
नेपाली गीत–संगीत क्षेत्रमा परिचय दिइरहनुपर्ने नाम होइन, बुलु मुकारुङ । उनले पाँच सयभन्दा बढी गीतमा संगीत गरेका छन् । ०३५ सालमा रेडियो नेपालको स्वर परीक्षा दिएका उनले ०३८ बाट गीत रेकर्डिङ थाले । फत्तेमान राजभण्डारी, प्रेमध्वज प्रधान, कुन्ती मोक्तान, तारादेवीदेखि पछिल्लो पुस्ताले पनि उनको संगीतमा स्वर दिएका छन् । मुकारुङका ‘इलामे सहर चियाबारी राम्रो...’, ‘माया तिमीलाई के भन्न मन लाग्छ...’, ‘मिर्मिरेमा तिमीलाई...’ जस्ता चर्चित गीत छन् । संगीत सिर्जनाबाहेक मुकारुङ कला र संस्कृति अन्वेषणमा पनि उत्तिकै सक्रिय छन् । उनले नेपाली संगीतको अभिलेख नामक पुस्तक १५ वर्ष लगाएर प्रकाशित गरेका छन्, जहाँ ६ हजारभन्दा बढी सर्जकबारे जानकारी समेटिएको छ । यस्तै, उनको संगीत अनुशीलन र साइनो संस्कृतिलगायत कृति प्रकाशित छन् । मुकुरुङसँग नेपाली लोकबाजा, रैथाने भाकामा रहेर पवन बराइलीले गरेको कुराकानी :
नेपालमा जातीय र भाषिक विविधता जति धेरै छन्, त्यति नै छन् भाषा, संस्कृति पनि । भौगोलिक विविधताअनुसार जातीय विविधता छ । हरेक जातजातिका आ–आफ्नै भाषा, संस्कृति र रहनसहन छन्, आफ्नै भाषा, संस्कृति र रहनसन छन् । पर्यावरणीय रूपमा पनि यहाँ विधिता छ । भूगोलअनुसार गाइने भाका र बाजा फरक–फरक छन् ।
मानव जीवनसँग संस्कृति, भाका र बाजा जोडिएको हुन्छ । त्यसैले संस्कृति, बाजा र भाका जीवनसँग अनोन्याश्रित छ । बाजाका आ–आफ्नै मान्यता र विश्वास छन् । जसले कतिपय समुदायले बाजालाई आराधनाका लागि प्रयोग गरेका हुन्छन् । कतिपयले चाडपर्व र नाचगानमा प्रयोग गर्छन् । फरक समुदायका फरकफरक विशेषता छन् ।
लोपोन्मुख बाजाहरू
नेपालमा एक हजारभन्दा धेरै लोकबाजा रहेको अनुमान छ । त्यसमध्ये करिब पाँच सय मात्रै प्रयोगमा आएका देखिन्छन् । नेपालमा आममान्छेले मुरली, मादल, सारंगी, मुर्चुङ्गा, बिनायो, ढोल, पञ्चेबाजा (नरसिंह, सनाई, ढोलकी, दमाहा, कर्नाल) मात्रै प्रयोगमा ल्याएका छन् । पञ्चेबाजा त नेपालका सबैजसो ठाउँमा बजाइन्छ ।
नेपालमा लिम्बू, गुरुङ, राई, तामाङ, तोक्पेगोला, थारू, थदाम, दनुवार, धानुक, धिमाल, झाँगड, ताजपुरिया, भुजेल, मगर, माझी, राजवंशी, लाप्चा, वालुङ, शेर्पा, सतार, किसान, गन्गाईलगायत समुदायका विभिन्न मौलिक बाजा छन् । यी बाजामा उनीहरूको सांस्कृतिक पराम्परा र पहिचान जोडिएको छ ।
गुरुङ जातिका गण्डक क्षेत्रमा बजाइने बाजाहरू कोप्रे, तौँदु, छैंडु, घोरलसिंगी, धनुसारंगी (तीनतारे), खैँजडी, एकपाखे ङह, छेँले–झ्याम्टा, मादल आदि हुन् । आफ्ना चाड पर्व र संस्कृतिअनुसार उनीहरूले बाजाहरू प्रयोग गर्ने गर्छन् ।
मगर जातिका खैँजडी, मादल, झ्याली, अलंका, कुटकुटे, मचेटा, दुन्दी, च्याखुरेबाजा, केतुकीबाजा, छेलर, नङ्रा, पैजन, दरबङा, रिङ, बासुली आदि बाजा छन् । यो समुदायले पनि आफ्ना चाडपर्वमा बाजा प्रयोग गर्छन् । उनीहरूले नाचगान यस्ता बाजा प्रयोग गरेको पाइन्छ । तर, यीमध्ये केही बाजा लोपसमेत भइसकेका छन् ।
