१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ८ आइतबार
  • Sunday, 22 June, 2025
दीपक भट्ट रामेछाप
२o८२ असार ८ आइतबार १९:४५:oo
Read Time : > 1 मिनेट
फिचर

खोइ पुल भत्क्यो ! तस्बिरसहित

निर्माणाधीन अवस्थामै दुईपटक भत्कियो तामाकोशी पुल 

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८२ असार ८ आइतबार १९:४५:oo

रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरको कुनौरी र वडा नम्बर ७, भटौलीको ढिकुरी जोड्ने पक्की पुल निर्माणकै क्रममा भाँचिएर नदीमा खसेको छ। पुलको बिच भाग भाँचिएर आइतबार बिहान नदीमा खसेको हो। योसहित पुल दोस्रोपटक भाँचिएको हो ।
 
व्यवसायीले पुल निर्माणको क्रममा परीक्षण नै नगरी नदीकै पागो वालुवा, खिया लागेको रड कमसल सिमेन्ट प्रयोग गरेको आरोप छ । पुलको स्ल्याब ढलानकै क्रममा दुईपटक भाँचिएको स्थानीयको आरोप छ । चारवटा स्पान रहेको सो पुलको लम्वाई दुई सय ३० मिटर र ११ मिटर चौडाई छ । जसमध्ये बिच भागको एउटा स्पान भाँचिएर नदीमा खसेको हो । 

उक्त पुल संघीय सरकारको सडक विभागअन्तर्गत पुल महाशाखाले निर्माण गरेको हो । पुल निर्माणको टेण्डर कालिका–कल्पवृक्ष जेभीले ०७८ मा कुल भ्याट र पिएसबाहेक २२ करोड ५५ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ०८२ असार मसान्तसम्म पुल निर्माण सक्ने भने पनि व्यवसायीले साउन मसान्तसम्ममा पुलको काम सकेर सवारीसाधन खुल्ला गर्ने बताउँदै आएका थिए । 

निर्माण व्यवसायीले पुल निर्माणमा कमसल सामाग्री प्रयोग गरेको भन्दै स्थानीयले विरोध गरेपछि बागमती प्रदेशका सांसद आनन्दकुमार श्रेष्ठ, जिल्ला समन्वय समितिकी प्रमुख चिना कार्की, मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, सम्बन्धित वडा ६ र ७ का वडा अध्यक्षहरूले स्थलगत अनुगमन गरेका थिए । अनुगमनपछि उनीहरूले पुल निर्माण गुणस्तरीय रहेको प्रतिक्रिया दिएका थिए । 

प्रदेश सांसददेखि जिल्ला समन्वय समितिका प्रमुखसहित नगर प्रमुखले अनुगमन गरेर फर्किएको एक साता नपुग्दै उक्त पुल २६ वैशाखमा भाँचिएको थियो । निमार्णाधीन पुल भाँचिएपछि व्यवसायीदेखि अनुगमनमा जानेहरूलाई समेत नागरिकले कतै कमिसनमा  बिकेका हुन् ? की भन्ने आरोप लगाएका छन् । भाँचिएको पुल निर्माण व्यवसायीले विज्ञ टोली झिकाएर अध्ययन गरेपछि पुनः मर्मत सम्भार गर्दैगर्दा दोस्रोपटक पनि भाँचिएको हो । 

निर्माणाधीन सुनकोशी नदीको पुल भाँचिएपछि भलुवाजोर र भटौलीका नागरिकले अब पक्की पुल पाउन वर्षौ पर्खनुपर्ने भएको छ । पुल निर्माणपछि सहजै यात्रा गर्ने आशामा बसेका ती क्षेत्रका नागरिक अब पुल कहिले बन्ला भन्ने चिन्ता थपिएको बताउँछन । मन्थली नगरपालिका–६ भलुवाजोरका सीता माझीले भनिन्– पुल बनेपछि सडकको छेउमा केही व्यापार गरौँला भन्ने थियो त्यो पूरा भएन् । 

पुल सञ्चालनमा आएपछि सदरमुकाम मन्थलीबाट खाँडादेवी गाउँपालिकाको सित्खा हुँदै बिपी राजमार्गमा जोडिएर राजधानीसम्म जान दूरी छोटो पर्छ । यो पुल निर्माण भएसँगै सदरमुकाम मन्थलीबाट जिल्लाका पश्चिमी क्षेत्रमा रहेका खाँडादेवी, सुनापती र दोरम्बा शैलुङ गाउँपालिकामा आवतजावत गर्न सहज हुनेछ । पछिल्लो समय मध्यपहाडी लोकमार्ग पनि यही पुल हुँदै पूर्वतर्फको सडक सञ्जाल जोडिने छ । 

पुल भाँचिएपछि निर्माण व्यवसायी सम्पर्कविहीन अवस्थामा छन् ।

 

 

 

 

 

छुटाउनुभयो की ?