
गत १०, ११ र १२ असोजको अविरल वर्षापछि गएको बाढी–पहिरोले क्षतिग्रस्त बनेको काभ्रेपलाञ्चाेककाे बेथानचोक गाउँपालिकाले विपद् पूर्वतयारी तथा व्यवस्थापनका लागि एक वडा एक हेलिप्याड, एक वडा एक पोखरी र संस्कृतिको जगेर्ना गर्न एकवडा एक चौतारी निर्माण कार्य अघि बढाउने भएको छ । संघ तथा प्रदेश सरकारसँगको समन्वयमा यस अवधारणा अघि बढाइने आर्थिक वर्ष ०८२/८३ का लागि सार्वजनिक नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यसैगरी, प्रभावकारी विपद् व्यवस्थापनका लागि जिल्ला सुरक्षा समितिको सहयोगमा आवश्यक तालिम कार्यक्रम सञ्चालन गरी प्रत्येक वडामा स्वयंसेवक ब्यूरो तथा फ्लाइङ स्क्वाड निर्माण गर्ने पनि पालिकाको योजना छ । बस्ती सुरक्षाका लागि गुराँसे पहिरो, गुवाभञ्ज्याङ पहिरो, खड्गीचौर पहिरो, फाइमाराङ पहिरो, डाँडाघर पहिरो, तिलेश्वर मन्दिर पहिरो, पार्थली पहिरो, घिमिरेश्वारा पहिरो नियन्त्रण गर्ने गाउँपालिकाको योजना छ ।
आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले विपद्को एक वर्ष नपुग्दै तीन सय ७२ किलोमिटर सडक मर्मत गरिएको जानकारी दिए । प्रदेश तथा संघ सरकारसँगको समन्वयमा पूर्वाधार निर्माण कार्य थप अगाडि बढाइने उनले बताए । विपद्ले राजश्व संकलनमा कमी ल्याएको र प्रदेश तथा संघीय सरकारबाट प्रतिबद्धताअनुरुप राजश्व बाँडफाँडको रकम तथा समानीकरण अनुदान प्राप्त नभएको हुँदा बेथानचोक सरकार व्यापक बजेट घाटामा रहेको अध्यक्ष अधिकारीले बताए ।
यसैगरी, उपाध्यक्ष तारा राना तिमल्सिनाले आर्थिक वर्ष ०८२/८३ का लागि कुल ६४ करोड ७३ लाख पाँच हजार तीन सय ४४ रुपैयाँको बजेट गाउँसभामा प्रस्तुत गरिन् । सरकारले कृषि र पशुपालनमा सुधार, पर्यटन प्रवद्र्धन र पूर्वाधार निर्माणमा जोड दिनेगरी बजेट ल्याएको छ ।
विदेशबाट फर्केका युवालाई ४ प्रतिशत ब्याजदरमा ऋण
विदेशबाट फर्केका युवालाई ४ प्रतिशत ब्याजदरमा २० लाखसम्म ऋण उपलब्ध गराउने बेथानचोक सरकारको घोषणा छ । यस्तै, कृषि क्षेत्रको आधुनिकीकरण र बजारीकरणमा टेवा दिनेगरी कोशेली घर स्थापना, माटो परीक्षण गरी वैज्ञानिक खेती, रैथाने बाली प्रवद्र्धन र बिउ बैंक बिस्तार गर्नेजस्ता कार्यक्रम ल्याइएका छन् ।
छिमेकी स्थानीय तहहरूसँगको समन्वयमा पूर्वाधार निर्माण कार्यलाई थप अगाडि बढाइने, उज्यालो बेथानचोक अभियानअन्तर्गत सोलार बत्ती जडान गर्नेलगायत कार्यक्रम राखिएको छ ।
पर्यटन प्रवर्द्धनका लागि बेथानचोकलाई हाइकिङ सिटीको रूपमा विकास गर्ने, तीनतले झरना र वैश्णव पार्कको स्तरोन्नति गर्ने, पदमार्गहरूको विकास गर्ने जस्ता कार्यक्रमहरू समावेश छन् । शिक्षा क्षेत्रमा विद्यार्थीको प्रोत्साहनका लागि छात्रवृत्ति, छोरी बुहारीलाई निःशुल्क शिक्षाको व्यवस्थालगायत पुरानै कार्यक्रमले पनि निरन्तरता पाएका छन् । शिक्षकको क्षमता विकास, प्रविधिमैत्री शिक्षण, स्वास्थ्य क्षेत्रमा २४ घण्टा सेवा, विशेषज्ञ स्वास्थ्य शिविर, नसर्ने रोग नियन्त्रणजस्ता कार्यक्रमहरूले पनि निरन्तरता पाएका छन् ।