पूर्वी पहाडमा बसोवास गर्ने लिम्बू जातिका बाजा च्याब्रुङ, कोममिक्ला, फाक्वा, मुक्साङ, केसाङ, सिर्बाेङ, मेक्फामा, फामुक, फेन्जे, तुङ्गेवा, काँसेथाल जस्ता बाजा छन् । लिम्बू समुदायको प्रचलित बाजा च्याम्ब्र्रुङ नै हो । यो ढोल बजाएर नाच्ने हुनाले च्याबु्रङ नाच भन्ने गरिएको पाइन्छ ।
लाप्चा समुदायको चाप्राजाङ, पन्तोङ पलित, निब्रियो पलित, स्युतपलित, स्युतटोक्रो, टोङबोक, साच्सङ, पटेजस्ता बाजा छन् । धार्मिक अनुष्ठानमा सोङतोङदुर, ग्यालिङ, छदुङ, डमु, डमरु आदि बाजा प्रयोग गरेको पाइन्छ ।
नेपालको आदिवासी जनजातिभित्र पर्ने चेपाङ समुदायका आफ्नै बाजा छन् । चेपाङको रिङ भन्ने बाजा हुन्छ । जुन ढ्यांग्रो आकारको हुन्छ । यसको वनावट झन्डै डम्फुजस्तो देखिन्छ । गुरुङले एक पाखे ङ पनि भन्ने गरेको पाइन्छ । रोल्पामा एक पाखे ढ्यांग्रो पनि प्रयोगमा छ । झाँक्रीले पनि बाजाहरू बचाइरहेका छन् ।
पहाडी र केही तराई–मधेशका जिल्लामा बसोवास गर्ने राई जातिका बाजा यलम्बर, सिचिया, पुङ, लाङकाङ, सिलिमी, बिम्बिलिमा, सपोक्सा, माठुरी, बिनायो, मुर्चङ्गा, तुम्बा, बिल्लौरीलगायत बाजा हुन् । राई समुदायका केही बाजा पनि लोप भइसकेका छन् । राईको ‘बिम्बिली’ बाजा लोप भइसकेको छ । यो बाजा सप्रेको गहुँ र जौको नलबाट बनाइन्छ, मुखले फुकेर बजाइन्थ्यो । यो बाजा हिजोआज लोप नै भइसकेको छ । राई अचेल समुदायमै यो बाजा देख्न पनि पाइँदैन ।
तराईमा जातजाति नै पिच्छे बाजा
तराई क्षेत्रमा विभिन्न जातजातिका आफ्नै बाजा छन् । भाषा संस्कृतिअनुसार उनीहरूको बाजा र भाका पनि छन् । उनीहरूले ती बाजा धर्म, संस्कृति जोडेर बजाउने गर्छन् ।
झापाआसपास बसोवास गर्ने मेचे जातिका खाम, खोर्थाल, रामथाल, छिफुङ, वाखेल्ठोक, झुनझुनिया, बिनी, सेर्जा, भेलीजस्ता बजा छन् ।
थारू जातिका कारा, खँजडा, गोल्की, झुमरी मादल, टिम्की, ठेकारा, बसिया, ढ्वाल, बौसी, सखिया मादल, मजैरा, मन्दरा, मैनामुरली, मनार, डफा, डुगडुगी, घडा, रेउनी, झर्रा, नारा, तमौरा, पिपही, पिडरी पिल्हरू (माटोको), कस्टार, चट्कौलीजस्ता बाजा छन् ।
झापामै रहेको लोपोन्मुख किसान जातिको आफ्नै बाजा र भाषा छन् । यो समुदायमा ढाँक, ढोलकी, मादर, नगेरा, डाँफ्ला, बस्री, झाँइज, सहनाईजस्ता बाजा प्रयोगमा छन् । जसमध्ये केही बाजा लोपोन्मुख अवस्थामा छन् ।
गन्गाई जातिको मुख्य बसोवास मोरङ र झापामा छ । गन्गाईले राजवंशी भाषा बोल्छन् । उनीहरूका बाजा मृदङ, नगडा, ढोल, झाल, खोल, मुर्छल, झालर, रन्टी, घडीघन्टा, घन्टी हुन् । यो जातिका पनि कतिपय बाजा लोप भइसकेका छन् ।
