
सम्पत्ति शुद्धीकरणको कसुरमा गणेश लामाले सफाइ पाएका छन्। सर्वाेच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले सोमबार उनलाई सफाइ दिने फैसला गरेको हो।
लामालाई विशेष अदालतले दोषी ठहर गरी एक वर्षका जेल साथै जरिवाना गरेको थियो। त्यसविरुद्ध उनले सर्वाेच्चमा पुनरावेदन गरेका थिए। साथै, उनलाई कम सजाय भएको भन्दै सरकारपक्षले पनि सर्वाेच्चमा पुनरावेदन निवेदन दिएको थियो। लामाले दिएको निवेदनमा उल्टी तथा सरकारपक्षले दिएको निवेदनमा पुनरावेदन जिकिर नपुग्ने फैसला सर्वाेच्चको संयुक्त इजलासबाट भएको छ ।
लामाले गुन्डागर्दीबाट करोडौँ कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो। गुन्डागर्दी पृष्ठभूमिका लामा हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। गुन्डागर्दीको आरोपमा उनी पटक–पटक पक्राउ परेका थिए।
५ जेठ २०७० मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामासहित पाँचजनाविरुद्ध गुन्डागर्दीबाट अकुत आर्जन गरेको अभियोगमा मुद्दा चलाएको थियो। लामाविरुद्ध २७ करोड एक लाख रुपैयाँको बिगो दाबी गरिएको थियो। जसमा उच्च अदालतले २४ साउन २०७५ मा फैसला सुनाउँदै उनलाई १ वर्ष कैद र एक करोड ४० लाख ५० हजार जरिवाना र सोबराबरको सम्पत्ति जफतको सजाय सुनाएको थियो।
सम्पत्ति शुद्धीकरणमा सर्वाेच्चबाट पनि दोषी ठहर भएको अवस्थामा उनी उम्मेदवार हुनबाट वञ्चित हुने अवस्था थियो।