१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 30 June, 2025
Invalid date format १८:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धान दिवस : देउडा गाउँदै सेनाले गर्‍यो रोपाइँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१६:oo

अछाममा नेपाली सेनाले देउडाको लयमा खेत रोप्दै धान दिवस मनाएको छ। गोरख बक्स गण मंगलसेन ब्यारेकमा परम्परागत संस्कृतिअनुसार रोपाइँ गर्दै देउडा गाउने, हिलोमा रमाउने र आत्मीयता अभिव्यक्त गरेर धान दिवस मनाइएको हो।

गणमा कार्यरत विभिन्न दर्जाका सैनिकहरूले ‘लागिग्यो असारको महिना, ‘रोपाइँ भयो सुरु, हो बाज झम्रेली बाज’ भन्दै देउडा गाउन थालेपछि प्रमुख जिल्ला अधिकारी आनन्द सारू, गणपति संगम अधिकारी र प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले पनि हिलो छ्याप्दै देउडा खेले। 

‘हामी संस्कृतिका धनी छौँ,’ प्रजिअ सारुले भने, ‘धान रोप्दा खेलिने देउडा र असारे भाका हाम्रा गहना हुन्। यसको संरक्षण गर्नुपर्छ।’ जो जहाँ रहे पनि हामी सबै किसान हौँ भन्ने सन्देश दिन गणभित्रै नमुना खेत तयार गरेर रोपाइँ गरिएको गणपति अधिकारीले बताए। यसले घर छोडेर टाढा रहेका सैनिकहरूलाई समेत न्यास्रो मेटाएको उनले बताए।

सेनानी अमृत खड्काको समन्वयमा सैन्य, सिपाही र अन्य दर्जाका सैनिकहरूले धान दिवसको अवसरमा खनजोत गर्ने र धान रोप्ने कार्य गरेका थिए। सो अवसरमा सुबेदार निर्मल पाण्डे र सिपाही त्रिलोचन बडेलाले किसानका भावना समेटेर रचना सुनाए।

दिवसका अवसरमा गणले ‘मानो रोपेर मुरी फलाउने’ परम्परालाई सम्मान गर्दै दही–चिउरासहित सत्कार गरेको थियो।

अछाममा १५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान रोप्ने गरिएको छ। त्यसमध्ये अहिलेसम्म ५० प्रतिशत बढी रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र अछामका वरिष्ठ कृषि प्रसार अधिकृत जनकराज बोहराले बताए। उनका अनुसार अबको दुई हप्तासम्म जिल्लाका सबैतिर धान रोपाइँ सकिने अनुमान छ।

अछाममा यो वर्ष निरन्तर वर्षा नहुँदा किसानले समयमै रोपाइँ गर्न नपाएको उनले बताए। अहिले पनि पश्चिम अछामको तुलनामा पूर्वी अछामको ढकारी, तुर्माखाँद र कमलबजार क्षेत्रका खेतहरूमा तुलनात्मक रूपमा थोरै मात्र खेत रोपिएका छन्।