
सुनसरीको बराह क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ । बराह क्षेत्रमा नगरपालिका– २ स्थित कौशिकी सामुदायिक वननजिकैको मकैबारीमा उक्त हात्ती आज बिहान मृत अवस्थामा फेला परेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।
आज बिहान स्थानीयवासीले हात्ती मृत भेटिएको खबर गरेको उनले बताए । कार्कीका अनुसार झन्डै पाँचदेखि सात वर्ष उमेरको भाले हात्ती रहेको छ ।
हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन । जिल्ला वन कार्यालय सुनसरी, कोशी टप्पु वन्यजन्तु आरक्षसहितको टोलीले हात्तीको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको नगर प्रमुख कार्कीले बताए ।