१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २१ शनिबार
  • Saturday, 05 July, 2025
ब्रायन बेनेट
२o८२ असार २१ शनिबार o९:५२:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

ट्रम्पले निम्त्याएको आप्रवासन आतंक

१० जुनको पछिल्लो तथ्यांकअनुसार दुई लाख सात हजार आप्रवासी अमेरिकाबाट निकाला 

Read Time : > 3 मिनेट
ब्रायन बेनेट
नयाँ पत्रिका
२o८२ असार २१ शनिबार o९:५२:oo

चुनावी र्‍यालीका क्रममा डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति चुनिए अमेरिकी इतिहासकै सबैभन्दा ठुलो आप्रवासीको ‘डिपोर्टेसन’(निष्कासन) अभियान चलाउने वाचा गरेका थिए । सोही वाचाअनुरूप ट्रम्प राष्ट्रपति चुनिएपछि अहिले आप्रवासीको गिरफ्तारीमा नाटकीय वृद्धि भएको छ । तथ्यांकअनुसार ट्रम्पले पदभार ग्रहण गरेपछि अमेरिकाको अध्यागमन तथा भन्सार हेर्ने निकाय ‘इम्मिग्रेसन एन्ड कस्टम्स इनफोर्समेन्ट (आइसिई)’का डिटेन्सन सेन्टर (हिरासत केन्द्र) भरिभराउ हुन थालेका छन् ।

कार्यस्थल, अदालत र घरमा बढेको आइसिई एजेन्टको यही बढेको गतिविधिविरुद्ध क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा विरोध प्रदर्शन भयो । त्यहाँ ट्रम्पले राज्य र स्थानीय अधिकारीको आपत्तिका बाबजुद राज्यको नेसनल गार्ड तैनाथ गरेका थिए । ट्रम्पको निर्णयले विरोध प्रदर्शन हिंसात्मक झडपमा बदलिएको स्थानीय अधिकारीहरूले आरोप लगाएका थिए ।

राष्ट्रपति ट्रम्पको गतिविधि लस एन्जलसमा मात्र सीमित छैन । उनले अहिलेसम्म लाखौँ मानिसको ‘टेम्पोररी लेगल स्टाटस (अस्थायी कानुनी हैसियत) खारेज गरिदिएका छन् । लाखौँ अरूलाई पक्राउ गरेर देश निकाला गर्न आइसिईको शक्ति विस्तार गरेका छन् । उनले आइसिईलाई अन्य कानुन–प्रवर्तनकारी निकायको सञ्जालको स्रोत प्रयोग गर्न अधिकार दिएका छन् । एफबिआई, ‘ब्युरो अफ अलकोहल, टोबाको, फायरआर्म र एक्सप्लोसिभ्स’देखि डिइए र अमेरिकी पार्क प्रहरीसम्म आइसिईलाई सघाउने निर्देशन छ । 

त्यसबाहेक ट्रम्पले आन्तरिक राजस्व सेवा अर्थात् ‘इन्टरनल रेभिन्यु सर्भिस’ र हुलाक सेवालाई शंकास्पद व्यक्तिको जानकारी दिन दबाब दिएका छन् । होमल्यान्ड सेक्युरिटी अप्रेसनले आप्रवासीका तथ्यांक संकलन गर्न ‘आरएभिइएन’ नामक नयाँ सफ्टवेयर प्रविधि नै विकास गरेको छ । ट्रम्पले सहरदेखि काउन्टीसम्मलाई उनको उद्देश्य पूरा गर्ने दिशामा बाध्य पार्न संघीय शक्ति प्रयोग गरेका छन् । तिनले संघको अभियानलाई नसघाए उनीहरूले पाइरहेको संघीय कोष फिर्ता लिनेसम्मको धम्की दिइएको छ । स्थानीय प्रहरी विभागसँगको सहकार्यमा आइसिईले अमेरिकाभरका स्कुल, पार्क र रेस्टुरेन्टमा छापा मारिहेको छ । छोटो अवधिमा लगभग ८२ हजार मानिसलाई हिरासतमा लिइएको छ ।

धरपकड भर्खरै सुरु मात्र भएको हो । स्रोतहरूलाई उल्लेख गर्दै अमेरिकी मिडियाले लेखेअनुसार अमेरिकाको न्याय मन्त्रालयले ट्रम्पको आप्रवासन एजेन्डामा बाधा पुर्‍याउने सार्वजनिक अधिकारीलाई पक्राउ गर्ने र मुद्दा चलाउनेसम्म विचार गरिरहेको छ । ह्वाइट हाउसले गैरकानुनी सरकारी हिरासतविरुद्ध सुरक्षा प्रदान गर्ने संवैधानिक अधिकार ‘हेबियस कोर्पस’ निलम्बन गर्ने धम्की दिएको छ । ‘हामी सबै विकल्पबारे विचार गरिरहेका छौँ,’ ट्रम्पका ‘बोर्डर जार’ थोमस होमनले टाइम म्यागजिनलाई भने ।

