१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ८ आइतबार
  • Sunday, 22 June, 2025
गणेश लम्साल विराटनगर
२o८२ असार ८ आइतबार ११:२६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुनसरी–मोरङ औद्योगिक करिडोरमा अघोषित लोडसेडिङ

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ असार ८ आइतबार ११:२६:oo

हिउँदमा विद्युत् अभाव र वर्षायाममा ट्रिपिङको मारले ठुला उद्योग बन्द हुने अवस्थामा

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरूले भोग्दै आएको अघोषित लोडसेडिङको समस्या अझै अन्त्य नहुँदा उद्योगीहरू निराश बन्न थालेका छन् । अझै पनि औद्योगिक करिडोरका दुई सय उद्योगले हिउँदमा अभावको समस्या र वर्षायाममा ट्रिपिङको मार खेपिरहेका छन् । उद्योगीले नेपाल विद्युत् प्राधिकरणसँग पटक–पटक हिउँदमा भोगेको लोडसेडिङ र गर्मीमा हुने ट्रिपिड समस्या अन्त्य गर्न आग्रह गरिसकेका छन् । तर, प्राधिकरणले आश्वासन दिए पनि निरन्तरको विद्युत् ट्रिपिङले औद्योगिक उत्पादनमा प्रतिकूल प्रभाव पारेपछि थप संवेदनशील बन्न उद्योगीले प्राधिकरणलाई पुनः आग्रह गरेका छन् ।

प्राधिकरणले वर्षायाम सुरु भएसँगै विद्युत् उत्पादन बढेर निरन्तर आपूर्ति हुने आश्वासन दिएको थियो । तर, समस्या अझै ज्युँका त्युँ छ । जसका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरू मारमा परेका हुन् ।

नेपालको विद्युत् भारत तथा बंगलादेश निर्यात गर्न थालेको, तर आफ्नै देशका उद्योगहरूले अघोषित लोडसेडिङ खेप्नुपरेको उद्योग संगठनले जनाएको छ । संगठनका अध्यक्ष नन्दकिशोर राठीका अनुसार अहिले दैनिक ट्रिपिङले उद्योगको मेसिन बिग्रेका छन् ।

उद्योग पूरा समय चल्न नपाउँदा कच्चा पदार्थ खेर जानुका साथै श्रमिक पनि कामविहीन बनेका छन् । यस्तो अवस्थामा जेनेरेटर चलाएर उत्पादन गर्दा लागत वृद्धि भइरहेको अध्यक्ष राठीले बताए । ‘हामीले पटक–पटक भइरहेको लोडसेडिङ र विद्युत् ट्रिपिङ समस्याबारे प्राधिकरणलाई जानकारी गराइसकेका छौँ,’ उनले भने, ‘तर, वर्षा लागेपछि नियमित आपूर्ति हुने आश्वासन दिइए पनि अझै समस्या समाधान भएको छैन । यसले उद्योगीमा झन् निराशा बढाएको छ । समस्या सुनुवाइ नभए उद्योग बन्द हुने अवस्था छ ।’ 

संगठनले सबै पीडित उद्योगीको तर्फबाट समस्या राख्दै हरेक वर्ष सुक्खायाममा लोडसेडिङ हुँदा उद्योग–व्यवसायले भोग्नुपरेको आर्थिक क्षतिको तथ्यांकसहित प्राधिकरणको ध्यानाकर्षण गराउँदै आएको छ । यद्यपि, नियामक निकायबाट समाधानको ठोस योजना नआउँदा उद्योग नै बन्द हुने समस्याले पिरोलेको छ । ‘लोडसेडिङ र ट्रिपिङ समस्याले उद्योगमा भइरहेको क्षतिको जिम्मेवारी कसले लिने ?’ अध्यक्ष राठीले प्रश्न गरे । साथै, यी समस्याले सुनसरी–मोरङका दुई सय ठुला उद्योगले ठुलो आर्थिक नोक्सानी व्यहोर्नुपरिरहेको उद्योग संगठन मोरङको भनाइ छ । 

८ जेठमा विराटनगर आएका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दैनिक १० घण्टासम्मको लोडसेडिङ र ट्रिपिङले सुनसरी–मोरङको औद्योगिक करिडोरका उद्योगले उत्पादन कटौती गर्नुपरेको जानकारी गराएका थिए । निर्देशक शाक्यले प्राविधिक कारणले नियमित बिजुली आपूर्तिमा समस्या भएको, तर वर्षायाम लाग्नेबित्तिकै नियमित आपूर्ति हुने आश्वासन दिएका थिए । तर, अहिलेसम्म यसको समाधान हुन सकेको छैन ।

छुटाउनुभयो की ?