१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 22 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:५४:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको हस्ताक्षर अभियान

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:५४:oo

संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा सभापति रवि लामिछानेविरुद्ध भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर अभियान सुरु गरेको छ । स्थापना दिवसको दिन बिहानै बसेको केन्द्रीय समिति बैठकले सभापति रविमाथिको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान चलाउने निर्णय लिएको थियो । सोहीअनुसार पार्टीले माइतीघर मण्डलाबाट दिउँसो औपचारिक रूपमा अभियान सुरु गरेको हो । 

पार्टीका सहकोषाध्यक्ष तथा अभियान संयोजक दीपक बोहराका अनुसार देश–विदेशमा रहेका नेपालीले अभियानमा अनलाइन वा अन्य माध्यमबाट जोडिएर समर्थन जनाउन सक्नेछन् । सभापति रविले ‘न्याय’ नपाएसम्म अभियान चलाउने रास्वपाको योजना छ । अभियानको प्रारम्भमा कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार र सांसद सोविता गौतमले सम्बोधन गरेका थिए । कार्यक्रममा भैरहवा कारागारमा रहेका सभापति लामिछानेले पठाएको सन्देश पनि वाचन गरिएको थियो ।

सभापति रवि जेलमा र संसदीय दल भिजिट भिसा दुरुपयोग र मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति मागेर सदनमा आन्दोलनमा रहेका वेला शनिबार रास्वपाले माइतीघरमा कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो । रास्वपा ७ असार ०७९ मा स्थापना भएको थियो । सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा सभापति रवि हाल भैरहवा कारागार छन ।

स्थापना दिवसका अवसरमा कार्यवाहक सभापति अर्यालले पार्टी सभापति रविविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गर्दै अनेकौँ मुद्दा लगाइएको आरोप लगाए । उनले परिवर्तनका पक्षधर शक्तिलाई कमजोर पार्न नियोजित रूपमा रविविरुद्ध षड्यन्त्र गरिएको दाबी गरे । ‘सभापतिको प्रत्यक्ष अनुपस्थितिले अभिभावकीय स्थान रिक्त भए पनि राज्यको अनुदार चरित्रले हामीलाई अझ एकताबद्ध र दृढ बनाएको छ,’ अर्यालले भने, ‘हामी कानुनी लडाइँलाई सशक्त बनाउँदै जनस्तरबाट पनि षड्यन्त्रको प्रतिवाद गरिरहेका छौँ ।’

अर्यालले पार्टी अभियानकै रूपमा देशभर संगठन विस्तार र सुदृढीकरणमा क्रियाशील रहेको बताए । उनले अनुशासित र जीवन्त संगठन निर्माणमार्फत आमनागरिकको आवाज सशक्त बनाउने उद्देश्यप्रति प्रतिबद्ध रहेको जनाए ।

उनले दशकौँदेखि देशमा जरा गाडेको दलतान्त्रिक सिन्डिकेटले सिर्जना गरेका विकृति र विसंगतिको भन्डाफोर गर्न रास्वपा अभियानमा रहेको बताए । ‘महँगी, बेरोजगारी, स्वास्थ्य र शिक्षा क्षेत्रका समस्यालगायत जनजीविकाका सवालमा आउँदा दिनमा हामी अझ प्रखर रूपमा प्रस्तुत हुनेछौँ,’ अर्यालले भने, ‘सडकदेखि सदनसम्म जनताको आवाज बुलन्द बनाइरहनेछौँ ।’

उपसभापति स्वर्णिम वाग्लेले आफ्नो अस्तित्व जोखिममा पर्ने देखेपछि ठुला दलले रविविरुद्ध राजनीतिक प्रतिशोध साँधेको दाबी गरे । ‘रास्वपाको संसद्मा जुन गरिमामय उपस्थिति छ, त्यसबाट आत्तिएर विपक्षीले प्रहार गरेका छन् । राजनीतिमा आउनुअगाडि रविजी कहीँ चुक्नुभयो कि भन्ने खालको शंका सुरुसुरुमा थिए । तर, आज घामजस्तै छर्लंग भएको छ । उहाँमाथि विशुद्ध राजनीतिक प्रतिशोध साँधेर दुःख दिने काम भएको छ । जे भए पनि यो अभियान रोकिनेवाला छैन । झन् गतिका साथ अगाडि बढ्छ ।’ वाग्लेका अनुसार रविको नेतृत्वमा रहेको रास्वपाको गति र वेग बत्तिएर कहाँकहाँ पुग्ने हो र त्यसले ०८४ मा त बडार्ने भो भनेर आत्तिएर विपक्षीले प्रतिशोध साँधेका हुन् । 

