
आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि आय व्ययसहितको अनुमानित बजेट गाउँ÷नगर सभामा पेस गर्नैपर्ने कानुनी व्यवस्था भए पनि सिरहाको एक स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन ।
जिल्लामा रहेका नौ गाउँपालिका र आठ नगरपालिका गरी १७ स्थानीय तहमध्ये जिल्ला सदरमुकाम समेत रहेको सिरहा नगरपालिकाले नगरसभा गर्न नसक्दा आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको हो । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, ०७४ मा उल्लेखित व्यवस्था बमोजिम १० असारमा गर्नैपर्ने नगरसभा नगर प्रमुख डा. नविनकुमार यादव अस्वस्थ्य रहेकाले आवश्यक तयारी नपुग्दा रोकिएको प्रमुख प्रशासकीय अधिकृत मोहम्मद इद्रिस राइनले बताए ।
‘नगर प्रमुखलाई सञ्चो भएपछि नगर कार्यपालिकाको बैठकले नगरसभाको अर्को मिति तय हुन्छ,’ उनले भने, ‘तर कहिले हुन्छ भन्ने कुरा बैठकले निर्णय गरेपछि मात्र थाहा हुन्छ ।’
कुन स्थानीय तहको बजेट कति ?
सिरहाका नौ गाउँपालिका सबै र आठ नगरमध्ये सिरहाबाहेक सातगरी १७ स्थानीय तहले मौजुदा कानुनी व्यवस्था बमोजिम आगामी आव ०८२/०८३ का लागि आय व्ययसहितको अनुमानित बजेट गाउँ/नगर सभामा पेश गरेका छन् ।
जनसंख्या तथा भूगोलको आधारमा जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तह लहान नगरपालिकाको १६औँ नगरसभामा आगामी आर्थक वर्ष ०८२/०८३ का लागि नीति तथा कार्यक्रमसहित एक अर्ब ६७ करोड ९५ लाख २८ हजार ६ सय एक रुपैयाँ आय–व्ययसहितको बजेट प्रस्तावित गरिएको छ । प्रस्तावित बजेटको आयतर्फ आन्तरिक स्रोततर्फ २५ करोड, नगद अल्यातर्फ ३९ करोड ७७ लाख, संघीय समानीकरण अनुदान २० करोड २५ लाख, चालुतर्फ संघीय सशर्त अनुदान ४० करोड ९९ लाख रुपैयाँ छ ।
गोलबजार नगरपालिकाको १३औं नगरसभामा आ.व. ०८२/०८३ का लागि चालुतर्फ १९ करोड ८४ लाख ८७ हजार र पूँजीगततर्फ २८ करोड ४० लाख दुई हजार खर्च, वित्तीय हस्तान्तरणतर्फ खर्च ३३ करोड ६५ लाख गरी कुल अनुमानित बजेट ८१ करोड ८९ लाख ८९ हजार बजेट प्रस्ताव गरिएको छ । जिल्लाको मिर्चैया, धनगढीमाई, कल्याणपुर, सुखीपुर, कर्जन्हा नगरपालिकाले आगामी अवको आयव्ययको बजेटसहित नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
गाउँपालिकातर्फ अर्नमा गाउँपालिकाको ११औं गाउँसभाले संघ र प्रदेशतर्फको वित्तिय समानिकरण, राजश्व बाँडफाड, सशर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान तथा आन्तरिक राजश्व बाँडफाड तथा आन्तरिक श्रोत गरी ४९ करोड ९६ लाख रुपैयाँको बजेट पेश गरेको छ ।
सखुवानन्कारकट्टी गाउँपालिकाको १६औं गाउँसभामा चालु २६ करोड दुई लाख ८२ हजार एक सय ३२ र पूँजीगत १३ करोड एक लाख ५० हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको प्रमुख प्रशासकीय अधिकृत राजिवकुमार झाले जानकारी दिए ।
