
विश्व भूराजनीति सर्वोच्चतावाद, दण्डहीनता र निराशावादको घातक चंगुलमा फसेको छ । र, यस्तोमा निकट इतिहासमै नदेखिएको स्तरको क्षमतावान् र नैतिकवान् वैश्विक नेतृत्वको अभाव देखिन्छ । पहिले सर्वोच्चतावादमा ध्यान दिऔँ । हामीले अमेरिकालाई इजरायलबाट रणनीतिक रूपमा छुट्यायौँ भने पनि गाजा र इरानमा भएका युद्धहरूले पश्चिमी सर्वोच्चताको चरित्र धारण गरेकोमा कुनै शंका छैन । गाजा र इरान दुवैमाथि इजरायलको अनियन्त्रित आक्रामकताले पश्चिमी ‘आधिपत्य परियोजना’को पुनरावृत्ति गरेको छ । बहुप्रचारित बहुध्रुवीय विश्वको विचार फेरि पनि भ्रमपूर्ण साबित भएको छ ।
स्थानीय सन्दर्भ फरक भए पनि पछिल्ला द्वन्द्वले अर्थपूर्ण नियन्त्रण वा सन्तुलनविनाको विश्व व्यवस्थामाथि प्रकाश हालेको छ । इरानको पतन भईहाले पश्चिमी प्रभुत्वलाई चुनौती दिन सक्ने रुसी र चिनियाँ क्षमतालाई अझ कमजोर बनाउनेछ । साउदी अरबलगायत प्रमुख अरबी मुलुकले प्यालेस्टाइन वा इरानका कारण पश्चिमसँगको आफ्नो सम्बन्धलाई बिगार्न नदिने विकल्प रोजेका छन् । लामो ऐतिहासिक दृष्टिकोणबाट हेर्दा यी युद्ध अमेरिकी प्रभुत्वलाई पुनः व्यक्त गर्ने प्रयास हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भवतः यो युद्धलाई सर्वोच्चतावादी भाष्यलाई जोड दिन प्रयोग गर्नेछन् । यदि इरानमा शासन परिवर्तन वा यसको आणविक क्षमताको विनाश सम्भव देखियो भने उनले जारी इजरायली आक्रमणलाई समर्थन गर्नेछन् । होइन भने उनी एक बेइमान शान्तिदूतका रूपमा प्रस्तुत हुन सक्छन् । जे भए पनि उनले दिन चाहेको सन्देश स्पष्ट छ– अमेरिकी अपरिहार्यता, संसारलाई आकार दिन सक्ने शक्ति र इराक तथा अफगानिस्तानको अपमानको बदला लिने प्रयास । पश्चिमले विश्वव्यापी शक्तिको बदलिँदो गतिशीलतासँग आफूलाई कहिल्यै वैचारिक रूपमा अनुकुल गरेकै छैन । यसले क्षेत्रीय विरोधीलाई हटाएर सर्वोच्चता पुनः स्थापित गर्ने साधनका रूपमा बेन्जामिन नेतन्याहुमा फेला पारेको छ । वर्तमान समयको दण्डहीनता र शून्यवाद सबैका सामु स्पष्ट छ । सामूहिक विनाश र पीडाबिच कबिलावादी सोचले हाम्रो नैतिक क्षमतालाई असक्षम बनाएको छ ।
पूर्वस्थापित समूह बफादारीले हामीलाई अत्याचारलाई समेत सही ठहराउन र जोखिमलाई बेवास्ता गर्ने बहाना दिन्छन् । विश्वव्यापीकरणतर्फ जे–जति प्रगति भएका थिए अब त्यो सबै उल्टिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा कबिला बफादारीताबाट बाहिरिने विश्लेषणात्मक क्षमता पनि ओइलाएको छ । युद्ध सधैँ छल र धोकाधडीमा निर्भर रहँदै आएको छ । तर, आज भाषा आफैँ यति पतीत भएको छ कि तिनको लक्ष सत्य रहेन । तिनीहरू आफै हतियार बनेका छन्, समझदारी वा मेलमिलापका उपकरण बन्न सकेका छैनन् । लक्ष्य केवल झुट बोल्नु होइन, सत्यलाई असान्दर्भिक बनाउने देखिन्छ । बहसलाई केवल कबिला पहिचानमा वास्तविकता प्रस्तुत गर्न प्रयोग गरिन्छ ।
