१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
भुवन पाैडेल
Invalid date format o७:४६:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेपालको सार्वजनिक कूटनीति र आगामी कार्यदिशा

नेपालले अब सार्वजनिक कूटनीतिसम्बन्धी रणनीति तय गरी विदेशस्थित नेपाली नियोगमार्फत एकीकृत रूपमा त्यससम्बन्धी गतिविधि सञ्चालन गर्नुपर्छ

Read Time : > 4 मिनेट
भुवन पाैडेल
नयाँ पत्रिका
Invalid date format o७:४६:oo

विश्वका विकसित मुलुक मात्र नभई मध्यम र कम विकसित मुलुकले समेत आज सार्वजनिक कूटनीतिलाई महत्वपूर्ण कूटनीतिक औजारका रूपमा प्रयोग गर्दै आइरहेका छन् । उदाहरणका लागि काठमाडौंस्थित कूटनीतिक नियोग तथा महामहिमहरूको सामाजिक सञ्जालमा रहेको सक्रियता तथा नेपाली कला संस्कृतिप्रतिको विशेष चासो एवं नेपाली भाषाको प्रयोग मज्जाले देख्न र पढ्न पाइन्छ । अर्को रोचक र महत्वपूर्ण पक्ष समय–समयमा नेपाली राष्ट्रिय दैनिकहरूमा समेत उहाँहरूका विचार प्रकाशित भइरहेका हुन्छन् । यी त हामीले दैनिक अनुभव गरेका विषय भए । आज विश्वमा मुलुकहरूले सार्वजनिक कूटनीति तथा नरम शक्तिको प्रयोगलाई विशेष महत्व दिइरहेका छन् ।

सन् १९६४ मा अमेरिकी कूटनीतिज्ञ तथा ‘फ्लेचर स्कुल अफ ल एन्ड डिप्लोम्यासी’का प्राध्यापक इडवाड गुलियनले सर्वप्रथम ‘सार्वजनिक कूटनीति’ भन्ने शब्दावलीको प्रयोग गर्दै यसलाई परिभाषित गर्ने काम गर्नुभयो । सन् ८० को दशकमा अमेरिकाको विदेश मन्त्रालयले यसलाई अमेरिकी विदेश नीतिमा समेत व्यवहारमा लागू गर्‍यो । पछि नरम शक्तिको प्रयोग र महत्व बढ्दै गएपछि सार्वजनिक कूटनीतिले लोकप्रियता हासिल गर्दै जान थाल्यो पनि । हाम्रै सार्क मुलुकका कतिपय मुलुकले नियोगहरूमा सार्वजनिक कूटनीति हेर्ने छुट्टै कूटनीतिज्ञ तोकेका पनि छन् ।

त्यस्तै, यो मामिला हेर्न विदेश मन्त्रालयमा छुट्टै उच्चस्तरीय संयन्त्र पनि छन् । भारतले पछिल्लोपटक जी–ट्वान्टीको बैठकमा मुलुकको प्राचीन कला संस्कृति, पूर्वीय दर्शनलगायत नरम शक्तिलाई भरपूर प्रचार गर्ने काम गरेको थियो । त्यस्तै, अन्तर्राष्ट्रिय रूपमा योगलाई विश्वव्यापी बनाउन र संयुक्त राष्ट्रसंघमार्फत २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गराई यसलाई व्यापक रूपमा मनाउँदै आएको छ ।

प्रभावकारी सार्वजनिक कूटनीतिका कारण आज दक्षिण कोरिया भन्नेबित्तिकै बिटिए, ब्ल्याकपिङक, के पप, फेसन तथा ब्युटी प्रोडक्ट्सका रूपमा संसारभर चिनिन्छ । त्यस्तै, सानो मुलुक कतार आज विश्वको सबैभन्दा ठुलो फुटबल मेला आयोजना गर्ने, युद्व तथा द्वन्द्वरत मुलुकका लागि मध्यस्थ गर्ने, ठुल्ठुला सम्मेलन आयोजना गर्ने र एभिएसन उद्योगजस्तो कतार एयरवेजबाट आफ्नो नरम शक्ति प्रस्तुत गरिरहेको छ ।