झाँगड–उराव जातिका खेल, ढुल्की, डिगरी, झाँज, तिरियो, डिपडिया, मानर, मनरा, झाँगडढोल जस्ता बाजा छन् । ताजपुरिया र राजवंशी जातिका बाजा तथा भाषा–संस्कृति भने राजवंशी जातिसँग मिल्न आउँछ । यी दुवै जातिको बसोवास झापा जिल्लाआसपास छ । यी दुवै जातिका बाजा ढुलुक, ढुमरी, कर्ताल, घुगुमुगु, नथुर, खुट्खुटिया, काडा–तर्तरिया, ठुन्ठुनिया, सहाना, घुग्रा, खोल, मुरली, खनजडी–रामताल, कर्नेट, मेडिकस छन् ।
धानुक जातिको बसोवास विशेषगरी पश्चिम तराई–मधेशका जिल्लामा छ । यस जातिमा पाइने बाजा ढोल, झाइल, बोसली, पिपिही, डफा, मृदंग, खोजरी आदि छन् । जुन मैथिली बाजा संस्कृतिसँग मिल्दो छ ।
धिमाल जातिका उर्नी, तुन्जाई, ढोल, गुमाना, चाप्टा, बासुली, घाघुरुङ छन् । उर्नी, तुन्जाईजस्ता प्राचीन धिमाल बाजा संरक्षणको पर्खाइमा छन् । अर्काे, माझी जातिका बाजा ढोल, मादल, झ्याली, घण्टा, भाली, झुली आदि छन् । माझी बाजा तथा भाषा सम्पदा हराउने स्थितिमा पुगेको छ ।
धर्मसँग जोडिएका हिमाली क्षेत्रका बाजा
हिमाल क्षेत्रका शेर्पा, लामा संस्कृति तथा धार्मिक बाजाहरू छन् । उनीहरूको धर्मसँग जोडिएका बाजा पनि छन् । घरायसी नाचगानमा बजाइने टुङ्ना छ । टुङ्नाको स्वरूप पनि परिवर्तन भइरहेको छ । ५० वर्षअघिको टुङ्ना र अहिलेको टुङ्नाको स्वरूप फरक छ । शेर्पाहरूको डम्ज्याङ, याङजे, पिवाङ, बुक्स्याल, ग्यालिङ, साङडुङ, काङलिङ, च्योदर, तिङ, टिहलुकजस्ता बाजा छन् ।
तामाङ जातिमा डम्फु निकै प्रचलित छ । तामाङको डम्फुमा ३२ किला हालेको हुन्छ । अर्काे तीनमुखे डम्फु पनि हुन्छ । तामाङको डम्फुमा चरासमेत बनाइएको हुन्छ । तमाङहरूले डम्फु र चरालाई बिम्ब बनाएर प्रेम र आसक्तिसँग जोडेर गीत गाउने गर्छन् । तामाङ समुदायमा डम्फुबाहेक टुङ्ना, डोङमेन, ग्यालिङ, मुरली, डिल्बु, कलिङ, भाटेमादल, पुली, पिहुङ पनि प्रयोगमा छन् ।
थारू जातिले डम्फुलाई डफ भन्छन् । उनीहरूको डम्फुको आकार अलि ठुलो हुन्छ । साथै डम्फुमा किला हालेको हुँदैन । उनीहरूले मजुरका प्वाख र दुम्सीका काँडा राखेका हुन्छन् ।
मेचीपूर्वदेखि पश्चिम महाकालीसम्मका विभिन्न जातजातिका आ–आफ्नै मौलिक लोकबाजा छन् । तीमध्ये कतिपय लोप भइसके भने कतिपय लोपोन्मुख अवस्थामा छन् । राजवंशी समुदायमा तुर भन्ने बाजा चलनमा छ । यो एक खालको मादल हो । तर, मादलजसरी बज्दैन । थारू जातिको दाङतिर जाँदा सखिया ‘मादल’ हुन्छ । यसमा साथीसंगीसँग नाच्ने हुनाले सखिया मादल भनिन्छ । दाङ, सल्यानतिर झाम्रे नाचिन्छ । यो नाचमा मादल ठोकेर नाचिन्छ । तर, यी मादल पनि हराउने अवस्थामा छन् ।
जातीय विभेद खेप्न नसक्दा बज्न छाडे मौलिक बाजा
गन्गाई समुदायको ‘खोल’ बाजा लोपोन्मुख अवस्थामा छ । ‘उराउ’ जातिले खोललाई ‘डिग्री’ भनेर नामकरण गरेका छन् । यसको बनावट पञ्चेबाजामा प्रयोग हुने ‘दामाह’ जस्तो हुन्छ । यो बाजालाई सुदूरपश्चिमतिर ‘नगरा’ पनि भनिन्छ ।