आप्रवासीको गिरफ्तारी बढेसँगै तिनको देशनिकालाको संख्यामा पनि वृद्धि देखिन थालेको छ । यहाँ ट्रम्पको आगमनपछिको केही महिनामा अध्यागमन प्रवर्तन र आप्रवासीको निष्कासनमा भएको तथ्यांकबारे चर्चा गरिएको छ ।

ट्रम्पको आगमनपछि आइसिईले गर्ने गिरफ्तारीमा उल्लेख्य वृद्धि
आइसिईले सार्वजनिक गरेको सबैभन्दा पछिल्लो तथ्यांकले ट्रम्पले पदभार ग्रहण गरेदेखि हिरासतमा राखिएका मानिसको औसत संख्या २५ प्रतिशतले बढेको देखाउँछ । यस तथ्यांकले आप्रवासनसम्बन्धी नाटकीय परिवर्तनलाई प्रतिबिम्बित गर्छ । बाइडेनको कार्यकालमा अध्यागमन हिरासतमा रहेका प्राय: मानिस सीमा पार गर्दागर्दै पक्राउ परेका हुन्थे । ती सीमा गस्तीको जिम्मेवारी पाएको निकाय ‘कस्टम एन्ड बोर्डर पेट्रोल (सिपिबी)’का एजेन्टले पक्राउ गर्थे । तर, अहिले सीमा क्षेत्रबाट सिपिबीले गर्ने गिरफ्तारीमा भने उलेख्य गिरावट आएको छ । ट्रम्पको आगमनपछि आप्रवासनसम्बन्धी नियम कडा हुने प्रक्षेपणले थोरै मानिस अमेरिका प्रवेश गर्न प्रेरित हुँदा यो परिवर्तन आएको हो । 

आप्रवासीसम्बन्धी पक्राउको जिम्मेवारी सिपिबीबाट आइसिईमा सरेपछि उसको क्षमता वृद्धि गर्ने ट्रम्प प्रशासनले बताएको छ । टाइम म्यागजिनसँगको हालैको अन्तर्वार्तामा ट्रम्पका सीमासम्बन्धी निकाय (बोर्डर जार)का प्रमुख थोमस होमनले आइसिईका हिरासत केन्द्र बढाउने बताए । निर्वासनको पर्खाइमा रहेका बन्दीलाई राख्ने क्षमता दोब्बर गरी एक लाख पुर्‍याउने लक्ष्य रहेको होमनले बताए । 

निष्कासनमा निरन्तर बढोत्तरी 
राष्ट्रपति निर्वाचित हुनुअघि दिएको एक अन्तर्वार्तामा ट्रम्पले डेढ करोडभन्दा बढी आप्रवासीलाई देश निष्कासन गर्न चाहेको बताएका थिए । उनले त्यस वेला नै यस कार्यलाई आवश्यक परे अमेरिकी भूमिमा सेना प्रयोग गर्न पनि तयार रहेको बताएका थिए । ‘पसी कमिटाटस एक्ट’ले अमेरिकी सेनालाई देशभित्र परिचालन गर्न उलेख्य अवरोध लगाएको सन्दर्भमा उनले सेना प्रयोग खुलाउने बताएका थिए । 

अप्रिलको अन्त्यमा ट्रम्प प्रशासनले एक लाख ३९ हजारभन्दा बढी अवैध आप्रवासीलाई देश निकाला गरेको बताएको थियो, जुन संख्या ट्रम्पको लक्ष्य पुग्न निकै कठिन देखाउँछ । साथै यसले समुदायभित्र पुगेर अवैध आप्रवासीको खोजी र निष्कासन चुनौतीपूर्ण छ भन्ने कुराको पनि प्रतिबिम्ब हो । १० जुनमा गृह मामिला हेर्ने अमेरिकी मन्त्रालय ‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेकुरिटी’की सहायकमन्त्री ट्रिसिया म्याक–लाफ्लिनद्ले यस सन्दर्भमा अद्यावधिक तथ्यांक प्रदान गरेकी छन् । जसअनुसार दुई लाख सात हजार आप्रवासी अमेरिकाबाट निकाला भइसकेका छन् । 

यस संख्याले छोटो समय (अप्रिल अन्त्यपछिको दश दिन) भित्रै देश निकालामा उल्लेख्य वृद्धि र हालैका साता अध्यागमन अधिकारीले गरेका व्यापक र हस्तक्षेपकारी कार्यको इंगित गर्छ । तुलनाका लागि गत आर्थिक वर्षभरि संघीय सरकारले दुई लाख ७१ हजार ४८४ मानिसलाई देशनिकाला गरेको थियो ।

