
सुर्खेतमा चट्याङ लागेर एकजनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका छन्। भेरीगंगा नगरपालिका– ८ कुइरेमा चट्याङ पर्दा शुक्रबार दिउँसो करिब ३ बजे वीरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा डिलबहादुर शाहीको मृत्यु भएको हो।
प्रहरीका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारका लागि मेहलकुना अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो। घटनामा परेर पर्वत विक, हुमबहादुर थापा, नवीन विक र सुनिता गिरी सामान्य घाइते भएका छन्।
घाइतेहरूको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा १० जना र अस्थायी प्रहरी पोस्ट जहरेबाट प्रहरी सहनिरीक्षक खगेन्द्र सुनारको नेतृत्वमा पाँचजनाको प्रहरी टोली परिचालन गरिएको थियो।