
खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रमै रहेका कांग्रेसका नेताहरूले सहयोग नगर्दा नै पछिल्लो समय काम गर्न गाह्रो भइरहेको गुनासो पोखेका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार सरकारको समीक्षा गर्दै मन्त्री चौधरीले नेपाल ओलम्पिक कमिटीको विवाद पनि कांग्रेसका नेताका कारण बढेको दाबी गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र ओलम्पिक कमिटीमा कांग्रेस सदस्य भए पनि आफूलाई उनीहरूले साथ नदिएको भन्दै चौधरीले असन्तुष्टि जनाए । ‘हाम्रो पार्टीभित्र खेलकुदमा काम गर्ने युवा साथी धेरै छैनन् । मन्त्रालयले पार्टीका युवा परिचालन गर्न सकिरहेको छैन । विदेश जानेदेखि लिएर युवालक्षित काम धेरै छन्,’ सप्तरीबाट निर्वाचित भएका चौधरीले भने ।
सानेपामा बसेको बैठकमा पार्टीको नेतृत्व गरी सरकारमा सहभागी भएका मन्त्रीहरूलाई बोल्न दिइएको थियो । चौधरीले खेलकुद मन्त्रीका हैसियतमा आफ्ना भनाइ राखेका हुन् । एक वर्ष खेलकुदमन्त्रीका रूपमा कार्यभार सम्हाले पनि महासमिति सदस्यकै असहयोगले ओलम्पिकमा बढी विवाद भएको उनको भनाइ छ ।
‘सरकारमा गएको १२ महिना बितेछ । सबैभन्दा ठुलो विवाद ओलम्पिक कमिटी छ । २६ जनामध्ये कांग्रेसकै बहुमत सदस्य छन् । ओलम्पिक कमिटीमा रहेका तीन–चारजना साथीले सहयोग गरेनन्,’ मन्त्री चौधरीले भने ।
ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ, सचिव भीमसिंह गुरुङ, उपाध्यक्ष दावा गुरुङ र सदस्य लाक्पा शेर्पाले आफूलाई सहयोग नगरेको चौधरीले दाबी गरे । उनले जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको ओलम्पिक कमिटीलाई मान्यता नदिने र पुन: तदर्थ समिति गठन गर्न तयार रहेको बैठकमा जानकारी दिए ।