
बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ७५ करोड चार लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख हरिहर शर्माले सोमबार १७औँ नगरसभामा नगरपालिकाको आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।
नगरपालिकाले सामाजिक विकासतर्फ पाँच करोड ४२ लाख १८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । जैमिनीले बजेटमार्फत छोरी कार्यक्रमलाई निरन्तरता र सुकुम्बासीमुक्त नगरपालिका घोषणा कार्यक्रम सार्वजनिक भएको छ । यस्तै, किसान परिचय-पत्रयुक्त नगरपालिका घोषणा गर्न आठ लाख रुपैयाँ विनियोजन गरेको नगर उपप्रमुख शर्माले जानकारी दिए।
नगरपालिकाले कृषि तथा पशु सेवातर्फ एक करोड ४६ लाख ६२ हजार रुपैयाँ विनियोजना गरेको छ भने मिसन रोजगारी, दिगो रोजगारी र उद्यमशीलता प्रर्वद्धन अभियानलाई आत्मसात गर्दै लघुउद्यम कार्यक्रमका लागि १४ लाख १६ हजार बजेट विनियोजन गरेको छ।
नगरपालिकाले विपन्न नागरिकको निःशुल्क उपचारका लागि स्थापना गरेको जैमिनी स्वास्थ्य उपचार कोष वृद्धि गरेको छ। चालू आर्थिक वर्षको बजेटमार्फत २५ लाख रुपैयाँ जम्मा गरेर प्रारम्भ भएको कोषमा नगरले आगामी आर्थिक वर्षका लागि थप २५ लाख बजेट विनियोजन गरेको हो।
नगरले कोषमा योगदान गर्न चाहने सर्वसाधारणका लागि चालू आर्थिक बर्षबाट कार्यविधि तयार गरेर खुला गर्ने भएको हो । कोषलाई थप प्रभावकारी बनाइने उपप्रमुख शर्माले बताए । उपचार खर्चको अभावमा जैमिनीवासी कसैलाई पनि उपचारबाट वञ्चित नगर्ने गरी कोष बनाउन थालिएको हो।
त्यस्तै, नगरले स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वयंसेविका प्रोत्साहन, स्वास्थ्य संस्थाका संरचना निर्माणदेखि स्वास्थ्य शिविरसम्मका कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षभित्रै नगरलाई बालमैत्री नगर घोषणासमेत गर्ने भएको छ। बालमैत्री नगर तयार गर्न दुई करोड बजेट विनियोजन भएको छ ।
पूर्वाधार विकासतर्फ आठ करोड ८२ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ भने वन वातावरण र भू–संरक्षण तथा विपत् व्यवस्थापनका लागि ६२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको उपप्रमुख शर्माले जानकारी दिए।
नगरपालिकाले सुशासन र संस्थागत विकासतर्फ ३९ लाख रुपैयाँ बजेट विनियोजना गरेको छ भने नगरभित्र कार्यान्वयन हुने विभिन्न अन्तर सम्बन्धित विषयहरूको कार्यान्वयनका लागि २ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको छ । नगरपालिकाले चालू प्रशासनिक खर्चतर्फ ११ करोड ९५ लाख रुपैयाँ विभिन्न खर्च शीर्षकमा खर्च हुने गरी विनियोजन गरेको छ।