
हेटौँडा उपमहानगरपालिकाले कृषि यान्त्रीकरण प्रवर्द्धन गर्दै कृषकहरूको उत्पादनशक्ति अभिवृद्धि र जीवनस्तरमा गुणात्मक सुधार ल्याउने उद्देश्यसहित आधुनिक कृषि यन्त्र तथा उपकरण वितरण गरेको छ ।
उपमहानगरपालिकाको आर्थिक वर्ष ०८१/८२ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गतबाट आधुनिक कृषि यन्त्र तथा उपकरण वितरण गरेको हो । ‘स्वच्छ, उत्पादनशील, समृद्ध सहरः हेटौँडा’ भन्ने नारासहित सोमबार सम्पन्न कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, आर्थिक विकास महाशाखा प्रमुख जग्गनाथ सापकोटा, कृषि विकास शाखा प्रमुख प्रदीप रेग्मीलगायत जनप्रतिनिधि, कर्मचारी तथा लाभग्राही कृषकहरूको उपस्थितिमा उपकरण वितरण भएको हो ।
कृषि विकास शाखाका अनुसार अनुदानमा वितरण गरिएको उपकरणमा १९ वटा हाते ट्याक्टर, ७१ वटा स्प्रे पम्प, ७९ वटा ज्याब प्लान्टर, एक थान कम्बाइन मिल, एक थान पानी तान्ने पम्प र ४१ वटा मकै छोडाउने मेसिन छन् ।
कार्यक्रममार्फत सहकारी संस्था, कृषि समूह र स्थानीय कृषकहरूलाई ५० प्रतिशत अनुदानमा उपकरण प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ ।