१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १३:३६:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बारपाकको दलितबस्ती : घरधुरी २१, शौचालय एक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३६:oo

दीपाशा विक (१८ महिने सुत्केरी) हरेक दिन बिहानको ३–४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छिन्। तीस वर्षकी उनीसँगै छरछिमेकका अन्य छोरी–बुहारीहरू कोही एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन् । बारपाक सुलिकोट गाउँपालिका– २ दलितबस्तीका महिलाहरू यसरी मध्यरातमा शौचालय धाउनुपर्ने कारणचाहिँ ‘घरधुरी २१, शौचालय एक’ भएर हो । 

तुलनात्मक रूपमा सम्पन्न बारपाकको पुछारमा रहेको दलितबस्ती सबै हिसाबले पिछडिएको छ । ०७२ सालको विनाशकारी भूकम्प गएको १० वर्ष बितिसक्दा पनि यहाँका बासिन्दा अझै त्रिपालभित्र बस्न विवश छन् । दलितबस्तीको मुख्य समस्या शौचालय हो । २१ घरधुरी रहेको दलितबस्तीमा जम्मा एउटा शौचालय छ । त्यो पनि जीर्ण । राम्रोसँग ढोका पनि नलाग्ने । 

सिंगाे दलितबस्तीलाई शौचालयको समस्याले पिरोलेको अर्का स्थानीय दीपाशा विक गुनासो गर्छिन्। ‘सरकारले हामीलाई घर बनाइदिन्छौँ, जग्गा दिन्छौँ भनेर १० वर्षअघि यहाँ ल्यायो । हामीले हाम्रो पुरानो घरघडेरीको लालपुर्जा पनि सरकारलाई दिइसक्यौँ, तर के गर्नु अहिलेसम्म घर त के, गतिलो शौचालयसमेत बनाउन सकेका छैनौं,’ उनले भनिन्, ‘हामी अहिले सरकारी जग्गामा बस्दै आएका छौँ । आफ्नो हिसाबले शौचालय बनाउन पनि सक्दैनौँ ।’

शौचालय नहुँदा विशेषगरी यहाँका महिला तथा किशोरीहरू समस्यामा छन् । १६ वर्षकी अर्की किशोरी अमृता विकले घरैपिच्छे शौचालय नहुँदा धेरै दुःख सहनुपरेको गुनासो गरिन्।  उनले भनिन्, ‘सबैभन्दा धेरै समस्या महिनावारीको समयमा हुन्छ । एउटा मात्र शौचालय छ, बिहान–बेलुका घुइँचो लाग्छ । राति पनि जाँडरक्सी खाएका केटाहरूले धेरै फोहोर गर्दिन्छन् ।’ व्यवस्थित शौचालय नहुँदा बस्तीका मानिसले खुला दिसापिसाप गर्न बाध्य रहेको उनको भनाइ छ । 

२१ घरधुरीका ५० भन्दा धेरै व्यक्तिले एउटै शौचालय प्रयोग गर्दा बस्तीमा वेलाबखत सरुवा रोगसमेत फैलिने गरेको छ । स्थानीय मंगलबहादुर सुनारका अनुसार बस्तीमा हैजा, ज्वरो, झाडापखाला, रुघाखोकीलगायतका सरुवा रोगहरू फैलिरहन्छ । ‘यहाँ त सबैलाई कोरोना आए कोरोना, भाइरल ज्वरो आए भाइरल ज्वरो, डेंगी आए सबैलाई डेंगी हुने हो,’ उनले भनिन्, ‘सबैले एउटै शौचालय प्रयोग गर्दा गर्मी समयमा सजिलै रोग फैलन्छ।’ 

उनका अनुसार कोभिड महामारीको समयमा मात्र बस्तीका पाँचजनाको मृत्यु भएको थियो । आफूहरू फोहोरमैलामा बसेका कारण सामाजिक रूपमा अपहेलित हुनुपरेको अर्की स्थानीय ५७ वर्षकी मैती सुनार बताउँछिन्। उनले भनिन्, ‘भेदभाव किन नहोस्, सबैको ठुल्ठुला महल छन्, सफा आँगन ट्वाइलेट छ । हामी भने यस्तो फोहोरमा बस्छौँ । हेलाहोचो भैहाल्छ नि ।’ 

बारपाकको सौन्दर्यमा मन्त्रमुग्ध हुने जोकोहीले त्यही मुनि खोल्साको छेउको दलितबस्तीमा भने नजर लाउन छुटाइरहेका हुन्छन् ।

०७२ साल वैशाख १२ गते ११ः५६ बजे बारपाक केन्द्रविन्दू भएर गएको ७.८ रेक्टरको भूकम्पले यहाँका ११ सय घरधुरी क्षणभरमै ढले । गाउँका ७२ जनाको मृत्यु भयो । बाँचेकाहरू पनि महिना दिनसम्म चौरमा, बारीका गरामा वास बसे । डाँडागाउँ, गैरीगाउँ, कोटडाँडा टोलका ४१ घरधुरी विक समुदाय कृषि र पशु कार्यालयको नाउँमा रहेको जग्गामा आएर अस्थायी टहरो बनाएर बसे । १४ घरधुरी फेरि आ–आफ्नै थातथलोमा फर्किए ।

डाँडागाउँ, गैरीगाउँ टोलका २७ घरधुरीको पुरानो थलो पहिरिएर राङरुङ खोलासम्म पुग्यो । फर्किन सक्ने अवस्था नभएपछि उनीहरूले आफ्नो घरघडेरीको लालपुर्जा सरकारलाई बुझाए र सट्टापट्टा गरी सोही सरकारी जग्गा आफ्नो नाममा ल्याउन पहल थाले । पहल गरेको १० वर्ष बितिसक्दा पनि अझै सफल हुन सकेका छैनन् ।

राज्यको हरेक निकायमा दलित, भूमिहीन समुदायलाई प्राथमिकतामा राखेर सेवा सुविधा दिइन्छ, तर भूकम्पको केन्द्रविन्दू बारपाककै दलित समुदायको भने भूकम्प गएको पहिलो दिनदेखि १० वर्ष बितिसक्दासम्म टहरोकै वास छ ।

यहाँका दलित समुदायका अगुवा सुकबहादुर विक दलित समुदायलाई वास माग्दै ८६ पटक सिँहदरबार धाएको बताउँछन् । 

‘मैले बुझेअनुसार हामीलाई अन्याय भएको राजनीतिक प्रतिशोधले हो,’ उनले भने, ‘यो दलितबस्तीलाई पुनर्स्थापना गर्ने लडाइँ १० बर्ष भइसक्यो, प्रगति छैन । एउटा पार्टी सरकारमा आउँदा जिल्लासम्म पत्राचार गर्छ । फेरि अर्को पार्टीको सरकार आउँछ, अनि सबै फाइल गायब बनाइदिन्छन् ।’ 

पूर्वसहमतिअनुसार यहाँको ६ रोपनी १० आना जग्गा २१ घरधुरीका नाममा लालपुर्जा दिनुपर्ने अर्का अगुवा दलित उत्तम विक बताउँछन् । गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट सो जग्गा दलित समुदायको नाममा दिलाउन जति प्रयास गर्दा पनि नसकेकाले कुनै वैकल्पिक ठाउँमा व्यवस्था गर्न बरु सजिलो हुने देखिएको बताउँछन् ।