यस्तै, सांसद सोविता गौतमले रविविरुद्ध राज्यले लिएको प्रतिशोधको अनुभवले पार्टीलाई अगाडि लैजान दिशानिर्देश गर्ने बताइन् । ‘राज्यको ज्यादति र पीडाबाट नेपालको राजनीति यो हदसम्म जान्छ भनेर देख्ने अवसर पाएका छौँ । यो अनुभव मिठो छैन । हामीले भोगेका अनुभव र सिकेका कुराहरूले आगामी दिनमा पार्टीलाई अगाडि लैजान मार्गदर्शन गर्नेछ,’ उनले भनिन् । 

केन्द्रीय समिति बैठकले कार्यवाहक पदहरू हटाउँदै कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनीष झालाई प्रवक्ताको जिम्मेवारी दिएको छ । त्यसैगरी, बैठकले पार्टीका विभिन्न विभागको समीक्षा गर्दै केही विभागीय नेतृत्वमा हेरफेरसमेत गरेको छ । पार्टीका अनुसार तीन वर्षको गतिविधिको समीक्षा गरी भावी रणनीति तय गर्ने काम पनि बैठकले गरेको छ । 

पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग
स्थापना दिवसका अवसरमा चियापान र भोज–भतेर नगरेको रास्वपाले १५ चैतमा तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई तीन लाख रुपैयाँ मानवीय सहयोग गरेको छ । सहयोग रकमको चेक हस्तान्तरण गर्न महामन्त्री कवीन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष व्यवस्थापन विभागका सदस्य जगदीश खरेल रजकको घर पुगेका थिए ।

रास्वपाको अवरोध बेवास्ता गर्दै सभामुखले चलाए सदन

रास्वपाले आफ्नो स्थापना दिवस भएकाले शनिबार सदन नराख्न सभामुख देवराज घिमिरेलाई अनुरोध गरेको थियो, तर सभामुखले सुनेनन् । त्यति मात्र होइन रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरोध गर्दा पनि सभामुखले शनिबार पनि पेलेरै बैठक चलाए । १० वटा मन्त्रालयको विनियोजन शीर्षकको छलफल सकाउन घिमिरेले अबेर साँझसम्म बैठक चलाए । 

बिहान पौने १२ बजे सुरु भएको प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपा सांसदले उठेर अवरोध गरेका थिए । सभामुख घिमिरेले रास्वपाकी सुमना श्रेष्ठलाई समय दिए । श्रेष्ठले भिजिट भिसामा युवाहरू रसियामा मारिरहेको, खाडीमा अलपत्र परेको, ठगिएर उद्धार हुन नसकेको परिस्थितिमा सरकार कसका लागि भनेर प्रश्न गरिन् । उनले छानबिन समिति नबनेसम्म आन्दोलन जारी रहने बताइन् ।

त्यसपछि सभामुखले राप्रपाकी रोशन कार्कीलाई समय दिए । कार्कीले भिजिट भिसामा धेरै पहिलेदेखि नेपाली दाजुभाइ, दिदीबहिनीहरू बेचिएको, ५० लाख दैनिक उठाइएको भन्दै उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरिन् । गृहमन्त्रीसँग नैतिकता छ भने राजीनामा गर्नुपर्ने उनको भनाइ थियो । 

त्यसपछि सभामुख घिमिरेले बैठकलाई कार्यसूचीमा लगे । रास्वपाका सांसदले वेल घेराउ गरेर नाराबाजी गरे भने राप्रपाले बैठक बहिष्कार गर्‍यो । शनिबार रास्वपाले प्रतिपक्षी बोल्दा वेल घेराउ गर्‍यो भने सत्तापक्ष बोल्दा बैठक बहिष्कार गरेर बाहिरिएको थियो । 

मन्त्री उपस्थित नभएकोमा योगेश भट्टराईको आपत्ति
विनियोजन विधेयकअन्तर्गत संघीय मामिला, ऊर्जा, रक्षा, स्वास्थ्य खानेपानी, शिक्षा, परराष्ट्र, श्रम, गृह र सञ्चार मन्त्रालयको शीर्षकमाथि समूहकृत छलफलमा भाग लिएका एमाले सचिव योगेश भट्टराईले मन्त्रीहरू गैरजिम्मेवार देखिएको टिप्पणी गरे । ‘म मन्त्रीज्यूहरूलाई भन्न चाहन्छु– संसद्मा विनियोजन शीर्षकमाथि छलफल भइरहेका वेला त्योभन्दा महत्वपूर्ण अर्को काम के होला ? जसले अन्तै जानुपर्‍यो होला ?’ उनले प्रश्न गरे, ‘हामी आफूले प्रस्तुत गरेका विधेयकहरूको छलफलमा गम्भीरताका साथ भाग लिँदैनौँ, गर्छौँचाहिँ के ? विधायकी काममा हामी भाग लिँदैनौँ भने गर्छौँ के ? यो एउटा गम्भीर जवाफदेहिताको प्रश्न हो ।’

छुटाउनुभयो की ?