
एक वृद्ध आफ्नो गोरुगाडामा धानका केही बोरा चढाउने कोसिस गरिरहेका थिए । बोरा ठुलै थिए र टन्न धान भरिएका पनि थिए । त्यसैले, ती बोरा निकै भारी थिए । जसले गर्दा वृद्धलाई बोरा गाडामा चढाउन सकस भइरहेको थियो ।
त्यति नै वेला सोही बाटो हुँदै एक युवक कतै जाँदै थिए । उनी वृद्धको नजिक आए र भने– काका, तपाईं जसरी गाडामा बोरा चढाइरहनुभएको छ, त्यो गलत छ । मसँग एउटा निकै सजिलो तरिका छ । यो सुन्दा वृद्धलाई झनक्क रिस उठ्यो र भने– बाबु, तिमी आफ्नो काम गर न । म यसैगरी वर्षौंदेखि गाडामा बोरा चढाउँदै आएको छु । वृद्धको भनाइ सुनेपछि युवकले हाँस्दै प्रश्न गरे– भनेपछि तपाईंले यसअघि पनि गलत तरिका उपयोग गरिसक्नुभयो ?
युवकका कुरा सुनेपछि वृद्धले बोरा उठाउने काम रोके र थोरै झर्किंदै भने– तिमीजस्ता युवाको समस्या नै यही हो । थोरै लेखपढ गरेपछि आफूलाई सर्वज्ञ ठान्न थाल्छौ । हामीले यही काम वर्षौंदेखि गर्दै आएका छौँ । हामीलाई भइरहेको छ भने तिमी बेकारमा किन तनाव लिन्छौ हँ ?
वृद्धको कुरा सुनेपछि युवक पुनः मुस्कुराए र भने– तपाईंलाई तनाव दिन खोजेको होइन । मैले त तपाईंलाई फाइदा हुने कुरा गरेको थिएँ । ठिकै छ, तपाईंलाई मन परेन भने म गएँ । युवक त्यहाँबाट हिँडेपछि वृद्धले उनले रोक्दै भने– ठिकै छ, तिमी कुन तरिका बताइरहेका थियौ रे ?
युवक फर्केर उनको बोरा राखेको ठाउँमा आइपुगे र वृद्धलाई बोराको अर्को छेउमा जान इसारा गरे । युवकले भने– अब तपाईं उताबाट उठाउनुहोस्, म यताबाट उठाउँछु । दुवै मिलेर एकैछिनमा बाँकी बोरा सजिलै गाडामा चढाए । यो देख्दा वृद्ध मुस्कुराए । आज उनले एक अपरिचित युवकबाट मिलेर काम गर्नुको महत्व बुझेका थिए ।