
सांग्रिला डेभलपमेन्ट बैंकले मुस्ताङको घरपझोङ गाउँपालिका– ३, स्याङ गाउँस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई स्वास्थ्य सामग्री अर्थात् अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा बैंकको जोमसोम शाखाका प्रबन्धक टासी थकालीले स्वास्थ्य सेवा केन्द्रकी अनमी आसमाया परियार तथा वडासदस्य वीरप्रसाद थकालीलगायतलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरे ।
सो अवसरमा शाखा प्रबन्धक थकालीले बैंकले प्रत्येक वर्ष विभिन्न संघ–संस्था र विद्यालयमा स्वास्थ्य तथा शैक्षिक सामग्री तथा छात्रवृत्ति उपलब्ध गराउँदै आएको र यही क्रमलाई आगामी दिनमा पनि जारी राख्ने बताए । स्वास्थ्य सेवा केन्द्रकी अनमी परियारले अक्सिजन कन्सेन्ट्रेटरले विशेष गरी दम र निमोनियाका बिरामीको उपचारमा सहयोग पुग्ने बताइन् ।
उनले स्वास्थ्य संस्थाका लागि अत्यावश्यक रहेको अक्सिजन कन्सेन्ट्रेटर’ उपलब्ध गराएकामा बैंकलाई धन्यवादसमेत दिइन् ।
हस्तान्तरण कार्यक्रममा घरपझोङ गाउँपालिका– ३ का सदस्य थकालीले स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रको आवश्यकतालाई हेरी स्वास्थ्य सामग्री उपलब्ध गराएर नागरिकको स्वास्थ्य उपचारमा सांग्रिला डेभलपमेन्ट बैंकले महत्वपूर्ण योगदान गरेको बताए । बैंकले देशभरका कुल एक सय नौ शाखा कार्यालय र ३० एटिएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।