१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
रमेश सुवेदी काठमाडाैं
२o८२ असार ६ शुक्रबार o८:३१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दुई वर्षपछि एन्फाको निर्णय : अपिल कमिटीले निर्णय उल्ट्याउँदा थ्री स्टार ‘बी’ डिभिजनमा झर्‍यो

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार o८:३१:oo
  • ०८० मा भएको ‘ए’ डिभिजन लिगमा थ्री स्टारले नियमविपरीत विदेशी खेलाडी खेलाएको भन्दै एपिएफले अपिल कमिटीमा उजुरी दिएको थियो । अपिल कमिटीको बिहीबार बसेको बैठकले एपिएफको पक्षमा निर्णय गरेको छ ।

नेपाल एपिएफ क्लबको उजुरीमा अखिल नेपाल फुटबल संघ (एन्फा)को अपिल कमिटीले निर्णय उल्ट्याउँदा थ्री स्टार क्लब ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा परेको छ । अपिल कमिटीले दुई वर्षपछि थ्री स्टार र एपिएफबिचको मुद्दाको छिनोफानो गरेको हो । एन्फाको अपिल कमिटीमा अशोककुमार पोखरेल संयोजक छन् । समितिमा गोवर्धन सिंह सम्झना उपाध्यक्ष र सदस्यमा विश्वराज राई र उत्तम थापा छन् ।

०८० मा भएको ‘ए’ डिभिजन लिगमा थ्री स्टारले नियमविपरीत विदेशी खेलाडी खेलाएको भन्दै एपिएफले अपिल कमिटीमा उजुरी दिएको थियो । पोखरेलको संयोजकत्वमा अपिल कमिटीको बिहीबार साँझ बसेको बैठकले एपिएफको पक्षमा निर्णय गरेको हो । एपिएफको उजुरीअनुसार थ्री स्टारको जितलाई उल्ट्याएर अपिल कमिटीले जावलाखेललाई जित सुम्पिएको छ । एन्फाले अपिल कमिटीको निर्णयको प्रति क्लबहरूलाई इमेलमा पठाइसकेको छ । 

‘एन्फाको अपिल कमिटीको बैठकमा सबै प्रमाणका आधारमा थ्री स्टार र जावलाखेलबिचको खेल नतिजा उल्ट्याइएको छ,’ एन्फा स्रोतले भन्यो, ‘यो निर्णयसँगै अब थ्री स्टार ‘बी’ र एपिएफले ‘ए’ डिभिजनको मान्यता प्राप्त गरेको छ ।’ पहिलोपटक ‘बी’ डिभिजनमा झरेको ललितपुरको पुरानो क्लब थ्री स्टारले तीनपटक ‘ए’ डिभिजन लिग उपाधि जितेको छ । 

भिसा नभएको खेलाडी खेलाएको आरोप
दुई वर्षअघिको ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा थ्री स्टारले जावलाखेलविरुद्ध प्रतिस्पर्धा गर्दा दुई विदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टिन्सलाई खेलाएको गराएको थियो । दुवै खेलाडीसँग भिसा थिएन । भिसा नभएका खेलाडी खेलाएको जनाउँदै एपिएफले उजुरी दिएको थियो । थ्री स्टारले सो खेलमा जावलाखेललाई १–० ले हराउँदै रेलिगेसन टारेको थियो ।

यस नतिजासँगै एपिएफ रेलिगेसनमा परेको थियो । अब अपिल कमिटीको निर्णयअनुसार थ्री स्टारको ३ अंक खोसिएको छ । जावलाखेललाई ३ अंक प्रदान गरेको छ । थ्री स्टारले २६ खेलबाट ३२ अंक जोडेको थियो । त्यसवेला थ्री स्टार लिगको १०औँ स्थानमा थियो । एपिएफ २६ खेलबाट ३० अंकसहित रेलिगेसनमा परेको थियो । अपिल कमिटीको निर्णयपछि एपिएफ लिगको १२औँ स्थानमा उक्लेको छ । थ्री स्टारको ३ अंक घट्दा २९ अंक भएको छ । यो भनेको रेलिगेसन जोनको १३औँ स्थान हो । लिगको पुछारमा रहेको खुमलटार क्लबले २७ अंक जोडेको छ । 

अगाडिको निर्णयमा थ्री स्टारलाई जरिवाना मात्र
एन्फाको छानबिन कमिटीले एपिएफको उजुरीका आधारमा थ्री स्टारलाई तीन लाख जरिवाना तिराएको थियो । एन्फाले दुवै विदेशी खेलाडीलाई जनही ५० हजार रुपैयाँ तिरायो । एन्फाको निर्णय चित्तबुझ्दो नहुँदा एपिएफले तत्कालै एन्फाकै अपिल कमिटीमा उजुरी दिएको थियो । दुई वर्षसम्म यो मुद्दाको किनारा लागेन । मुद्दा किनारा नलाग्दासम्म र ‘बी’ डिभिजन लिग समाप्त नहुँदा एन्फाले एपिएफलाई ‘ए’ डिभिजन लिगकै हैसियत प्रदान गरेको थियो । गत महिना ‘बी’ डिभिजन लिग सकिएपछि अपिल कमिटीले दुई वर्षअघिको मुद्दा अगाडि बढाएको एन्फा स्रोतले बतायो । 

‘बी’ डिभिजन लिगको साइकल पूरा नभएकाले मुद्दाको किनारा नलागेको हो, ‘बी’ डिभिजन लिग सकिएको छ, यसकारण थ्री स्टारविरुद्ध राखेको मुद्दाको निर्णय भएको हो,’ एन्फा स्रोतले भन्यो । दुई वर्षअघि एपिएफ र थ्री स्टार दुवैले निर्णय नै त्रुटीपूर्ण रहेको दाबी गरेका थिए । 

एन्फाको निर्णय फिफाले नै बनाएको अनुशासन नियमावली पालना नभएको दाबी एपिएफको थियो । कुनै पनि खेलमा टोलीले अयोग्य खेलाडी खेलाउँदा सो खेलको नतिजा विपक्षी टोलीको जित र त्यससँगै जरिवाना हुनुपर्ने माग एपिएफको थियो ।