विभिन्न देशले सार्वजनिक कूटनीतिमार्फत आफ्ना नरम शक्ति अन्य मुलुकका नागरिकसम्म पु¥याई आफूप्रतिको विश्वास, प्रभाव र दृष्टिकोण सिर्जना गर्न भूमिका निर्वाह गर्न थालेका छन् 
 

मुलुकहरूले सार्वजनिक कूटनीतिमार्फत आफ्ना नरम शक्ति अन्य मुलुकका आमसर्वसाधरणसम्म पुर्‍याई आफ्नो मुलुकप्रतिको विश्वास, प्रभाव र दृष्टिकोण सिर्जना गर्न भूमिका निर्वाह गर्छन् । जेसेफ नाइले अब कडा शक्तिले मात्र अमेरिकाले विश्वमा प्रभुत्व कायम गर्न सक्दैन, सँगसँगै नरम शक्तिको प्रयोगलाई पनि बढाएर लैजानुपर्छ भनेका थिए । जुन कुरालाई नीति–निर्माताले ग्रहण पनि गरे । नेपालको सन्दर्भमा हालका केही महत्वपूर्ण सार्वजनिक कूटनीतिक गतिविधिलाई विशेष गरी यस लेखमा चर्चा गरिएको छ :

क) यदुनाथ खनाल प्रवचन शृंखला : यही २०८२ ज्येष्ठ २९ गते बिहीबार काठमाडौंको होटेल सोल्टीमा परराष्ट्र मन्त्रालयले यदुनाथ खनाल प्रवचन शृंखलाको चौथो संस्करण भव्य रूपमा आयोजना गर्‍यो । नेपालको कूटनीतिक क्षेत्रका मेकियावेली वा चाणक्यसँग तुलना गर्न मिल्ने कूटनीतिज्ञका रूपमा रहनुभएका प्रो. सरदार यदुनाथ खनालका नाममा स्थापित प्रवचन शृंखलालाई संस्थागत गर्दै सन् २०२२ देखि आयोजना गर्न सुरु गरिएको यो परराष्ट्र मन्त्रालयको प्रशंसनीय थालनी हो । यस प्रवचनले नेपालको परराष्ट्र नीतिका पछिल्ला अवसर चुनौती तथा अन्य विविध पक्षबारे सरोकारवालाहरूसँगै बसेर छलफल एवं विषयविज्ञका धारणा ग्रहण गर्ने अवसर प्रदान गरेको छ ।

पहिलो शृंखलामा वक्ताका रूपमा बेलायतमा रहेर प्राध्यापन क्षेत्रमा संलग्न भई विश्वभर चर्चा कमाउनुभएका प्राडा. सूर्यप्रसाद सुवेदी हुनुहुन्थ्यो भने दोस्रो संस्करणमा पूर्वपरराष्ट्रसचिव तथा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिसमेत रहिसक्नुभएका, कूटनीतिक विषयमा निरन्तर कलम चलाइरहनुहुने र हाल सार्वजनिक प्रशासन संघको अध्यक्षको जिम्मेवारीमा रहनुभएका मधुरमण आचार्य हुनुहुन्थ्यो । गत वर्ष आयोजना भएको तेस्रो शृंखलामा आइपुग्दा कार्यक्रमलाई अझै परिष्कृत गर्दै विदेशी वक्ताका रूपमा सि राजमोहनलाई निमन्त्रणा गरिएको थियो । यसर्थ, कार्यक्रममा आउने वक्ताले गर्दा यस कार्यक्रमको महत्वलाई थप उजागर गर्दै लगिरहेको देखिन्छ । 

जेनेभामा रहँदा संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास अड्डाले उक्त संस्थाका संस्थापक महासचिवका नाममा स्थापना गरेको ‘राउल प्रेविश्च’ प्रवचनका दुई शृंखलामा भाग लिने अवसर प्राप्त भएको थियो । जसमा एक शृंखलाका वक्ता हुनुहुन्थ्यो वारबाडोसका प्रधानमन्त्री महामहिम मिया अमोर मोट्टलिई । यसप्रकारका प्रवचन शृंखलामा सम्बन्धित क्षेत्रका लब्धप्रतिष्ठ व्यक्तित्वलाई वक्ताका रूपमा आमन्त्रण गरिन्छ जुन यदुनाथ खनाल प्रवचन शृंखला पनि यसै रफ्तारमा लम्किरहेको कुरा अन्तर्राष्ट्रिय सम्बन्ध र त्यसमा पनि सार्वजनिक कूटनीतिक विषयको विद्यार्थीका रूपमा स्वतः भान भइरहेको छ । 

