१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
अजित अधिकारी काठमाडाैं
Invalid date format o६:२२:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

इजरायल–इरानमा रहेका नेपालीको कस्तो छ अवस्था ?

आइतबार रातिसम्म कोही नेपाली समस्यामा परेका छैनन्, पराराष्ट्र मन्त्रालय र दूतावासद्वारा सुरक्षा सतर्कता अपनाउन आग्रह

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२२:oo

इरानसँगको युद्धका बिच इजरायली डिफेन्स फोर्सेस (आइडिएफ)ले जारी गरेको विज्ञप्तिमा जनतालाई सार्वजनिक स्थलमा जानबाट जोगिन, भिडभाडयुक्त ठाउँहरूबाट टाढा रहन र कुनै चेतावनी प्राप्त भएमा सुरक्षित स्थानमा जान तथा आधिकारिक नयाँ जानकारी नआएसम्म त्यहाँ नै बस्न आग्रह गरिएको छ । र, इजरायलको राष्ट्रिय आपत्कालीन सेवाका अनुसार इरानी आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ र सयभन्दा बढी घाइते भएका छन् ।

आइडिएफ र राष्ट्रिय आपत्कालीन सेवाले जारी गरेका सूचनाले इजरायलका सहरहरूको पछिल्लो भयानक अवस्था देखाउँछ । तीन दिनदेखि जारी युद्धमा इरानले इजरायलको राजधानी जेरुसेलम, तेलअभिभ, हाइफासहित मुख्य रणनीतिक केन्द्रमा मिसाइल आक्रमण केन्द्रित गरेको छ । इजरायली हमलामा इरानले पनि ठुलो क्षति व्यहोरेको छ । यस्तोमा इजरायल र इरानमा रहेका साढे पाँच हजार नेपालीको अवस्था कस्तो छ ?

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको बताए । ‘इजरायलमा करिब ५५ सय र इरानमा एक दर्जन जति नेपाली हुनुहुन्छ । उहाँहरू हालसम्म सुरक्षित हुनुहुन्छ,’ उनले नयाँ पत्रिकासँग भने ।उनका अनुसार परराष्ट्र मन्त्रालय दोहास्थित नेपाली राजदूतावास इरानमा रहेका नेपालीहरूसँग र तेलअभिभस्थित नेपाली राजदूतावास इजरायलमा रहेका नेपालीहरूसँग निकट सम्पर्कमा छ । त्यहाँ रहेका सबै नेपालीलाई सतर्कता अपनाउन भनिएको छ । 

‘इजरायल सरकारले जारी गरेको एड्भाइजरी पालना गर्न हामीले त्यहाँका नेपालीहरूलाई भनेका छौँ । यसैगरी, तेहरानमा पनि नेपालीहरूलाई सुरक्षित रहन भनेका छौँ,’ उनले भने, ‘केही समस्या परेमा सम्बन्धित दूतावासमा सम्पर्क राख्न पनि आग्रह गरिएको छ । परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ ।’

इजरायलको तेलअभिभस्थित नेपाली दूतावासले युद्धमा नेपालीहरूलाई कुनै क्षति नभएको र सुरक्षित रहेको जनाएको छ । दूतावासका उपप्रमुख कुमारबहादुर श्रेष्ठले इजरायलमा रहेका नेपालीसँग नियमित सम्पर्कमा रहेको बताए ।जेरुसेलम र तेलअभिभमा रहेको अस्पतालमा नेपालबाट केयर गिभरअन्तर्गत नर्सिङ तथा घरेल कामदारका रूपमा धेरै महिला कार्यरत रहेका छन् । तर, सो क्षेत्रका घर, भवन तथा अस्पतालमा बलियो बंकर बनाएका कारण मानवीय क्षति धेरै नहुँदा नेपाली पनि सुरक्षित रहेको गैरआवासीय नेपाली संघ, इजरायलका अध्यक्ष कृष्ण भण्डारीले बताए । ‘राजधानीलगायत आसपासका सहरहरूमा नेपाली महिला केयर गिभरका रूपमा कार्यरत छन् । यहाँ अस्पताल धेरै छन् र धनाढ्यको बसोबास पनि छ,’ उनले भने, ‘तर, अहिलेसम्म कोही नेपाली खतरामा परेका छैनन् । सबै सुरक्षित छौँ ।’ उनका अनुसार इजरायल नियन्त्रित गाजा क्षेत्रमा समेत केही नेपाली कार्यरत छन् । 

