१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 22 June, 2025
नारायणघाट–बुटवल सडकखण्डअन्तर्गत दाउन्नेमा जाममा फसेका सवारीसाधन
Invalid date format o७:५५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नारायणघाट–बुटवल सडक राति १० घण्टा बन्द, पूर्व–पश्चिम यात्रा झनै कष्टकर बन्दै

विनयी खोलामा बनेको नयाँ पुल सञ्चालनमा नआएसम्म यातायात प्रभावित, वैकल्पिक मार्ग प्रयोग गर्न सडक विभागको आग्रह

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:५५:oo
  • जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकाल भन्छन्– दाउन्ने र दुम्किबास क्षेत्रमा केही दिन साना सवारीसाधन पनि सञ्चालन गर्न सकिने अवस्था छैन

पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपुरको दुम्किबास र दाउन्नेमा दैनिकजसो सडक अवरुद्ध भएर दुर्घटनाको जोखिम बढेपछि केही दिनलाई ठुला र मालवाहक सवारीसाधनमा रोक लगाइएको छ । सडक विभाग आयोजना निर्देशनालयले शनिबार सूचना जारी गरेर दाउन्ने–दुम्किबास क्षेत्रमा साँझ सातदेखि बिहान पाँच बजेसम्म १० घण्टा ठुला सवारीसाधनमा रोक लगाइएको हो ।

आयोजना निर्देशनालयका निर्देशक इञ्जिनियर चुडाराज ढकालले शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार शनिबारदेखि रातिको समयमा सडकमा यातायात सञ्चालनमा रोक लगाइएको बताए । ‘निर्माणाधीन नारायणघाट–बुटवल सडकको दुम्कीबासस्थित विनयी खोला पुलको डाइभर्सन सडक वर्षाले बारम्बार बगाइरहेकाले सो स्थानमा बनेको नयाँ पुल सञ्चालनमा नआउने वेलासम्म रातिमा सडकमा यातायात सञ्चालन बन्द गर्ने निर्णय भएको छ’, उनले भने, ‘यसैगरी दाउन्ने खण्डको केही स्थानमा ग्राबेल राखेर सडक मर्मत गर्ने काम भइरहेकाले दाउन्नेमा सहज रूपमा यातायात सञ्चालन नहुने वेलासम्मका लागि रातिमा सडक बन्द गरिएको हो ।’

सडक खण्डमा ठूला र मालवाहक सवारीसाधन भने शनिबारदेखि चौबिसै घण्टा सञ्चालन गर्न नदिने गरी रोक लगाइएको ढकालको भनाइ छ । ठूला र मालवाहक सवारीसाधनलाई नारायणघाट बुटवल सडकको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै निर्देशक ढकालले साना सवारीसाधनसमेत सडकको अवस्था हेरेरमात्रै दिउँसोमा यात्रा गर्न सुझाव दिए ।

सूचनामा ठूला र मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइए पनि केही दिन साना तथा हल्का सवारीसाधन पनि गुड्न सक्ने अवस्था छैन । ‘दाउन्ने र दुम्किबास क्षेत्रमा केही दिन साना सवारीसाधन पनि सञ्चालन गर्न सकिने अवस्था छैन,’ जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले भने । उनका अनुसार दुम्किबासको विनयी खोला र दाउन्नेको बिच भागमा दुम्किबासदेखि सर्दी र सर्दीदेखि होङ्सी सिमेन्ट गेटसम्म फसेका १४ सय बढी सवारीसाधनलाई पास नगराएसम्म साना तथा हल्का सवारी साधन पनि सञ्चालन गर्न सकिने अवस्था छैन । शनिबार बाटो पूर्ण रूपमा बन्द गरे यहाँ फसेका सात सयभन्दा बढी सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको उनले बताए ।

सडक आयोजनाले दुम्किबासको विनयी खोलाको पुलको डाइभर्सन सडक वर्षाले लगातार बगाइरहेकाले सो स्थानमा नयाँ पुल सञ्चालनमा नआउन्जेल र दाउन्ने सडकको केही स्थानमा ग्राभेल राखेर सडक मर्मतको काम नसकिन्जेलसम्म ठुला र मालबाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । दाउन्ने सडकखण्डको पूर्वी खण्डको नौ किलोमिटर सडक वर्षाले हिलो र चिप्लो हुँदा लगातार पाँच दिनदेखि यातायात सञ्चालनमा कठिनाइ भएको छ । अहिले विनयी त्रिवेणी गाउँपालिकाको सहयोगमा पाँच सय टिप गिटी ल्याएर बिछ्याउन थालिएको छ ।

दुम्किबासको विनयीखोलामा डाइभर्सन पटक–पटक बगाएपछि अब डाइभर्सन नबनाइने भएको छ । उक्त क्षेत्रमा रहेको डाइभर्सन भत्काइएको आयोजनाले जनाएको छ । दुम्किबास सर्दी र सर्दी होङ्सी सिमेन्ट कम्पनीको गेटसम्म फसेका सवारीसाधनलाई आइतबार दिनभर लगाएर गन्तव्यतर्फ पठाइएपछि हल्का तथा साना सवारीसाधन र यात्रुवाहक बसलाई सञ्चालनमा ल्याइने प्रहरी उपरीक्षक यादव ढकालले बताए । चार लेनमा विस्तार भइरहेको सडकको दाउन्ने खण्डमा सामान्य पानी पर्दा पनि हिलोका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ । यात्रा झन्झन् कष्टकर बनेको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा सडक आयोजना, चाइना स्टेट कम्पनी र नवलपुरका सुरक्षा निकायका प्रमुखहरूबिच भएको छलफलमा दुम्किबासको पुल १४ असारबाट सञ्चालनमा ल्याउने मोटामोटी सहमति भए पनि चाइना स्टेट कम्पनी पुल निर्माण सम्पन्न भएको २८ दिन नपुगेसम्म सञ्चालनमा ल्याउन नहुने पक्षमा देखिएको प्रहरी उपरीक्षक ढकालले बताए । दाउन्ने सडकमा ग्राबेल बिछ्याएर ठुला तथा मालबाहक सवारीसाधन चल्न सक्ने गराउन कम्तीमा १० दिन लाग्ने जनाइएको छ । दुम्किबासको पुल पनि २० असारअगाडि सञ्चालनमा आउन सक्ने संकेत देखिएको छैन । दुम्किबासको पुल पूर्णरूपमा सञ्चालनमा नल्याएसम्म दुम्किबास सर्दी हुँदै होङ्सी गेटबाट सञ्चालन गरिने भित्री बाटोमा साना तथा हल्का सवारीसाधन मात्रै चल्ने अवस्था रहेको प्रहरी उपरीक्षक ढकालले बताए । 
 

छुटाउनुभयो की ?