१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 22 June, 2025
Invalid date format २१:३३:oo
Read Time : < 1 मिनेट
समाचार

लगानीअनुसारको प्रतिफल नआएपछि बन्द हुँदै सल्यानका उद्योग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:३३:oo

व्यवसाय प्रवर्द्धन हुन नसकेपछि सल्यानका उद्योग व्यवसाय धमाधम बन्द हुन थालेका छन् ।  दर्ता भई सञ्चालनमा रहेका उद्योग व्यवसाय बन्द गर्नेको संख्या बढेको सरकारी तथ्यांकले देखाएको छ ।

उद्योग व्यवसाय चल्न नसकेपछि, व्यवसायीहरूले दर्ता गरेका उद्योगको लगत कट्टा गर्न थालेका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०८१/८२ को हालसम्म ४० वटा उद्योग बन्द भइसकेका छन् । 

स्थानीय उत्पादनलाई प्राथमिकता नदिँदा साना तथा घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेको कालिका इन्जिनियरिङ कृषि अनुसन्धान केन्द्रका सञ्चालक घनश्याम भण्डारीले बताए । वाह्य जिल्लाबाट माग भए पनि जिल्लाकै स्थानीय तहहरूले वास्ता नगर्ने गरेको उनको भनाइ छ । 

कतिपय उद्योग अनुदान पाउने आशामा दर्ता हुने गरेको तर अनुदान प्राप्त नभएमा वा एकपटक अनुदान पाएपश्चात उद्योग बन्द गर्ने प्रवृति, प्राकृतिक तथा भवितव्यका कारण उद्योगमा क्षति हुन पुगेमा पुनः सञ्चालन गर्न आर्थिक अभाव हुँदा उद्योग बन्द हुने अवस्थामा पुगेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्याललाल खरालले बताए । 

यस्तै, स्थानीयस्तरमा कच्चा पदार्थ नपाइने, बढ्दो वैदेशिक रोजगारमा जाने, वनजन्य उद्योग सञ्चालनका लागि कानुनी कठिनाइ र उत्पादित वस्तुले बाहिरी जिल्लाबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि उद्योग बन्दका कारण भएको उनको भनाइ छ । 

जिल्लामा हाल तीन हजार ६ सय ६४ उद्योग दर्ता छन् । जसमा हालसम्म पाँच सयभन्दा बढी उद्योग बन्द भइसकेका छन्। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जिल्लामा सिर्जना गरेको रोजगारीको संख्या १२ हजार ७०६ रहेको जनाएको छ । यद्यपि, जिल्लामा आर्थिक वर्ष ०७९/८० देखि अनुदान कार्यक्रम बन्द भएको कारण रोजगारी सिर्जनामा समस्या देखा परेको छ।