सुदूरपश्चिममा ३६ नगरा बजाइने चलन छ । यसलाई हुड्के बाजा पनि भनिन्छ । हुड्के स्थानीय नाचसँग बजाइन्छ । विशेषगरी, विवाहमा नगरा बजाइने चलन छ । यो बाजालाई पार्की र वादी समुदायले समेत प्रयोग गर्छन् । हुड्के नाचमा बजाइने बाजा बिस्तारै लोप हुन थालेका छन् । सुदूरपश्चिममा पार्की र वादीमाथि अझै सामाजिक विभेद छ । सामाजिक विभेदकै कारण उनीहरूले परम्परागत बाजा बाजाउन छाडेका छन् । पञ्चेबाजामा पनि यस्तो अवस्था छ । यद्यपि, पञ्चेबाजा अन्य समुदायका मानिसले पनि बजाउन थालेकाले संरक्षण भइरहेको छ । नेपालका अधिकांश ठाउँमा बाजाहरू बजाउने दलित समुदाय नै छन् । उनीहरूले बाजालाई संरक्षण गर्दै पनि आइरहेका छन् । तर, सामाजिक विभेद भोग्न नसक्दा बाजा बजाउन छाड्दै गएका छन् ।
यस्तै, नयाँ पुस्तामा अध्ययन र सोचाइका कारण सोचमा समेत परिवर्तन आएको छ । परम्परागत पुराना बाजा बजाएर जीवन गुजारा नहुने देखेपछि धेरैले छाडेको पाइन्छ । साथै, नेपाली लोकबाजा समयअनुसार परिवर्तन हुन सकेनन् । यी बाजालाई संक्षरण पर्यावरण, भूगोल, सामाजिक तथा आर्थिक अवस्था बुझ्न जरुरी छ । समुदायको बाजालाई पुनर्जीवित गर्ने दायित्व नयाँ पुस्ताको हो । तर, नयाँ पुस्ताले नेपाली यस्ता बाजालाई खासै देखेका छैनन्, बुझेका छैनन् । जसले गर्दा पुराना बाजा, रैथाने गीत–संगीत, संस्कृति हराउँदै गइरहेका हुन् ।
भूगोलसँग बाजाको अस्तित्व
नेपाली बाजाको अस्तित्व भूगोलसँग जोडिएको छ । बाजाको अस्तित्व कसरी बच्छ भन्ने महत्वपूर्ण हुन्छ । भूगोलअनुसार बाजा बनाउने सामग्री फरक–फरक हुँदा हिमाल, तराई र पहाडका बाजाको बनावटसमेत फरक–फरक छन् ।
मान्छेहरू गाउँ छाडेर सहर पस्न थाले । गाउँहरू सुनसान हुन थाले । यसको प्रभाव खेतीपातीमा पर्यो । गहुँ, जौजस्ता खेती लगाउन छाडेपछि त्यसको डाँठ प्रयोग गरेर बनाइने बाजा लोप हुँदै गए ।
हिमाल क्षेत्रमा मालिंगोबाट बाँसुरी बनाइन्छ । गाउँमा मान्छे नभएपछि खर्कहरूमा गाईगोठ हटे । जसले मालिंगो संरक्षण नहुँदा हिमाल क्षेत्रका डम्फु, टुङ्नामा प्रयोग हुने छाला र काठ हराउँदै गए । अचेल त पुराना स्वरूपका डम्फु, टुङ्ना बन्नै छाडेका छन् । बाँसबाट बनाइने बाजाहरूसमेत बिस्तारै हराउँदै गएका छन् ।
राई समुदायको ‘यलम्बर’ बाजा साङ्बा टुन बाँसबाट बनाइन्छ । जुन बजाउँदा मादलको जस्तो ताल हुन्छ । त्यसमा प्रयोग हुने बाँस पनि हराउँदै गएको छ ।
भाकामा विविधता
पूर्वदेखि पश्चिमसम्म हाम्रा विभिन्न भाका छन् । यतिवेला आसरे भाका रेडियो र टेलिभिजनमा बज्थे । गाउँमा रोपाइँ सुरु हुँदा गाइन्थ्यो । कहाँ आसरे भाका कसरी गाइन्छ ? यसले निकै अर्थ राख्छ । जस्तो गोरखाको असारे भाकाको आफ्नै महत्व छ ।
अमिलो भन्नु कागती दाना
गुलियो कसर
यता नि पानी, उता नि पानी
लागेछ असार...
