१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २१ शनिबार
  • Saturday, 05 July, 2025
२o८२ असार २१ शनिबार o९:४५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लिभरपुलले जोटाको जर्सी नं ‘२०’ प्रयोगमा नल्याउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २१ शनिबार o९:४५:oo

लिभरपुलले पोर्चुगलका स्ट्राइकर डियोगो जोटाको सम्मानमा उनले प्रयोग गर्ने जर्सी नं २० अबउप्रान्त प्रयोग नगर्ने घोषणा गरेको छ । बिहीबार बिहान स्पेनमा भएको कार दुर्घटनामा जोटाको निधन भएको थियो । सन् २०२४/२५ सिजनमा लिभरपुलले २०औँ प्रिमियर लिग उपाधि जित्दा जोटाले प्रमुख भूमिका निर्वाह गरेका थिए । ‘हामीलाई लिग च्याम्पियन बनाउन प्रमुख योगदान दिएका प्रेरणादायी खेलाडीको योगदानको सम्झना गर्दै उनले प्रयोग गरेको २० नम्बरको जर्सी अब लिभरपुलले कहिल्यै प्रयोगमा नल्याउने निर्णय गरिएको छ,’ लिभरपुलले जारी गरेको विज्ञप्तिमा भनेको छ । 

गत अप्रिलमा मर्सिसाइड डर्बीमा कोप स्ट्यान्डमा जोटाले लिभरपुलका लागि अन्तिम गोल गरेका थिए । ‘त्यो गोल हामी सबै लिभरपुल समर्थकले जीवनभरि बिर्सनेछैनौँ,’ लिभरपुलले भनेको छ, ‘उनको जीवनको अन्तिम गोल बन्यो, जुन भावुक क्षण क्लब र समर्थकका लागि स्मरणीय बनेको छ ।’

२८ वर्षीय जोटा र उनका भाइ २६ वर्षीय आन्द्रे सिल्भाको स्पेनमा भएको कार दुर्घटनामा मृत्यु भएको हो । यस घटनापछि समग्र फुटबल क्षेत्र शोकमा छ । वर्तमान समयमा एक होनहार युवा फुटबलर गुमाएको खेलकर्मीले जनाएका छन् । लिभरपुलमा रहँदा जोटाले एफए कप, लिग कपसहित प्रिमियर लिगकै उपाधि पनि जितेका थिए । उनले पोर्चुगलबाट सन् २०१९ र २०२५ को नेसन्स लिग हात पारेका थिए । सन् २०१६ मा एट्लेटिको म्याड्रिडबाट जोटाले व्यावसायिक फुटबल करिअर सुरु गरेका थिए । त्यसपछि उनी लोनमा एफसी पोर्टो पुगे । त्यहाँबाट उल्भ्स हुँदै उनी लिभरपुलमा आबद्ध भएका हुन् । 

४१ मिलियन पाउन्डमा लिभरपुल भित्रिएका जोटा
सन् २०२० मा लिभरपुलले जोटा भित्र्याउन ४१ मिलियन पाउन्ड खर्च गरेको थियो । उनले लिभरपुलबाट सबै खाले प्रतियोगितामा गरी एक सय ८२ खेलमा ६५ गोल गरेका थिए । लिभरपुलबाट जोटाले एफए कप, लिग कप तथा प्रिमियर लिग उपाधि हात पारेका थिए । उल्भ्समा उनले एक सय ३१ खेलमा ४४ गोल गरेका थिए । गत ८ जुनमा पोर्चुगलले नेसन्स कप जितेको थियो । जोटाले पोर्चुगलबाट ४९ खेलमा १४ अन्तर्राष्ट्रिय गोल गरे । 

जोटाले ११ दिनअघि मात्र प्रेमिका रुटे कार्डोसोसँग विवाह गरेका थिए । गत सिजनमा जोटा उत्कृष्ट लयमा थिए । उनले दुई महत्वपूर्ण उपाधिसमेत हात पारेका थिए । लिभरपुलका समर्थकले शुक्रबार एन्डफिल्डमा आफ्नो प्रमुख खेलाडीको कार दुर्घटनामा भएको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।