मे महिनामा आइसिईले देश निकालाको संख्या बढाएर आगामी महिना यसको संख्या थप तीव्र हुने संकेत गरेको थियो । ट्रम्प प्रशासनले संसद् (कंग्रेस)सँग देश निष्कासन गतिविधिलाई सहज बनाउनको आप्रवासन प्रवर्तनसम्बन्धी निकायको भुक्तानी बढाउन आग्रह गरेका छन् । ट्रम्पले कांग्रेसबाट पारित गर्न दबाब दिइरहेको ‘विशाल, सुन्दर बिल (विधेयक)’ को सबैभन्दा पछिल्लो संस्करणमा आप्रवासन प्रवर्तन र सीमा कडाइका लागि एक खर्ब ६८ अर्ब डलर छुट्याइएको छ । यो चालू वर्षको सो कोषमा पाँच गुणा बढी हो । जबकि, कांग्रेसले यस कार्यका लागि ३३ अर्ब डलर छुट्याएको छ ।

आप्रवासन निष्कासनको एक चुनौती निर्वासित गरिएकाहरूलाई स्वीकार गर्ने देशको खोजी पनि हो । ट्रम्पले लामो समयदेखि चलिआएका मान्यताको अवज्ञा गर्दै आप्रवासीलाई एल साल्भाडोरको कुख्यात जेल र क्युबाको ग्वान्टानामो खाडीमा रहेको अमेरिकी सैन्य अड्डा पठाएका छन् । यसबाट अमेरिकी कानुन तोडिएको केहीले तर्क गरेका छन् । कैयौँलाई विमानमा पानामा र दक्षिण सुडान पठाइएको छ । ट्रम्पका ‘बोर्डर जार’ थोमस होमनले टाइमलाई बताएअनुसार वर्तमान प्रशासनले अमेरिकी निर्वासितलाई स्वीकार गर्न थप तीन देशसँग वार्ता गरिरहेको छ ।

निर्वासितको संख्या अझै वर्तमान प्रशासनले चाहेजति छिटो नबढेपछि ट्रम्पका अधिकारीले आइसिई र अन्य सरकारी एजेन्सीलाई आप्रवासन गिरफ्तारी बढाउन दबाब दिइरहेका छन् । तिनले अमेरिकामा रहेका आप्रवासीलाई स्वेच्छिक रूपमा आफ्नै देश फर्कन पनि प्रोत्साहित गरिरहेका छन् । ट्रम्पले ‘स्वयं निर्वासित’ हुने यस्ता आप्रवासीलाई एक हजार डलर र नि:शुल्क फिर्ती उडानको प्रस्ताव राखेका छन् । तर, यति धेरै  प्रोत्साहन दिँद पनि ट्रम्पले चाहेको गतिमा आप्रवासीले अमेरिका छाडिरहेका छैनन् ।

माइग्रेसन पोलिसी इन्स्टिच्युटका वरिष्ठ फेलो मुजफ्फर चिस्तीले पछिल्लो समय प्रशासनले ल्याएको स्व–निर्वासन अभियान अभूतपूर्व भएको टिप्पणी गरे । ‘उनीहरूले द्रुत निर्वासन सजिलो नभएको महसुस गरेपछि उनीहरूले स्वयं निर्वासनको विचारलाई इतिहासमा कहिल्यै नदेखिएको स्तरमा बेच्न थालेका छन्,’ चिस्तीले भने ।

विश्व इतिहासमा ट्रम्प आप्रवासीविरुद्ध सुरु गरेको अभियानको थोरै मात्र समान उदाहरण भेटिन्छ । वर्तमान अभियान लाखौँ मानिसलाई निष्कासन गर्ने आइजेनहावरको कार्यकाल देखिएको ‘अप्रेसन वेट–ब्याक’भन्दा ठुलो हुने बताइएको छ । ट्रम्पले वाचा गरेकै स्तरमा कागजात नभएका आप्रवासीलाई हटाइयो भने अमेरिकामा ठुलो श्रमअभाव देखिन सक्छ । त्यसबाहेक अमेरिकालाई क्रमश: बहुजातीय बनाउँदै लगेको वर्षौं लामो बसाइँसराइको लहर धिमा पर्नेछ । साथै यस अभियानले दशकौँदेखि हिंसा र उत्पीडनबाट शरण खोज्नेहरूलाई आश्रय दिने अमेरिकाको नीतिमा विराम लाग्नेछ ।

(टाइम म्यागेजिनका वरिष्ठ ह्वाइट हाउस संवाददाता बेनेटको आलेख टाइमबाट श्रवण उप्रेतीले अनुवाद गरेका हुन् ।)