१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
अली मामौरी
Invalid date format ११:१o:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इजरायल–इरान युद्धविरामको भविष्य

Read Time : > 2 मिनेट
अली मामौरी
नयाँ पत्रिका
Invalid date format ११:१o:oo
  • युद्धविराम स्थायी शान्तिको संकेत हो वा अर्को युद्धअघिको एक छोटो विराम मात्र हो भन्ने प्रश्न उब्जेको छ

१२ दिनको युद्धपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबिच युद्धविरामको घोषणा गरेका छन्, जसले दशककै सबैभन्दा नाटकीय र प्रत्यक्ष द्वन्द्वलाई अन्त्य गर्नेछ । इजरायल र इरान दुवैले युद्धविरामको पालना गर्ने सहमति जनाएका छन्, यद्यपि दुवै पक्षले कुनै पनि किसिमको उल्लंघनमा कडा जवाफ दिने बताएका छन् । युद्धविराम स्थायी शान्तिको संकेत हो वा अर्को युद्धअघिको एक छोटो विराम मात्र हो भन्ने प्रश्न उब्जेको छ । आधुनिक युद्धको अध्ययनअनुसार शान्ति प्राय: दुई अवस्थामध्ये एकमा मात्र टिकाउ हुन्छ, अर्थात् कि त एक पक्षको पूर्ण पराजय वा आपसी प्रतिरोधात्मक शक्तिको स्थापना भए मात्रै शान्ति कायम हुन्छ । यसको अर्थ दुवै पक्ष आक्रमणबाट टाढा रहन्छन्, किनभने दुवैले प्रतिशोधको सम्भावित क्षति लाभभन्दा बढी हुने अनुमान गर्छन् ।

दुवै पक्षले के पाए ? : यो युद्ध इजरायलका लागि इरानसँगको दशकौँ लामो टकरावमा एक निर्णायक मोड बन्यो । पहिलोपटक इजरायलले लडाइँलाई सीधै इरानी भूमिमा पुर्‍याएर अप्रत्यक्ष भिडन्तलाई प्रत्यक्ष आक्रमणमा रूपान्तरण गर्‍यो । यो सफलता इजरायलले विगत दुई वर्षमा हेजबुल्लाह र सिरियाका सिया मिलिसियालाई कमजोर बनाएको कारण सम्भव भयो । गत दुई सातामा इजरायलले इरानका उच्चपदस्थ सैन्य र आणविक वैज्ञानिकलाई तारो बनाएर ठुलो क्षति पुर्‍यायो । सर्वसाधारणमा पनि ठुलो हताहती भयो । अमेरिकालाई युद्धमा तानेर इजरायलले फोर्दो, नतान्ज र इस्फहानमा आक्रमण गराउँदै एक प्रमुख रणनीतिक उपलब्धि पनि हासिल गर्‍यो । तर, इजरायलका सबै लक्ष्य प्राप्त भएनन् । नेतन्याहुले सत्ता परिवर्तनको आह्वान गरे पनि इरानको नेतृत्व यथावत् छ । मिसाइल कार्यक्रम पनि पूर्ण रूपमा नष्ट हुन सकेन, र तेहरानले युरेनियम प्रशोधन अन्त्य गर्ने ट्रम्पको माग पनि अस्वीकार गर्‍यो ।

इरान अमेरिकासँग आणविक वार्तामा संलग्न रहँदा इजरायलको अचानक आक्रमणले इरानलाई स्तब्ध तुल्याए पनि इरानले सयौँ मिसाइल इजरायलतर्फ प्रक्षेपण गर्‍यो । केही रोकिए पनि धेरै मिसाइलले इजरायली सुरक्षा प्रणाली चिर्दै प्रमुख सहरमा विनाश, दर्जनौँ हताहती र सयौँलाई घाइते बनायो । इजरायलले इरानका हवाई प्रतिरक्षा प्रणाली, मिसाइल यन्त्र र ऊर्जास्रोतमा प्रहार गरेर क्षति पुर्‍यायो, तर इरानले पनि आफ्नो प्रत्याक्रमण क्षमता देखायो । आक्रमण सुरु भएदेखि इरानले वार्ता पुन: सुरु गर्न पनि आह्वान गर्‍यो र युद्ध लम्बिँदा दुवै पक्षका लागि लागत बढ्ने र स्रोत घट्ने कुरा बुझेको देखियो । त्यसैले, इरानले लामो युद्ध फाइदाजनक नहुने निष्कर्ष निकालेको देखिन्छ ।