यस वर्षको प्रवचन शृंखलाको शीर्षक दक्षिण एसियाका सन्दर्भमा ‘नेपाल चीन सम्बन्ध : अवसर, चुनौती र आगामी बाटो’ तय गरिएको थियो । नेपाल र चीनको औपचारिक रूपमा कूटनीतिक सम्बन्धमा स्थापना भएको ७०औँ वर्षगाँठ पुगेकाले पनि नेपाल–चीन सम्बन्धलाई केन्द्रमा राखेर शीर्षक तय गरिएको थियो । नेपाल र चीनबिच सन् १९५५ अक्टोवर १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । अहिले नेपालको सबैभन्दा बढी कूटनीतिक उपस्थिति चीनमा रहेको छ ।

बेइजिङमा नेपाली राजदूतावास र अन्य चार सहर क्रमशः ल्हासा, हङकङ, गोन्जाउ र छेन्दु गरी नेपालका पाँचवटा कूटनीतिक नियोग त चीनमा मात्रै रहेका छन् । जसले नेपाल–चीन सम्बन्ध प्रगाढ र घनिष्ठ बन्दै गएको तथ्यलाई प्रस्ट संकेत गर्छ । यस वर्षको वक्ताका रूपमा रहनुभएका प्रा. जयराज आचार्य र चिनियाँ विदेश मन्त्रालयअन्तर्गत रहेको चिनियाँ अन्तर्राष्ट्रिय अध्ययन संस्थाका निर्देशक डा. याङ छेन्सीले बदलिँदो विश्व परिवेश, बढ्दो क्षेत्रीय युद्धबिच नेपाल–चीन सम्बन्धका विविध पक्षमा धारणा राख्नुभएको तथा चीनको अभूतपूर्व विकास र समृद्धिबाट छिमेकी मुलुक नेपालले पनि यथेष्ट लाभ लिनुपर्नेमा जोड दिइएको थियो ।

हुन पनि विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको चीनको विकास र समृद्धिबाट निकटछिमेकी नेपालले आशातीत लाभ लिन नसकेकोमा दुई मत छैन । हालका दिनमा चिनियाँ वक्ताले व्यक्त गरेझैँ जलवायु परिवर्तन, आर्टिफिसियल इन्टेलिजेन्स तथा गैरपरम्परागत सुरक्षा चुनौती बढ्दै गएको छ, जुन एक मुलुकको मात्र प्रयासमा नियन्त्रण गर्न सकिने विषय होइन र यसका लागि विश्वव्यापी सहकार्यको आवश्यकता रहन्छ ।

विशेष गरी सन् १९९० पछि शीतयुद्वको अन्त्य र शोभियत संघको विघटनले विश्व व्यवस्थामा एकपक्षीय रूपमा पश्चिमा मुलुकको आधिपत्य रहेकामा पछिल्ला वर्षमा नयाँ शक्तिराष्ट्रको उदय तथा धेरै मुलुक मध्यम आयमा स्तरोन्नति भएसँगै बहुध्रुवीय विश्व व्यवस्थाका लागि कसरत भइनैरहेका छन्, जुन कुरालाई चिनियाँ वक्ताले प्रस्ट रूपमा चीन बहुधुवीय पक्षमा रहेको कुरालाई बताएबाट पनि बुझिन्छ । 

यस प्रवचन शृंखला नेपालको विदेशी नीतिसम्बन्धी मामिलाबारे छलफल गर्ने ‘भाइब्रेट फोरम’का रूपमा रहेको र मन्त्रालयले उदाहरणीय कार्यक्रमका रूपमा यसलाई अगाडि बढाइरहेको कुरा समापन मन्तव्यमा माननीय परराष्ट्र मन्त्रीज्यूले बताउनुभएबाटै यो प्रवचन नेपालको सार्वजनिक कूटनीतिको एक महत्वपूर्ण कार्यक्रम हो भन्ने स्पष्ट हुन्छ ।