एक पटक गाजाको विरोधाभासलाई ख्याल गर्नुहोस् त । गाजा युद्ध संसारमा सबैभन्दा बढी समाचार बनेको द्वन्द्व हो, तर यसको एक पक्ष प्यालेस्टिनीहरू नै अदृश्य बनाइएको छ । बेवास्ताको कारणले होइन, बरु समाचार कभरेजको प्रकृतिद्वारा अदृश्यकरण भएको छ । आणविक निवारणको विकृत तर्कलाई पनि विचार गर्नुहोस् । पहिले इरान केही साताभित्रै आणविक बम बनाउने अवस्थामा पुगेको थियो भन्ने अतिरञ्जित दाबी गरियो । इराकमा कोलिन पावेलले कम्तीमा संस्थागत प्रमाणीकरणमार्फत सत्यप्रति मौखिक समर्थन जाहेर गरेका थिए । अहिले आइएइएजस्ता संस्थालाई पूर्ण रूपमा पन्छाइएको छ । अहिले सत्यको प्रमाणीकरणसमेत आवश्यक ठानिएन ।
आणविक हतियारले अस्तित्वगत खतरालाई निवारण गर्ने विश्वास गरिन्छ । इजरायलसँग आणविक हतियार छन् । यसले पश्चिमा राष्ट्रको आणविक कवजको आनन्द लिइरहेको छ । त्यसो हो भने इरानले इजरायलका लागि कसरी अस्तित्वगत खतरा खडा गर्न सक्छ ? असंगति अचम्मलाग्दो छ । यदि आणविक हतियारधारी राज्यले आफूमाथि अस्तित्वगत खतरा रहेको दाबी गर्छ भने निरोधको के अर्थ रह्यो ? मुद्दा आणविक सिद्धान्त होइन, बरु वर्तमान रणनीतिमा निहित निर्लज्ज झुट हो । इजरायली नागरिकमाथि इरानले गरिरहेको आक्रमणको उचित रूपमा निन्दा गरिएको छ । तर इजरायलको उस्तै कार्यलाई भने त्यही नैतिक फ्रेमबाट सजिलै बेवास्ता गरिएको छ । यही हो शून्यवाद । यो भाषालाई सत्य व्यक्त गर्न नसकिने गरी तोड्ने प्रयास हो । ‘नागरिक’ अर्थसमेत कबिला बफादारितासँग जोडिएको छ ।
विश्वव्यापी नेतृत्व शून्यताले सर्वोच्चता र शून्यवादको यो घातक संयोजनलाई प्रतिबिम्बित गर्दछ । ट्रम्प एक सर्वोच्चतावादी अवसरवादी हुन्, जसले तल्लो नैतिक रेखाको परीक्षण गर्छन् । युरोपेली नेतृत्व विशेषगरी बेलायत, फ्रान्स र जर्मनी, कहिल्यै पनि यति अयोग्य वा नैतिक रूपमा भ्रष्ट देखिएका थिएन् । होलोकास्टले (दोस्रो विश्वयुद्धको समयमा युरोपेली यहुदीहरूको हत्या) मानव अधिकारको विश्वव्यापिता र मानिसलाई उनीहरूको पहिचानकै आधारमा निशाना बनाउने कार्य अनैतिक हो सिकाएको ठानिएको थियो ।