वास्तवमा युद्धमा विजय केवल क्षति पुर्‍याउने मात्र नभई रणनीतिक लक्ष्य प्राप्त गर्ने र शत्रुको इच्छाशक्ति कमजोर पार्नु पनि हो । इजरायलले अधिकांश लक्ष्य पूरा गरेको दाबी गरे पनि इरानको आणविक कार्यक्रम कति क्षतिग्रस्त भयो भन्ने अझै अस्पष्ट छ । त्यसैले, दुवै देश अझै संवेदनशील तनावमा छन् र द्वन्द्व पुन: चर्किने सम्भावना कायमै छ ।

इरानको आणविक भविष्य, आशंका र सम्भावना : युद्धपछि इरान गम्भीर चुनौतीको सामना गर्दै छ । नेतृत्व र आणविक पूर्वाधारमा क्षति पुगेपछि तेहरानले प्रतिरोध क्षमतालाई पुन: निर्माणमा प्राथमिकता दिने संकेत देखिएको छ, जसमा चीनबाट उन्नत वायु प्रतिरक्षा प्रणाली प्राप्त गर्नु र मिसाइल तथा आणविक कार्यक्रम पुनस्र्थापना गर्नु पर्छ । केही विशेषज्ञका अनुसार इरानले शक्तिशाली मिसाइल जानाजान प्रयोग गरेन, ताकि रणनीतिक क्षमताको आकलन जोगियोस् ।

इरानी अधिकारीले आक्रमणअघि ६० प्रतिशत शुद्धता भएको चार सय किलो युरेनियम सुरक्षित गरिएको दाबी गरेका छन्, जुन ९० प्रतशित शुद्धतामा रूपान्तरण गरे करिब १० आणविक बम बनाउन सकिने सम्भावना छ । ट्रम्पले इरानको आणविक क्षमता ‘पूर्ण रूपमा नष्ट’ भएको दाबी गरेका छन्, र राष्ट्रसंघीय निरीक्षकले गम्भीर क्षतिको संकेत गरे पनि विश्लेषक इरानसँग अझै पर्याप्त प्राविधिक ज्ञान रहेको बताउँछन् । भूमिगत संरचनाको क्षतिमा भर पर्ने भए पनि इरान छिटै कार्यक्रम पुन: सुरु गर्न र तीव्र गतिमा अघि बढ्न सक्छ । र, आणविक वार्ता पुन: सुरु हुने सम्भावना भने अत्यन्तै क्षीण देखिएको छ ।

भविष्यको प्रतिरोध रणनीति : यो युद्धले इरान र इजरायल दुवैको प्रतिरोध बुझाइमा आधारभूत परिवर्तन ल्याएको छ । इरानका लागि यो द्वन्द्वले सत्ताको अस्तित्व नै संकटमा पर्न सक्छ भन्ने चेतावनी दिएको छ । युद्धमा ‘सत्ता परिवर्तन’को कुरा उठेपछि इरान अब आणविक हतियार निर्माण क्षमता र चीन–रुससँग रणनीतिक साझेदारीलाई सुदृढ गर्नतर्फ उन्मुख हुन सक्छ । तेहरानले आफ्नो आणविक कार्यक्रम छिटै पुन: सुरु गर्न सक्नेछ र अब औपचारिक रूपमा हतियार निर्माणको दिशामा पनि अघि बढ्न सक्ने सम्भावना छ । त्यसैगरी चीन र रुससँग सैन्य–आर्थिक सहकार्यलाई तीव्र पार्दै अन्तर्राष्ट्रिय एक्लोपनको जोखिम घटाउन सक्नेछ ।

इजरायलको दृष्टिमा प्रतिरोध भनेको निरन्तर सतर्कता र प्रबल प्रतिशोधको तयारी हो । कूटनीतिक समाधान नआए इजरायलले इरानी आणविक गतिविधिमा सानो संकेत पाउनेबित्तिकै आक्रमणको नीति अपनाउन सक्छ । अहिलेको युद्धविराम अत्यन्तै नाजुक छ । इरानको आणविक क्षमताबारे वार्ता सुरु भएन भने यो विराम अस्थायी मात्र हुने सम्भावना छ । हालको आपसी प्रतिरोधले ठुलो युद्ध रोक्न सक्ला, तर सन्तुलन कमजोर छ र कमजोरीको झिनो संकेतले पनि पुन: द्वन्द्व भड्कन सक्छ ।

(मामौरी डेकिन विश्वविद्यालयका मध्यपूर्व अध्ययनका अनुसन्धाता फेलो हुन्) 
द कन्भर्सेसनबाट