
नेपालका विभिन्न आदिवासी जनजातिहरूले अमेरिकाको न्युयोर्कमा आफ्नो मौलिक संस्कृति प्रस्तुत गरेका छन्।
न्युयोर्कको उडसाइडमा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले आयोजना गरेको बृहत् आदिवासी जनजाति सांस्कृतिक साँझमा १८ वटा आदिवासी जनजातिहरूले आफ्नो मौलिक संस्कृति र नृत्य प्रस्तुत गरेका हुन्।
कार्यक्रममा सहभागीहरू आ–आफ्नो मौलिक वेशभूषामा उपस्थित भएका थिए। औपचारिक कार्यक्रमभन्दा फरक शैलीमा गरिएको सांस्कृतिक साँझमा देखाइएको प्रस्तुतिलाई नेपाली एवं अमेरिकी सहभागीहरूले निकै रुचिका साथ अवलोकन गरेका थिए।
सन् २००५ मा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ न्युयोर्कको सबैभन्दा ठुलो नेपाली संस्थाको रूपमा रहेको छ। जसले १८ वटा विभिन्न जातीय संस्थाहरूलाई आफ्नो छातामुनि राखेको छ। ग्लोबल जनजाति महासंघको नाममा गठन भएको यो संस्था सन् २००७ मा नेपाल आदिवासी जनजाति महासंघ बनेको हो।
फिप्नाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सञ्चालन भएको सांस्कृतिक साँझको समन्वय एवं व्यवस्थापन महासचिव दीपक चौधरीले गरेका थिए। कार्यक्रममा न्युयोर्क महानगरका स्थानीय प्रतिनिधिहरूको पनि उपस्थिति थियो। फिप्नालाई न्युयोर्क महानगर डिस्ट्रिक ३० का काउन्सिल म्यान रोबर्ट होल्डेनले सर्टिफिकेट अफ रिकग्निसन हस्तान्तरण गरेका थिए।
फिप्नाका वरिष्ठ उपाध्यक्ष पेमा लामाले स्वागत गरेको कार्यक्रमको समापनमा कलाकार एवं प्रायोजकहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रम समापन गर्दै अध्यक्ष गुरुङले अगष्ट ९ मा न्युयोर्कमा आदिवासी जनजाति दिवसको आयोजना गरिएको र यो दिवसलाई ऐतिहासिक बनाउन सबैलाई आग्रह गरे।