औरही गाउँपालिकाको १३ औं गाउँसभामा ४० करोड ८२ लाख नौ हजार १५ रुपैयाँ, बरियारपट्टि गाउँपालिकाको १०औं गाउँसभामा ४५ करोड ६८ लाख ८१ हजार नौ सय १८ रुपैयाँको बजेट प्रस्ताव गरिएको छ ।
विष्णुपुर गाउँपालिकाको ११औं गाउँसभामा चालुतर्फ २० करोड ६२ लाख तथा पुँजीगततर्फ २३ करोड ३२ लाख ५१ हजार दुई सय ५१ रुपैयाँको आयव्यय प्रस्तुत गरिएको छ ।
सिरहाको भगवानपुर, नवराजपुर, लक्ष्मीपुरपतारी र नरहा गाउँपालिकाले पनि आगामी आवको बजेट ल्याएका छन् ।
दलितलाई स्वास्थ्य बिमादेखि निःशुल्क एम्बुलेन्स
जिल्लाका पालिकाहरूले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा दलित, विपन्नलाई स्वास्थ्य बिमादेखि दलितलाई नागरिकता बनाउन लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले ब्यहोर्नेसम्मका कार्यक्रम छन् ।
लहान नगरपालिका
– दलित, सिमान्तकृत, बिपन्न समुदायलाई नगर क्षेत्रभित्र निःशुल्क एम्बुलेन्स तथा शव वाहन सेवा
– दलित समुदायका व्यक्तिको मृत्यु हुँदा पाँच हजार किरिया खर्च व्यवस्था
– सामुदायिक विद्यालयमा एक कक्षा कोठा, एक सिलिङ् फ्यानको व्यवस्था
– उत्कृष्ट दलित विद्यार्थीको उच्चशिक्षाका लागि पूर्ण छात्रबृत्ति
– दलित बस्तीमा निःशुल्क ट्युसन कक्षाको व्यवस्था
– सिंचाईका लागि विद्युत्को बिल नगरले तिरिदिने
औरही गाउँपालिका
– हरेक किसानको खेतमा खानेपानी तथा सिंचाइका लािग कल जडान
– दलित, बिपन्नलाई स्वास्थ्य बीमा
– प्रसूती गराउन जिल्लाका जुनसुकै स्वास्थ्य संस्थासम्म जान निःशुल्क एम्बुलेन्स सेवा
– गरिब, बिपन्नलाई सामाजिक कार्यमा खाद्य बैंकबाट खाद्य सामग्री सहयोग
– साउनदेखि असोजसम्म पालिका क्षेत्रका गाउँपालिकामा घर अभिलेखीकरण गराउँदा लाग्ने दस्तुर सतप्रतिशत छुट
– पाँचवटै वडामा स्वास्थ्य शिविर सञ्चालन
गोलबजार नगरपालिका
– दलितको नागरिकता बनाउन सिफारिशसहित जिल्ला प्रशासन जान आउन, खाना, खाजा, बस भाडा नगरले ब्यहोर्ने
– दलित, विपन्न र असहायलाई निःशुल्क एम्बुलेन्स सेवा
– दलित समुदायका सुत्केरी महिलालाई पाँच हजार रुपैयाँ भत्ता
मिर्चेया नगरपालिका
– आधारभूत तहको विद्यालयमा स्वयंसेवक शिक्षकको व्यवस्था
– मावि तहका विद्यालयमा निःशुल्क केचिङ र ट्युसन कक्षा संचालन
– नगर अस्पतालमा प्रसूति गराउनेलाई थप पोषण आहारको व्यवस्था
– नगर क्षेत्रभित्र निःशुल्क एम्बुलेन्स सेवा
यस्तो छ कानुनी व्यवस्था
अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, ०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ बमोजिम ‘गाउँ कार्यपालिका नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्ने’ उल्लेख छ ।
स्थानीय सरकार संचालन ऐन ०७४ को परिच्छेद ४ को दफा १९ मा सभाको बैठक बस्ने मिति, समय, स्थान र बैठकको कार्यसूचीसहितको सूचना बैठक बस्ने दिनभन्दा कम्तीमा सात दिनअगावै अध्यक्ष वा प्रमुखको निर्देशनमा प्रमुख प्रशाकीय अधिकृतले सभाका सबै सदस्यलाई पठाउनु पर्ने उल्लेख छ ।