
मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सिंगापुरले टस जितेको छ । टस जित्दै सिंगापुरले ब्याटिङ राेजेकाे छ । नेपालले टस हारेर बलिङ गर्दै छ ।
लगातार दोस्रोपटक फाइनल स्थान सुरक्षित गरेको नेपालले पाँच खेलमा ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेको छ । यही प्रदर्शनलाई निरन्तरता दिँदै सिंगापुरलाई उपाधि भिडन्तमा निराश बनाउने लक्ष्य नेपालको छ । नेपालले सेमिफाइनलमा साबिक उपविजेता तथा घरेलु टोली मलेसियामाथि नौ विकेटको सानदार जित निकाल्दै अन्तिम दुई स्थान रक्षा गरेको हो ।
नेपाल र सिंगापुर यस प्रतियोगितामा दोस्रोपटक आमनेसामने भएका छन् । यसअघि समूह ‘ए’मा नेपालले सिंगापुरमाथि सानदार जित निकालेको थियो । सिंगापुरले त्यसपछि लगातार चार खेलमा दरिलो प्रदर्शन गरेको छ । फाइनलअघि सिंगापुरको मनोबल उच्च छ । उनीहरूको प्रयास पनि नेपाललाई स्तब्ध पार्दै उपाधि जित्ने नै हो । सिंगापुर र नेपाल उत्कृष्ट फर्ममा रहँदा उपाधि भिडन्त रोमाञ्चक हुने अपेक्षा छ ।
सिंगापुरले उमेर समूहमा पहिलोपटक हङकङलाई सेमिफाइनलमा सहजै हराएको थियो । कडा प्रतिद्वन्द्वीलाई पन्छाएको सिंगापुरले समूह चरणमा नेपालसँगको कमजोर प्रदर्शन नदोहोर्याउने पक्षमा छ । अहिले सिंगापुरका बलर र ब्याट्सम्यानले एकरूपताका साथ प्रदर्शन गरेका छन् । यसैको सहयोगमा नेपाललाई दुवै इनिङ्समा दबाब दिने उनीहरूको प्रयास हुनेछ ।
प्रतियोगिताको व्यक्तिगत प्रदर्शनमा सिंगापुरका खेलाडी पनि अगाडि छन् । लगभग सबैजसो विधामा नेपाल र सिंगापुरका खेलाडीले शीर्ष पाँचभित्र स्थान बनाएका छन् । यसले पनि सिंगापुरले फाइनलमा नेपाललाई चुनौती दिन सक्ने आधार देखिन्छ । उमेर समूहमा नेपाल अहिलेसम्म सिंगापुरसँग हारेको इतिहास छैन । नेपाल यसलाई निरन्तरता दिने प्रयासमा हुनेछ ।