
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध भएको छ । खार्पुनाथ, सर्केगाड र चंखेली गाउँपालिकामा रहेका विभिन्न वडाका बस्तीमा टेलिफोन सेवाले काम नगर्दा यहाँका सेवाग्राही मर्कामा परेका छन् ।
खार्पुनाथ गाउँपालिका– १ को पिउस, बोच्चेगौँडा, सुनखाडासहित वडा नं. ३ को राया, कारङ्गालगायत बस्तीमा यतिवेला टेलिफोन सेवा अवरुद्ध भएको स्थानीय शान्ति शाहीले बताइन्।
दुई हप्ताभन्दा बढी समयदेखि यस क्षेत्रमा बिहान, दिउँसो र साँझको समयमा टेलिफोन सेवाले काम गर्न छोडेको शाहीले बताइन् । रातिको समयमा मात्रै टावर आउने गरेको उनको भनाइ छ । रायाको ठाना भन्ने स्थानमा रहेको टावरले काम नगर्दा यहाँका सेवाग्राही सञ्चारबाट वञ्चित हुनुपरेको हो ।
त्यसैगरी, सर्केगाड गाउँपालिकाको स्याल्तडी, रिप र उनापानी गाउँमा पनि नेपाल टेलिकमले काम नगर्दा समस्या बनाएको स्थानीयको भनाइ छ ।
रिप गाउँका विनोद फडेराले मौसम परिवर्तन भएको समयमा वर्षा हुँदा कुनै वेला अचानक क्षति भए पनि फोन गर्न टावर नहुँदा समस्या बनाएको बताए । मोबाइलमा टावर देखाए पनि फोन गर्दा फोन नै नलाग्ने गरेको उनको भनाइ छ । यस्तै, पालिका केन्द्र सर्केगाडमा पनि नमस्ते टेलिफोन सेवाले काम गर्न नसकेको सर्केगाडमा व्यवसाय गर्दै आएका गगन ऐडीले बताए ।
चंखेली गाउँपालिका केन्द्र सञ्चारविहीन
जिल्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका केन्द्र पिप्लाङ करिब एक महिनादेखि टेलिफोन सेवाबाट वञ्चित बनेको छ । टेलिफोन गर्न डाँडाकाँडा धाउनुपर्ने अवस्था रहेको यहाँका स्थानीयको भनाइ छ । गाउँपालिका केन्द्र मात्रै नभएर प्रायः ठाउँका ग्रामीण क्षेत्रमा हालसम्म पनि टावरका कारण नेटवर्कमा समस्या आइरहन्छ । नेटवर्कले काम नगर्दा टावर खोज्न अग्लो स्थान वा रुखमा चढ्नुपर्ने बाध्यता छ ।
सूचनाको माध्यम फोन नै नचलेपछि जनप्रतिनिधि र कर्मचारी भए–नभएको अनुमानकै भरमा गाउँपालिका केन्द्र पुग्नुपर्ने स्थानीय बसुना तामाङको गुनासो छ । गाउँपालिका केन्द्रमा नेटवर्कको पहुँच हुने गरी नेपाल टेलिकमले फोरजी टावर निर्माण प्रक्रिया अघि बढाएको भए पनि त्यसले पूर्णता नपाउँदा समस्या बनाएको हो ।
पालिककै मेलछाममा रहेको नेपाल टेलिकमको टावरमा समस्या आउँदा टेलिफोन सेवा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताए । गाउँपालिका केन्द्रमा सञ्चार सुविधा नहुँदा दैनिक कार्य सम्पादनमा कठिनाइ भएको उनले बताए ।
गाउँपालिकामा अहिले जडान गरेको इन्टरनेट भरपर्दो नभए पनि जेनतेन काम चलाएर कार्यालयका पत्र आदानप्रदान गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत दीपक गिरीले बताए । गाउँपालिकाले निजी कम्पनीको वायरलेस इन्टरनेट जडान गरे पनि प्रभावकारी नहुँदा इन्टरनेट नभएकै कारण लामो समयसम्म गाउँपालिका केन्द्रमा बैंकको शाखासमेत खुल्न सकेको छैन । रासस