गोरखाको आसपासको क्षेत्रमा यसरी गाइन्छ । उपत्यकामा यही असारेलाई काँठेभाका भनिन्छ । उपत्यकाभित्र काँठे गाइन्छ । ओखलढुंगातिर अर्कै भाकामा असारे गीत गाइन्छ ।
सूदुरपश्चिममा खेतीपाती सकेपछि लछाडो पर्व मनाइन्छ । असार–साउनमा खेती गरेर थाकेपछि पर्व मनाउँदा ऊर्जा थपिने विश्वास छ । यो पर्व गाउँमा डुल्दै हिँडेर मनाइन्छ । रोपाइँ सकेको, खेतीपाती सकेको सूचना दिन यस्तो गर्ने चलन छ ।
काठमाडौं उत्यकामा काँठेभाका गाइन्छ । काँठवरिपरि पनि विभिन्न भाका छन् । काँठेभाका, घाँसे, दुधे काँठेजस्ता भाका चर्चित छन् ।
बाजा हराए शब्द हराउँछ
पछिल्ला वर्षमा नेपाली सिनेमामा लोकभाका ल्याएर गीत बनाइन थालिएको छ । यो राम्रो अभ्यास हो । यसले नेपाली भाका संरक्षणमा मद्दत गरिरहेको छ ।
केही वर्षअघि एउटा सिनेमामा ‘हिलो लाग्ला, नाइलनको सारीमा...’ बोलको गीत राखिएको थियो । ०३५ सालतिर रत्नपार्क, धरहरातिर जाँदा दुईजना मान्छे उभिएर त्यही गीत गाएको सुनेको थिएँ । उनीहरूले ‘नजाऊ नानी वनमारा घारीमा, हिलो लाग्छ नाइलनको सारीमा...’ भन्दै गाएका थिए । त्यसवेला रत्नपार्क, न्युरोड पीपलबोटतिर मान्छेहरूले पुराना भाकामा गीतहरू गाएर बस्थे । यस्ता गीत कागजका पन्नामा छापिन्थे पनि । मान्छेले त्यसलाई किनेर घरमा लैजान्थे । मैले पनि त्यसरी थुप्रै गीत किनेर ल्याएको छु । यसरी पनि भाकाहरू खोजिन्थ्यो र गाइन्थ्यो ।
अहिले पुराना भाकामा नयाँ शब्द राखेर गाउन थालियो । नयाँ पुस्ताका स्रष्टा तथा सर्जकले पुराना भाकालाई ल्याएर गाए । पुराना भाका सुन्न पायौँ, यसरी पनि भाका बाँचिरहेका छन् । यसलाई सकरात्मक रूपमा लिनुपर्छ ।
बाजा हराउनु भनेको भाषा हराउनु हो । भाषा हराउनु भनेको हाम्रो संस्कृति हराउनु हो । गीतमा पनि नेपाली शब्द प्रयोग हुन छाडेको देखिन्छ । हिजो नेपाली सिनेमाको गीतमा भारतीय प्रभाव थियो । सिनेमा संगीतमा बलिउडको जस्तै गर्नुपर्छ भन्ने धारणा थियो । ‘आच्छा लेकिन लन्डनको चिसोले...’ ‘घुम्तीनिर लेट भयो....’, ‘बाइरोडको बाटोमा धुलो उडाउँदै...’ जस्ता नेपाली शब्द नै हराए । यसर्थ, बाजा हराए, भाषा हराउँछ र नेपाली भाषा सकिन्छ । बाजा सकिँदा शब्दावली पनि सिकिन्छ ।
राज्यको भूमिका
बाजा र भाका ऋतुअनुसार पनि फरक–फरक छन् । जुन वैज्ञानिक ढंगले चलेको पाइन्छ । खेती लगाउनेदेखि खेती उठाने वेलासम्म बाजा बजाउने चलन छ ।
जीवनचक्रसँग संस्कृति पनि घुमिरहेको हुन्छ । संगीतभित्रको विविधता नेपालको सांस्कृतिक पहिचानको आधार बन्न सक्छ । विभिन्न जातजातिको भाषा र संगीत विद्यालय तहको पाठ्यक्रममै राखिनुपर्ने हो । जे–जति समुदाय छन्, भाषा छन्, त्यो राज्यको सम्पत्ति हो । यसलाई उपयोगमा ल्याउन सक्नुपर्छ । यसको खोज अध्ययन गर्न ढिला गर्नुहुँदैन ।