ख) सगरमाथा संवादको पहिलो संस्करण :यसैगरी, यही १६ देखि १८ मे २०२५ मा काठमाडौंमा सगरमाथा संवादको पहिलो शृंखला सम्पन्न भयो । सो कार्यक्रममा १७५ विदेशी पाहुनासहित १२ मुलुकबाट उच्च तहको प्रतिनिधमण्डल सहभागी भई २५ बुँदे ‘सगरमाथा कल फर एक्सन’ जारी गर्दै पहिलो संस्करणको हिसाबले पनि भव्य रूपमा सम्पन्न भएको अर्को महत्वपूर्ण सार्वजनिक कूटनीतिक कार्यक्रम नै थियो । यसले नेपाल र यहाँको जलवायु परिर्वतनको असरलाई विश्वसामु पुर्‍याउन थप योगदान गरेकोमा दुई मत छैन । त्यसैले, आगामी दिनमा पनि यस संवादलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्छ ।

ग) पहिलो कूटनीतिक कप फुटसल प्रतियोगिता आयोजना :  यसै क्रममा परराष्ट्र मन्त्रालयद्वारा मे ३० र जुन १, २०२५ मा काठमाडौंमा पहिलो कूटनीतिक कप फुटसल आयोजना गरेको र उक्त फूटसल प्रतियोगितामा परराष्ट्र मन्त्रालयसहित काठमाडौंमा रहेका कूटनीतिक नियोगहरूबाट १३ समूह सहभागी भएको विभिन्न सञ्चारमाध्यम तथा परराष्ट्र मन्त्रालयको आधिकारिक सोसल मिडिया एकाउन्टबाट जानकारी गराइएको थियो । कूटनीतिमा ‘खेलकुद कूटनीति’को पनि ठुलो महत्व हुन्छ । अहिलेको विश्वमा खेलकुदलाई पनि सार्वजनिक कूटनीतिको एक महत्वपूर्ण पाटोकै रूपमा लिइन्छ । यसप्रकारका कार्यक्रम नेपालले आयोजना गर्दा नेपालको नरम शक्तिको थप प्रवद्र्धन हुन्छ । किनकि, यी कार्यक्रम आफैँमा सार्वजनिक कूटनीतिका हिस्सा पनि हुन् ।

 घ) सार्वजनिक कूटनीतिका नीतिगत तथा संस्थागत प्रबन्ध र आगामी कार्यदिशा : नेपाल सरकारमातहतको नीति अनुसन्धान प्रतिष्ठानले सन् २०२२ को नोभेम्बरमा नेपालका सन्दर्भमा सार्वजनिक कूटनीतिको प्रभावकारी प्रयोग शीर्षकमा एक अनुसन्धान प्रतिवेदन प्रकाशित गरेको थियो । सो प्रतिवेदनमा पनि नेपालको सार्वजनिक कूटनीतिको विगतदेखि वर्तमानबारे विस्तृत चर्चा गरिएको छ । त्यस्तै, नीतिगत रूपमा पनि नेपालको परराष्ट्र नीति २०२० ले सार्वजनिक कूटनीतिलाई विदेश नीतिको एउटा औजारका रूपमा परिभाषित गरिसकेको अवस्था छ ।

ढिलै भए पनि नेपालले सार्वजनिक कूटनीतिको महत्वलाई हृदयंगम गरी परराष्ट्र मन्त्रालयको पछिल्लो संगठन संरचनाको पुनरावलोकन गर्दा सार्वजनिक कूटनीतिक मामिला हेर्ने छुट्टै महाशाखा स्थापना गरेको छ । यसले आगामी दिनमा सार्वजनिक कूटनीतिकेन्द्रित कार्यक्रम सञ्चालन गर्न थप सहज हुने वातावरण सिर्जना भएको छ । अब ढिला नगरी सार्वजनिक कूटनीतिसम्बन्धी रणनीति तय गरी सोहीबमोजिम एकीकृत रूपमा विदेशस्थित नेपाली नियोगले सार्वजनिक कूटनीतिसम्बन्धी गतिविधि सञ्चालन गर्न जरुरी छ ।

(लेखक काठमाडौंस्थित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा कार्यरत छन्)