
जुम्लामा पनि विद्युतीय सवारीसाधन (भ्यान) सञ्चालनमा आएका छन् । कुनै वेला विद्युत्ले हाहाकार खेपेको जुम्लामा अहिले विद्युतीय सवारीसाधन चल्न थालेका हुन् ।
विकासको सडक र बिजुलीको पहुँच बढ्दै गएपछि विद्युतीय सवारी सञ्चालनमा आउन थालेका हुन् । तिला कर्णाली यातायात प्रालि जुम्लाले असार २६ गतेदेखि सञ्चालनमा ल्याउने गरी १० वटा विद्युतीय भ्यान एकैसाथ जुम्लामा भित्र्याएको हो ।
कम्पनीका जुम्लाका अध्यक्ष पदमबहादुर भण्डारीले जुम्लामा चार करोड ५९ लाख ५० हजार लगानीमा ती विद्युतीय सवारी भित्र्याएको बताए । ‘जुम्लामा बढ्दो वायु प्रदूषण र नागरिकले सहजै सेवा नपाएको समस्यालाई ध्यान दिँदै पहिलो चरणमा १० वटा इभी ल्याएका हौँ,’ उनले भने । यी सवारी जुम्लाको छोटो दूरीमा नियमित सञ्चालन गरिनेछ । विगतको भन्दा भाडादर पनि न्यून हुने उनले बताए ।
जुम्लाको बसपार्क, नाग्म बजार र नाग्म–गमगडी सडकअन्तर्गत गोठीज्युला बजारमा चार्ज स्टेसन निर्माणको तयारी भइरहेको छ ।
थप १० वटा इभी जुम्ला भित्र्याउने तयारी कम्पनीले गरेको छ । यहाँ करिब एक मेगावाट क्षमताको चुकेनी जलविद्युत् आयोजना सञ्चालनमा छ । ०७८ सालबाट ११ केभिएको राष्ट्रिय प्रसारणलाइन जुम्लामा पुगेको छ ।