
ढुंगा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुंगाले छापिएका चोक र बाटो । प्राचीन मौलिक गुरुङ संस्कृतिको जीवन्त संग्रहालयझैँ छ, लमजुङको क्व्होँलासोथार गाउँपालिका– ४ स्थित भुजुङ । एउटै वडा एउटै गाउँ हो भुजुङ ।
जिल्लाकै ठुलो र सिरान गाउँको रूपमा परिचित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटरको उचाइमा छ । गाउँको उत्तरतर्फ घना जंगल, घाँसेमैदान र खर्कका साथै लमजुङ हिमाल, अन्नपूर्ण हिमाल देखिन्छ । गुुरुङ समुदायका परम्परागत रीतिरिवाज, वेषभूषा, भाषा, संस्कृति र पहिचानलाई जीवन्त राखिएको भुजुङ समाजका पूर्वअध्यक्ष तथा घरबास सञ्चालक रामचन्द्र गुरुङले बताए ।
उनले प्राचीन शैलीका घुमाउने घरजस्ता संरचनाले यहाँ आउने जोकोही लोभिने बताए । कुल ५०० घरधुरी रहेको यस गाउँमा ३३ घरमा घरबास सञ्चालन गरिएका छन् । भुजुङ सामुदायिक होमस्टेका अध्यक्ष तुलबहादुर गुुरुङका अनुसार गाउँमा २०६३ सालदेखि घरबास सञ्चालन गरिएको हो । हाल घरबासमा दैनिक ५० देखि ६० जना पर्यटक आउने गर्छन् ।
पर्यटकलाई स्थानीयले आतिथ्यतासँगै कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरिलो, पिँडालुका परिकार र कोदोको रक्सी, खसी कुखुराको मासु ख्वाउने गरेका छन् । स्थानीयले भुजुङलाई लुकेको गाउँसमेत भन्न रुचाउँछन् ।
यस गाउँमा ९० प्रतिशत गुरुङ छन् । त्यसैले गुुरुङ समुदायको संस्कार र संस्कृति नियाल्ने महत्त्वपूर्ण थलो बनेको छ । गाउँको सौन्दर्यता, संस्कार र संस्कृतिको जगेर्ना गर्दै गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य स्थानीयको छ।
गाउँका प्राचीन गुम्बा, चिया बगान, सन्तानेश्वर महादेव मन्दिरलाई पर्यटकीय रूपमा उपयोग गरिने होमस्टेका अध्यक्ष तुलबहादुर गुरुङले बताए । सन्तान प्राप्त नभएका दम्पतीले यहाँस्थित सन्तानेश्वर महादेव मन्दिरमा पूजाआजा गरेमा सन्तान प्राप्त हुने विश्वास छ ।
यहाँ पहिलोपटक २०६४ सालमा भुजुङ महोत्सव आयोजना गरिएको थियो । त्यसयता विभिन्न चरणमा प्रवर्द्धनात्मक कार्यक्रम गरिँदै आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीयको आय–आर्जनका लागि घरबास पर्यटन सुरुवात गरिएको थियो । सो कार्य नै यहाँको पर्यटकीय विकासका लागि बरदान सावित भएको छ । सुरुमा १५ वटा घरबाट सुरु गरिएको घरबास अहिले ३३ घरमा विस्तार भएको छ ।
भुजुङको पर्यटकीय विकासलाई लक्षित गरी यस गाउँलाई गुुरुङ सम्पदा पदमार्गमा समेटिएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले बताए ।
‘कास्की, लमजुङलगायत यहाँका विभिन्न गुरुङ गाउँबाट सुरु गरी दूधपोखरी, गुरुङ देउरालीलगायतका स्थान समेट्दै प्राचीन नुन बोक्न जाने मार्ग, भेडीगोठ र खर्क जोड्ने मार्गलाई हामीले गुरुङ सम्पदा पदमार्गका रूपमा विकास गर्न खोजेका छौँ,’ उनले भने, ‘यस पदमार्गमा भुजुङलगायतका गाउँलाई पदयात्रा पर्यटनसँग जोड्दै स्थानीयको आयआर्जन बढाउने लक्ष्य छ ।’
सङ्घको आयोजना एवं नेपाल पर्यटन बोर्ड, क्होँलासोथर गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकाको सहयोगमा हालै भुजुङसहित सिङ्दी, पसगाउँ, घनपोखरा हुँदै चार हजार ६०० मिटर उचाइको धार्मिक पर्यटकीय गन्तव्य दुधपोखरीसम्म खोज तथा अन्वेषणत्मक पदयात्रा गरिएको छ ।
जथाभावी बाटो खन्दा पदमार्ग मासिँदै गएकाले पदयात्रा पर्यटनको महत्त्वपूर्ण विकल्पका रूपमा गुरुङ सम्पदा पदमार्ग विकास गर्न लागिएको संघकी अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिइन् । रासस