
दुई वर्ष ‘कुलिङ पिरियड’ राखिएको संघीय निजामती विधेयक पारित गर्ने मंगलबारकै प्रतिनिधिसभामा कार्यसूची भए पनि ‘होल्ड’ गरिएकोमा कांग्रेसले असन्तुष्टि जनाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री ओलीसहित एमाले नेताहरू र कांग्रेस सभापति शेरबहादुर देउवासहित निकट नेताहरूबिच बुधबार साँझ भएको भेटमा निजामती विधेयकलगायत विषयमा छलफल भएको हो ।
प्रशासकहरूको स्वार्थअनुसार प्रधानमन्त्री ओलीले ‘कुलिङ पिरियड’ नै नराख्ने वा एक वर्ष मात्रै राख्ने गरी राजनीतिक गर्न खोजेको विषयमा प्रश्न उठाइएको कांग्रेसका एक नेताले बताए । मंगलबारको प्रतिनिधिसभा बैठकमा उक्त विधेयक पारित गर्ने एकल कार्यसूची तय भए पनि ओलीकै चाहनामा सभामुखले रास्वपाको विरोधलाई कारण देखाएर विधेयक ‘होल्ड’ गरेका थिए । विधेयक लम्ब्याउने उद्देश्यले बुधबार प्रतिनिधिसभा बैठक नै नराखेपछि कांग्रेस नेतृत्व यसलगायत विषयमा छलफल गर्न बालुवाटार गएको हो ।
‘कुलिङ पिरियडमा प्रधानमन्त्रीबाट राजनीति भएको गुनासो हाम्रोतर्फबाट राख्यौँ । निजामती विधेयक, शिक्षा विधेयक र बजेट पारित गरेर सदनबाट गर्नुपर्ने कामहरू कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित भयो,’ ती नेताले भने ।
अर्थमन्त्री एवं एमाले नेता विष्णु पौडेलले भने दुई दलको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको र सरकार ढलोस् भन्ने चाहनेलाई निराश पार्ने गरी निष्कर्ष निकालेको बताए । ‘समसामयिक राजनीतिक विषयमा छलफल भयो । सरकार ढलोस् भन्ने चाहनेलाई निराश पार्ने बैठक भयो,’ उनले भने ।
प्रमुख प्रतिपक्षी माओवादीसँग प्रतिबद्धता गरेबमोजिम भिजिट भिसाको अध्ययन र छानबिन कसरी सुरु गर्ने र संरचना कस्तो बनाउने भन्नेबारे पनि छलफल भएको पनि कांग्रेस नेताले बताएका छन् । ‘सरकारले सदनमा प्रतिबद्धता गरेबमोजिम भिजिट भिसा प्रकरणमा कसरी छानबिन गर्ने भनेर सामान्य छलफल भयो । यही गर्ने भन्ने टुंगोमा पुगिसकेको अवस्था होइन,’ एक नेताले भने ।
तर, अर्थमन्त्री पौडेलले भने भिजिट भिसामा सरकारले आवश्यक छानबिन गर्ने भएकाले यस विषयमा केही छलफल नभएको दाबी गरे । बैठकमा एमालेबाट प्रधानमन्त्रीसहित अर्थमन्त्री विष्णु पौडेल तथा कांग्रेसबाट सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक र ऊर्जामन्त्री दीपक खड्का उपस्थित थिए ।