
म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माण भएको ३७.५ मेगावाट क्षमताको चिमखोला-मंगले-राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ ।
तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्य्राउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो । तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण सफल भएपछि आयोजनाको विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिने बताए । अबको १५ दिनमा परीक्षण सकिने उनले बताए ।
रघुगंगा गाउँपालिका- ८, बन्दीमा बाँध र नजिकै ११० मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडाइको पानी थिग्य्राउने पोखरी निर्माण भएको छ । बाँधबाट पाँच किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगंगा- ७ चिमखोलाको बगरस्थित विद्युत्गृहमा खसाल्न ९५० मिटर पेनस्टक पाइप लाइन बनाइएको आवासीय इन्जिनियर प्रकाश तिमिल्सिनाले बताए ।
विद्युत्गृहबाट सुरुङको आउटलेटको उचाइ १६० मिटर छ । २०७७ मंसिरदेखि निर्माण सुरु भएको आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा र साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालि हो । चार ठाउँबाट सुरुङ खनिएको थियो ।
माछापुच्छ्रे र बिएमइडब्लू नेपाल हाइड्रोमेकानिकल तथा एभरेस्ट हाइड्रो इलेक्ट्रोमेकानिकल ठेकेदार हुन् । विद्युत्गृहबाट रघुगंगा गाउँपालिका- ३, तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह रिसरमा निर्माण भएको स्विचयार्डसम्म १४ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रसारणलाइन निर्माण भएको छ ।
प्रसारणलाइनका ४९ वटा टावर रहेका छन् । आयोजनाबाट उत्पादित विद्युत् २२० केभी क्षमताको दाना-कुश्मा प्रसारणलाइनमा ‘लुप इन, लुप आउट’ (लिलो) माध्यमबाट जोडिने भएको छ । चिमखोला-मंगले-राहुघाटसहित तुदी पावर नै प्रवर्द्धक रहेको ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको लागत १४ अर्ब रुपैयाँ रहेको छ ।
अपर राहुघाट पनि निर्माणको अन्तिम चरणमा छ । चिमखोला-मंगले-राहुघाट राहुघाट बेसिनमा निर्माण सम्पन्न भएको पहिलो जलविद्युत् आयोजना हो । राहुघाट नदीमा ४० मेगावाटको राहुघाट, २१.३ मेगावाटको ठुलोखोला र २२.३ मेगावाटको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा छन् ।