तर, अहिले युरोपले त्यो विश्वव्यापी सिद्धान्तमा टेकेरलाई इजरायललाई ‘रिजन अफ स्टेट(शाकसकको मनलाग्दी गर्न पाउने अधिकार)’ प्रदान गरेका छ, भलै तेल अभिभले ती सिद्धान्तको उल्लंघन गर्छ । तिनको बयानबाजीले पीडितहरूलाई आक्रमणकारीको रूपमा पुनः चित्रण गर्छ । अर्कोतर्फको तथाकथित ‘प्रतिरोधको अक्ष’का हिस्सा हमास र इरानले आफ्नै मृत्युको इच्छा प्रदर्शन गर्दै आफूले प्रतिरोध गरिरहेका भनेका मानिसकै विनास निम्त्याएको छ ।
भारतको राष्ट्रवादी आत्मकेन्द्रितताले आफ्नो भूमिकालाई प्रतीकात्मक हाउभाउमा सीमित गरेको छ । रुस र टर्की पीडा र क्षेत्रीय प्रभुत्वको महत्वाकांक्षाको बिचमा फसेका छन् । रहस्यमयी तथा जोडघटाउ गर्ने चीनले साँघुरो स्वार्थलाई प्राथमिकता दिन्छ । वास्तविक जोखिमलाई टक्कर दिन इच्छुक वा सक्षम कुनै अर्थपूर्ण ‘ग्लोबल साउथ’को गठबन्धन छैन । अधिकांश सामाजिक आन्दोलन अप्रभावी छन् । र, यी युद्ध त्यस्तो समयमा आएको छ, जतिवेला धेरै देश आफ्नै राजनीतिक प्रणालीसँग लडिरहेका छन् । यही सर्वोच्चता, आत्मकेन्द्रितता र आत्मभ्रमको विषाक्त मिश्रणमा हामीबाट नयाँ विश्वव्यापी व्यवस्थाको कल्पना गर्ने अपेक्षा गरिदैं छ ।
छोटो कालका लागि पश्चिमाहरू विजयी भए पनि युद्धको दीर्घकालीन परिणाम अप्रत्याशित र प्रायः क्षयकारी हुन्छ । यो युद्ध कसरी शरीरको क्यान्सरझैँ अन्य क्षेत्रमा पनि फैलिन्छ भनेर केबल समयले मात्र बताउनेछ । हालैका तीन द्वन्द्वहरू, युक्रेन–रुस, भारत–पाकिस्तान र इजरायल–गाजा÷इरानले हामीलाई खतरनाक नयाँ सीमातर्फ धकेलेका छन् ।
पहिलो, विश्वव्यापी आणविक व्यवस्था अस्थिर हुँदै छ । इरानलाई निःशस्त्रीकरण गरिए पनि हालको आणविक ढाँचाले स्थिरता सुनिश्चित गर्न सक्दैन । आणविक आधारमाथि सिधा हमलालाई अन्तर्राष्ट्रिय कानुनले स्पष्ट रूपमा गैरकानुनी भनेको छ । तर, आणविक वृद्धिको तर्कको परीक्षण गरेर चालिएका कदमले सुरक्षालाई अझ अनिश्चित बनाउँछ । दोस्रो, ड्रोन र सटिक मिसाइलमा भएका प्राविधिक प्रगतिले युद्धका उपकरणलाई लोकतान्त्रिक बनाउँदै छ ।
आगामी दिनमा यी उपकरण अझ व्यापक र परिष्कृत हुनेछन् । तिनले कोमाथि खतरा छ र रणनीतिक रूपमा के सान्दर्भिक छ भन्नेबारे हाम्रो बुझाइ परिवर्तन गर्नेछन् । दैनिक प्रयोग हुने वस्तुहरू, फोहोरको भाँडो, पार्क गरिएको कार, विनाशको वाहक बन्न सक्छन् । यो व्यापक खतराले व्याकुलतालाई बढाउनेछ र अधिनायकवादलाई बढावा दिनेछ । भूराजनीति खतरनाक रूपमा अस्थिर हुँदै गइरहेको छ । र, यस्तो वेलामा दृश्यमा कोही नेतृत्व देखिँदैन ।
– इन्डियन एक्सप्रेसबाट