
पण्डित मदनमोहन मालवीयको व्यक्तित्व अत्यन्त प्रभावशाली थियो । उनको प्रभावशाली व्यक्तित्वका कारण उनी जहाँ पुग्थे, त्यहाँ लगभग चमत्कारै हुन्थ्यो । उनको व्यक्तित्व, विचार र बौद्धिकताका कारण उनका निकै प्रशंसक थिए । उनी जहाँ पुग्थे, त्यहाँ उनका नयाँ–नयाँ प्रशंसक पनि थपिन्थे । उनीहरूमध्ये कसैकसैले त उनलाई आफनो घरमा विभिन्न अवसर पारेर निमन्त्रणा पनि दिने गर्थे ।
एकपटक एकजना धनी मानिसले उनलाई आफनो घरमा छोराको विवाह समारोमा आयोजित विशाल भोजमा सम्मिलित हुन निमन्त्रणा दिए । निम्तो पाएपछि मालवीयले ती सेठलाई आभार प्रकट गरे तर उनले तत्कालै नम्रतापूर्वक उनको आग्रह अस्वीकार गरिदिए र भने, ‘यो तपाईंको अत्यन्त ठुलो कृपा हो, जसले मजस्तो एउटा मामुली मानिसलाई आफनो घरमा आयोजना गरिने भव्य भोजमा सम्मिलित हुने निमन्त्रणा दिनुभयो । यो मेरो जीवनकै ठुलो सौभाग्य हो । यसका लागि म तपाईंप्रति हार्दिक आभारी छु ।
तर, म यो भोजमा सम्मिलित हुन भने असमर्थ छु । जब मेरो यस देशका लाखौँ दाजुभाइ भोकै छन, उनीहरू एक छाक मात्र खाएर दिन गुजारिरहेका छन भने यस्तो वेलामा म विविध व्यञ्जनले परिपूर्ण ठुल्ठुला भोजमा कसरी सम्मिलित हुन सक्छु ? तपाईंको भोजमा तयार हुने स्वादिस्ट भोजन मेरो घाँटीबाट छिर्दैन ।’
मदनमोहन मालवीयको यो मर्मस्पर्शी वाक्यले महाजनमा निकै ठुलो प्रभाव पार्यो । उनले छोराको बिहेमा आयोजना हुने भोज रद्द गरे र सो भोजमा खर्च हुने सम्पूर्ण धन गरिबको कल्याणार्थ दान दिए ।