
सिराहाको गोलबजार नगरपालिका– १३, दुर्गापुरमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ।
धान रोपाइँका लागि विद्युतीय मोटरबाट सिँचाइ गर्ने क्रममा करेन्ट लागेर स्थानीय करिब ६२ वर्षीय रामप्रीत पण्डितको मृत्यु भएको प्रहरीले जनाएको छ।
विद्युतीय मोटर जडान गरी आइतबार रातिदेखि पानी पटाइरहेका पण्डित सोमबार बिहानसम्म घर नआएपछि उनका छोरा खेतमा पुग्दा मृत अवस्थामा फेला परेको वडाध्यक्ष नन्दकुमार महतोले जानकारी दिए।
घटनाबारे आफूलाई रामप्रीतका छोराले सुनाएको उनले बताए। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। शव परीक्षणका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पताल लगिएको प्रहरीले जनाएको छ।