले सेवा लिएका छन । १९ हजार ६ सय ९९ महिला र १२ हजार ९ सय ६ पुरुष गरेर ३२ हजार ६ सय ५ नागरिकले सेवा पाएका हुन् । 

नगरपालिका स्वास्थ्य शाखाको तथ्यांकअनुुसार पहिलो आर्थिक बर्ष ०७९/०८० मा १३ हजार र  दोस्रो आर्थिक बर्ष ०८०/०८१ मा १५ हजारलाई स्वास्थ्य सेवा दिएको थियो । चालुमा गत वर्षभन्दा दोब्बर साढे ३२ हजारभन्दा बढीलाई घरमै गएर सेवा प्रदान  गरिएको छ । 

कृष्णपुरका मेयर हेमराज ओझाले संविधान अनुरुप नागरिककोे स्वास्थ्य अधिकार उपलब्ध गराउन स्वास्थ्यकर्मी घर घरमा खटिएर उपचार गरेको बताए । ‘मेरो यो राजनीतिक चुनावी एजेण्डा पनि थियो,’ उनले भने, ‘हाम्रो नगरका लाखभन्दा बढी जनसंख्यामध्ये अधिकांस अझै पनि स्वास्थ्य सेवाको पहुँचमा छैनन, उनीहरूको स्वास्थ्यमा पहुँच पु¥याई घरमै आधारभूत नसर्ने रोगहरुको पहिचानका लागि समेत अभियान सञ्चालन गरेका हौँ ।’ नियमित औषधी सेवन गरिरहेका बिरामी, टुहरा, बेसाहरा एवं अशक्तहरूलाई समेत आवश्यक थप सेवा सुविधा दिएर भए पनि स्वास्थ्य सेवा प्रदान गरिरहेको मेयर ओझाले बताए । ‘यो कार्यक्रमबाट गाँउघरका नागरिकको औषधिमा हुने ठूलो धनराशी पनि बचेको छ,’ मेयर ओझाले भने, ‘घरमै उपचार पाएपछि बाहिरका अस्पताल गएर ठूलो धनराशी खर्च गर्नु परेन, त्यो रकम अन्य कामकाजका लागि खर्च गर्न सहज भएको छ ।’