
अछाममा बलात्कृत दृष्टिविहीन महिलाले बच्चा जन्माएकी छन्। २१ वर्षीया महिलाले जिल्ला अस्पताल मंगलसेनमा आइतबार छोरा जन्माएकी हुन्।
अस्पताल स्रोतका अनुसार नर्मल डेलिभरीबाट उनले शिशु जन्माएको र शिशुको स्वास्थ्य अवस्था ठिक रहेको बताइएको छ । ती महिलालाई बलात्कार गर्ने ५१ वर्षीय चेतमान रोकाया भने पुर्पक्षका लागि जेलमा छन् । रामारोशन गाउँपालिका–५ का रोकायाले मंगलसेनस्थित पालेवन सामुदायिक वनमा गत २१ असोजमा जबर्जस्ती करणी गरेका थिए।
गर्भवती भएको थाहा पाएपछि पीडितपक्षको तर्फबाट गत २६ चैतमा जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी परेको थियो। सुरक्षित आवासगृहको संरक्षणमा रहेकी दृष्टिविहीन महिलाले आइतबार बच्चा जन्माएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए। ‘बच्चा जन्मिएको खबर छ,’ उनले भने, ‘अस्पतालसँग यसबारे समन्वय भइरहेको छ ।’ उनलाई बलात्कार गर्ने रोकाया विवाहित हुन्। उनका ६ छोराछोरी तथा नातिनातिना छन्।
उनीसमेत अपांगता ( दायाँ खुट्टामा समस्या ) भएका व्यक्ति हुन्। मंगलसेन नगरपालिका–१३ की पीडित महिला सदरमुकामस्थित एक विद्यालयबाट १० कक्षा उत्तीर्ण गरेपश्चत मंगलसेन बजारमा बस्दै आएकी थिइन्। जिल्ला अपांग संघको बैठकमार्फत उनीहरूबिच चिनजान भएको थियो।
त्यसपछि उनीहरूबिच निरन्तर कुराकानी हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। उक्त दिन रोकायाले महिलालाई घुम्न जाऊँ भनेर सदरमुकाम मंगलसेनस्थित पालेवन सामुदायिक वनभित्र लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।