मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format o८:५o:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सल्यानबाट चार करोडभन्दा बढीको सल्लाको खोटो निकासी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५o:oo

सल्यानबाट चालू आर्थिक वर्ष ०८१/८२ मा चार करोडभन्दा बढीको सल्लाको खोटो निकासी भएको छ । जिल्लाका विभिन्न सामुदायिक र कबुलियती वनबाट चार करोड २२ लाख १९ हजार चार सय ४० रुपैयाँको खोटो निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । 

कार्यालयका अनुसार चालू आवमा ३५ लाख १८ हजार दुई सय ८७ किलो खोटो निकासी भएको छ । जसबाट विभिन्न सामुदायिक वनको खातामा चार करोड २२ लाख १९ हजार चार सय ४० रुपैयाँ जम्मा भएको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी ललितजङ खड्काले जानकारी दिए । ठुलो परिमाणका खोटो निकासी हुँदा मूल्य अभिवृद्धि कर ५४ लाख ८८ हजार पाँच सय २७ रुपैयाँ संकलन भएको छ । 

६ सय ३० वटा सामुदायिक र दुई सय तीन कबुलियती वन रहेको सल्यानमा अधिकांश वन समूहले सल्लाको खोटो बिक्री गर्छन् । ६४ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको सल्यानमा अधिकांश खोटे सल्लाको वन छ । उपभोक्तालाई ग्यास चुलो वितरणदेखि आय–आर्जनका काममा लगानी गर्दै आइरहेका छन्, जसले गर्दा खोटो उपभोक्ताको जीविकोपार्जनको माध्यम बनेको छ  । 

गत आर्थिक वर्ष ०८०/८१ मा २५ सय मेट्रिकटन खोटोबाट सामुदायिक वनको खातामा दुई करोड २६ लाख रुपैयाँ जम्मा भएको थियो । सामुदायिक वन समूहले आम्दानीको ५० प्रतिशत समुदायको जीविकोपार्जनमा र २५ प्रतिशत सामुदायिक काममा खर्च गर्नुपर्ने खड्काको भनाइ छ । सल्लाबाट निकालिने खोटो विभिन्न काममा प्रयोग हुने तार्पिन तेल र पेन्ट गर्ने रङ बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने गरेको छ ।

जिल्लामा सातवटा कम्पनीले वन समूहमार्फत खोटो संकलन गर्दै आएका छन् । वन कार्यालयका सूचना अधिकारी खड्काले खोटो संकलन निर्देशिकाअनुसार खोटो संकलन गरेमा सल्लाको खोटोबाट फाइदा हुने बताए । ‘खोटो संकलन गर्ने ज्यामी र वन उपभोक्ता समितिलाई तालिम दिने, ९५ सेन्टिमिटरभन्दा सानो रुखबाट खोटो ननिकाल्ने, बोक्रा ताछ्दा, घाउ लगाउँदा ख्याल गरिनुपर्छ,’ उनले भने, ‘जथाभावी खोटो संकलन गरेको खण्डमा रुख सुक्ने, आगलागी भएका वेलामा धेरै क्षति हुने सम्भावना बढी हुन्छ, त्यस्तो वेला खोटोबाट फाइदा मात्रै नभएर नोक्सानी पनि हुन्छ ।’