
पूर्वपदाधिकारीलाई पुरानै विवरण दिनुमा कर्मचारीबाट प्रक्रियागत गल्ती भएको स्विकार्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी फेरबदल अभिलेख अद्यावधिक गर्ने प्रतिबद्धता जनाएको छ ।आइतबार रास्वपा नेताहरूसँगको भेटमा आयोग पदाधिकारीले प्रक्रियागत कमजोरी स्विकार्दै अभिलेख अद्यावधिक गर्ने प्रतिबद्धता जनाएका हुन् ।
महामन्त्री कवीन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र केही केन्द्रीय सदस्यसहितको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्तहरूसँग भेट गरेको थियो । रास्वपा प्रवक्ता मनीष झाका अनुसार सो भेटमा आयोगपदाधिकारीले विवरण अद्यावधिकमा फरक पर्न गएको र त्यसलाई सच्याउने प्रतिबद्धता जनाएका थिए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले कर्मचारीबाट प्रक्रियागत त्रुटि भएको र नियमअनुसार विवरण अद्यावधिक गरिने बताए ।
‘आयोगले एउटा काम भन्छ, उनीहरू (कर्मचारी)ले अर्काे गर्छन् । प्रक्रियामा समन्वयको अभाव देखियो । आवश्यक कदम चाल्छौँ,’ उनले भने, ‘रास्वपाका पदाधिकारीसँग आयोगमा भेट भएको छ । नियमअनुसार क्रमशः अद्यावधिक गर्छौँ ।’ रास्वपा प्रवक्ता झाले राजनीतिक दलहरूको समन्वय र सहजीकरणका लागि स्थापित संवैधानिक आयोग आफैँ नियमअनुसार नचलेको र दललाई दुःख दिने काम गरेको बताए । आफूहरूले पत्रबारे बुझ्दा आयुक्तहरूले आफूहरूको जानकारीविना पत्र काटिएको जवाफ दिएको उनले बताए ।
झाका अनुसार आयोगले अद्यावधिकको काम थालेको जानकारी दिएको छ । ‘उहाँहरूले हामीले मुकुल ढकाल नै महामन्त्री हो भनेर भनेकै छैन, अद्यावधिक नभएको अवस्थामा उहाँ नै रहेको देखिन्छ पो भनेको हो भन्नुभयो,’ झाले भने, ‘त्यसो भए अद्यावधिक गर्नुस् भनेपछि हिजो भएको निर्णयअनुसार अद्यावधिकको प्रक्रिया थाल्नुभएको छ । आयोगले स्पष्ट पार्छ भनेर प्रतिबद्धता जनाउनुभएको छ ।’
४ असारमा आयोगले पूर्वमहामन्त्री मुकुल ढकाललाई २० चैत ०८० पछि रास्वपाको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर नभएको पत्र दिएको थियो । उक्त पत्रको आधारमा ढकालले आफू हाल पनि रास्वपाको महामन्त्रीकै भूमिकामा रहेको दाबी गरेका थिए ।
जबकि रास्वपा केन्द्रीय समितिले २५ असार ०८१ मा ढकाललाई महामन्त्री पदबाट हटाउँदै १७ साउनमा निर्वाचन आयोगमा पदाधिकारी फेरबदलको अभिलेख अद्यावधिक गर्न निवेदन दिएको थियो । एक वर्षअगाडि दिएको निवेदनका सम्बन्धमा कुनै कारबाही नगरी आयोगले ढकाललाई पत्र दिएपछि प्रश्न उठेको थियो ।
आफू नियमावलीअनुसार नचल्ने र मन लागेको वेला दललाई पुर्जी काट्ने आयोगको काम ठिक नभएको झाको भनाइ छ । ‘२५ असार ०८१ मा केन्द्रीय समितिले मुकुल ढकाललाई बर्खास्त गरेपछि साउन १७ गते सबै डकुमेन्ट बुझायौँ । डकुमेन्ट पूर्ण थियो भने उसले किन अद्यावधिक गरेन ? अपूर्ण थियो भने ३० दिनभित्र जानकारी किन दिएन ?’ उनले प्रश्न गरे, ‘३० दिनभित्र सूचना नदिएर ११ महिनापछि दिनुको अर्थ के हो ? नियमावलीअनुसार आफू नहिँड्ने, मन लागेको वेला दललाई पुर्जी काट्ने ?’
यस्तै, आइतबार नै रास्वपाले ७ असारमा केन्द्रीय समितिबाट भएको सांगठनिक हेरफेरको निर्णय पनि आयोगमा बुझाएको छ । शनिबार रास्वपा केन्द्रीय समितिले कार्यवाहक जिम्मेवारीमा रहेका कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनीष झालाई प्रवक्ता मनोनीत गरेको थियो ।
बैठकले केही विभागमा संयोजकको जिम्मेवारी हेरफेर गरेको थियो । पदाधिकारी हेरफेरको निर्णयबारे आइतबार अद्यावधिकका लागि आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखामा जानकारी गराएको प्रवक्ता झाले बताए ।
प्रक्रियामा समन्वयको अभाव देखियो, नियमअनुसार क्रमशः अद्यावधिक गर्छौँ
रामप्रसाद भण्डारी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
आयोगले एउटा काम भन्छ, उनीहरू (कर्मचारी)ले अर्काे गर्छन् । प्रक्रियामा समन्वयको अभाव देखियो । आवश्यक कदम चाल्छौँ । रास्वपाका पदाधिकारीसँग आयोगमा भेट भएको छ । नियमअनुसार क्रमशः अद्यावधिक गर्छौँ ।
आयोगका पदाधिकारीले अद्यावधिकको प्रक्रिया थाल्ने प्रतिबद्धता जनाउनुभएको छ
मनीष झा, प्रवक्ता, रास्वपा
उहाँहरूले ‘हामीले मुकुल ढकाल
नै महामन्त्री हो भनेर भनेकै छैन, अद्यावधिक नभएको अवस्थामा उहाँ नै रहेको देखिन्छ पो भनेको हो’ भन्नुभयो । त्यसो भए अद्यावधिक गर्नुस् भनेपछि हिजो भएको निर्णयअनुसार अद्यावधिकको प्रक्रिया थाल्ने प्रतिबद्धता जनाउनुभएको छ । यसबारे आयोगले स्पष्ट पार्छ पनि भन्नुभएको छ ।