
बागमती प्रदेश सरकारले प्रदेशका ओलम्पियन खेलाडीलाई मासिक रूपमा भत्ता दिने भएको छ। मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले ओलम्पियनलाई मासिक पाँच हजार रुपैयाँको दरले भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन्।
नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजन र बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा चितवनको सौराहामा भएको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमको समापन समारोह तथा चौथो ओलम्पियन पुनर्मिलन र सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले उक्त घोषणा गरेका हुन्।
यसअघि गण्डकी प्रदेशले दुई वर्षदेखि ओलम्पियनलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिँदै आएको छ भने सुदूरपश्चिम प्रदेशले पनि हालै मासिक भत्ता उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।
कार्यक्रममा सहभागी सन् १९९२, १९९६ र २००० का ओलम्पिक खेलमा अनिता श्रेष्ठ, सीताराम शाही, विमला राना मगर, भगवती खत्री र ज्ञानबहादुर बोहोरालाई सम्मान गरिएको छ। त्यस्तै, १९९६ का ओलम्पियन स्वर्गीय सुनीललाल जोशीलाई मरणोपरान्त उनको परिवारमार्फत सम्मान प्रदान गरिएको छ।
कार्यक्रममा मुख्यमन्त्री लामा, युवा तथा खेलकुदमन्त्री महर्जन, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक लामा, ओलम्पियन एसोसिएसनका अध्यक्ष दीपक विष्टलगायतले ओलम्पियनहरूलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।
सो अवसरमा अध्यक्ष विष्ट र कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले पेरिस ओलम्पिकमा सहभागी हुने सात खेलाडीमध्ये तीनजना खेलाडीहरू एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ प्रधान र ब्याडमिन्टनका प्रिन्स दाहाललाई ओएलवाईको पिन तथा प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रमको अवसरमा बिहान चितवनमा ‘वाकाथन’समेत आयोजना गरिएको थियो। सौराहाको हात्तीचोकबाट सुरु भई रिभरसाइडसम्म सम्पन्न उक्त वाकाथनमा मुख्यमन्त्री लामा, खेलकुदमन्त्री महर्जन, रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा, ओलम्पियन खेलाडी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा स्थानीयवासीको सहभागिता थियो।
नेपाल ओलम्पियन्स एसोसिएसनले चार वर्षअघि कर्णालीको सुर्खेतबाट सुरु गरेको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमको समापन पनि सोही दिन सम्पन्न गरिएको छ।