१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ११ बुधबार
  • Wednesday, 25 June, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८२ असार ११ बुधबार o९:२७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रानीपौवा–त्रिशूली सडक ११ वर्षदेखि बेहाल : पुरानो ठेक्का तोडिएको चार वर्ष बित्यो, नयाँ ठेक्का अझै अनिश्चित 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ११ बुधबार o९:२७:oo

काठमाडौंलाई नुवाकोटसँग जोड्ने मुख्य पासाङल्हामु सडकखण्ड ११ वर्षदेखि अस्तव्यस्त छ । दुई खण्डमा सडक विस्तार र कालोपत्रेको काम थालिए पनि हाल एउटा खण्डमा मात्रै काम भएको छ । अर्को खण्ड भने बेहाल अवस्थामा छ ।

सडक विभाग, सडक सुधार तथा विकास निर्देशनालयका डिभिजन इन्जिनियर क्षितिज जोशीले बालाजुदेखि रानीपौवासम्मको खण्डमा ठेक्का लागेर काम भइरहेको बताए । सो खण्डको पनि तीनपिप्लेसम्म सडक कालोपत्रे भइसकेको छ । यो खण्डमा तीन वर्षअघि नै ठेक्का लागेको थियो । यसमा अहिले सडक डिभिजन नुवाकोटले काम गरिरहेको छ । हालसम्म ६० प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको सडक डिभिजन नुवाकोटले जनाएको छ ।

पासाङल्हामु सडकखण्डको दूरवस्था । तस्बिर : संजिव योञ्जन/नयाँ पत्रिका 

भारतीय ठेकेदार कम्पनीले जिम्मा लिएको रानीपौवादेखि त्रिशूलीसम्म ३२ किमि सडकखण्ड अस्तव्यस्त छ । यो सडकखण्ड निर्माणका लागि ४५ करोडमा ठेक्का लगाइएको थियो । तर, ठेकेदार कम्पनीको बदमासीकै कारण सडकखण्ड हिलाम्य र धुलाम्य छ । जसले गर्दा सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको छ । सरकारले भारतीय सरकारको सहुलियत ऋणमा ०७१ जेठदेखि यो सडक विस्तार कार्य अघि बढाएको थियो । तर, कामै नगरेपछि ०७७ असारमा ठेक्का तोडिएको थियो । ठेक्का तोडेपछि ठेकेदार कम्पनी अदालती प्रक्रियामा गए पनि अदालतले ठेक्का तोड्नु उचित भन्ने फैसला गरेको थियो । त्यसपछि नयाँ ठेक्का लगाएर काम गर्ने बाटो खुलेको जोशीले बताए । भारतीय ऋणमा निर्माण हुने सडकमा भारतीय ठेकेदार नै हुनुपर्ने भएकाले पुनः भारतीय ठेकेदार नै हायर गरिने जोशीले जानकारी दिए । 

‘ठेकेदारले काम नगरेपछि तोडेका हौँ, अब फेरि ठेक्का लगाउँछौँ, तर त्यसको आर्थिक सुनिश्चितता गर्न र विगतको सम्झौताअनुसार सडक विस्तारमा ऋण सहयोगका लागि भारतीय पक्षलाई नै पुनः आग्रह गरेका छौँ,’ उनले भने, ‘भारतीय सहयोग भएन भने यो सडक विस्तारको काम अघि बढ्ने अवस्था हुँदैन ।’ जोशीका अनुसार ११ वर्षअघि नै भारतीय ठेकेदारलाई सडक ठेक्का लगाइएको थियो । तर, तीनपटकसम्म पनि ठेक्का लगाउँदा काम नभएपछि तोडिएको थियो । ठेक्का तोड्ने वेलासम्म करिब ४६ प्रतिशत भौतिक प्रगति र ३० प्रतिशत आर्थिक खर्च भइसकेको थियो । भौतिक प्रगतितर्फ केही साइटमा चौडा गर्ने र ग्राभेलको काम भएको थियो । तर, लामो समयसम्म पनि कालोपत्रे नभएपछि ग्राभेल गरेको सडक खाल्डाखुल्डीमा परिणत भएको छ ।

सडक विभागका महानिर्देशक विजय जैसीले सडक अस्तव्यस्त हुनुको कारण ठेकेदार नै रहेको दाबी गरे । पटकपटक अनुरोध गर्दा पनि ठेकेदार पक्षले काम अघि नबढाएको उनको भनाइ छ । जति आग्रह गर्दा पनि काम नगरेपछि सरकार ठेक्का तोड्न बाध्य भएको उनले जिकिर गरे । ‘भारतीय ऋण सहयोगमा ठेक्का लगाइएको थियो, तर ठेकेदारले काम नगरेपछि दुईवटै ठेक्का तोडियो,’ उनले भने, ‘काठमाडौंतर्फबाट डम्पिङ साइट जोड्ने तीनपिप्लेसम्म कालोपत्रे भइसकेको छ, त्यसउता सडक बनेको छैन । रानीपौवादेखि त्रिशूली–गल्छी दोबाटोसम्म सडक अप्ठेरो छ, नयाँ ठेक्का लगाउनका लागि बजेट माग गरिरहेका छौँ, भारतीय पक्षले नै ऋणलाई निरन्तरता दियो भने त्यही रकममा हुन्छ, तर दिएन भने नेपाल सरकारले छुट्याउनुपर्छ ।’ 

जैसीका अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि बजेट छुट्यायो भने बल्ल ठेक्का लगाइनेछ । स्रोत सुनिश्चितताविना ठेक्का लगाउन नसकिने महानिर्देशक जैसीले बताए । उनले काठमाडौं जोड्ने आसपासका सडक र राजमार्ग बन्द नहुने अवस्था बनाउने गरी विभागले काम गरिरहेको बताए । ‘बर्खाको वेला ठुला सडकमा समस्या नआओस् भनेर त्यसमै केन्द्रित छौँ, पहिरो गइहाले पनि तत्काल समाधान गर्ने तयारी तयारी अवस्थामा छौँ,’ उनले भने ।