शनिबार राति इरानको मिसाइल आक्रमणमा क्षतिग्रस्त इजरायलको बट याम क्षेत्रमा देखिएको भग्नावशेष । इजरायलको तेलअभिभस्थित नेपाली दूतावासले युद्धमा नेपालीहरूलाई कुनै क्षति नभएको र सुरक्षित रहेको जनाएको छ । दूतावासका उपप्रमुख कुमारबहादुर श्रेष्ठले इजरायलमा रहेका नेपालीसँग नियमित सम्पर्कमा रहेको बताए । ‘यहाँ रहेका अधिकांश नेपालीसँग सम्पर्कमै छौँ । कुनै समस्या भए तुरुन्त खबर गर्नुस् भनेका छौँ,’ उनले भने, ‘अहिलेसम्म कसैले पनि समस्या राख्नुभएको छैन ।’

नियोग उपप्रमुख श्रेष्ठले आक्रमण भएका वेला धेरै जोखिम हुने, तर त्यसपछिको एक–डेढ घण्टामा स्थिति सामान्य हुने गरेको बताए । ‘जुन वेला आक्रमण हुन्छ, त्यो वेला अतालिन्छौँ । तर, फेरि स्थिति साम्य भइहाल्छ,’ उनले भने । आइतबार दिनभर शान्त भएको, तर राति आक्रमण हुने चिन्ताले सताएको उनले बताए ।

एनआरएनए इजरायलका अध्यक्ष भण्डारीले पनि आक्रमण भएका वेला धेरै क्षतिको डर हुने भएकाले नेपालीहरू सतर्क हुनुपर्ने बताए । उनका अनुसार जेरुसेलम र तेलअभिभ क्षेत्रमा इरानले एकैपटक सयवटा शक्तिशाली मिसाइल आक्रमण गर्ने गरेको छ । तर, धेरैजसो मिसाइल इजरायलले आकाशमै बिफल पार्ने गरेको छ । ‘१–२ वटा मिसाइल झरे पनि ठुलो क्षति गर्ने गरेको छ,’ उनले भने, ‘हामी नेपालीको अलि लापरबाही गर्ने बानी छ । त्यसैले, अहिले ठुलो युद्ध भएकाले सतर्क रहनु सबैभन्दा ठुलो कदम हो,’ उनले भने । 

त्यसैबिच परराष्ट्र मन्त्रालय र तेलअभिभस्थित नेपाली दूतावासले छुट्टाछुट्टै विज्ञप्ति निकालेर सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् । पराराष्ट्रमन्त्री आरजु राणाले दोहा र तेलअभिभस्थित दूतावासमा सम्पर्क गरी वस्तुस्थितिबारे जानकारीसमेत लिएकी छिन् । 

उनले नेपालीहरूको सुरक्षामा उच्च प्राथमिकता दिएर काम गर्न, नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रूपले नेपालीहरूलाई प्रवाह गराउन निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ । इरान र इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित राख्न र उद्धारका लागि आवश्यक कदम चाल्न पनि तयार रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, तेलअभिभस्थित नेपाली दूतावासले सुरक्षा सतर्कताका लागि २४सै घण्टा हटलाइन सुचारु गरेको जनाएको छ ।

इजरायलमै रहेका विराटनगरका मेयर नागेश कोइराला भन्छन्– म सुरक्षित छु, आत्तिनुपर्ने अवस्था छैन
कृषिसम्बन्धी तालिम कार्यक्रममा सहभागी हुन गएका विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला यति वेला इजरायलमै छन् । उनी इजरायलको पराराष्ट्र मन्त्रालयले २६ जेठदेखि आयोजना गरेको बैमौसमी फलपूmलको उत्पादन र हरियाली विकाससँग सम्बन्धित तालिममा सहभागी छन् । नयाँ पत्रिकासँग आइतबार कुराकानी गरेका उनले आफू सुरक्षित रहेको र तालिम पनि चलिरहेको बताए । आफू नेपाली दूतावासको सम्पर्कमा समेत रहेको मेयर कोइरालाले बताए । ‘म अहिले पनि क्लास लिइरहेको छु । यहाँ कुनै आत्तिनुपर्ने अवस्था छैन,’ आइतबार दिउँसो उनले नयाँ पत्रिकासँगको टेलिफोनमा भने, ‘दूतावाससँग मेरो सम्पर्क भइसक्यो । मलाई कुनै समस्या परेको छैन भनेर जानकारी गराएको छु ।’

 इजरायलमा करिब ५५ सय र इरानमा १२ नेपाली
 कृष्णप्रसाद ढकाल, प्रवक्ता, परराष्ट्र मन्त्रालय

परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ । हालसम्म सबै नेपाली सुरक्षित हुनुहुन्छ । केही समस्या परेमा सम्बन्धित दूतावासमा सम्पर्क राख्न पनि आग्रह गरिएको छ । 
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५५ सय नेपाली कार्यरत छन् । यसमध्ये केयर गिभरअन्तर्गत १६ सय र साना किसान सहकारीमार्फत कृषि अध्ययनका लागि दुई सय नेपाली इजरायलमा छन् । बाँकी नेपाली भने कानुनी प्रक्रिया पूरा नगरी इजरायल पुगेर काम गरिरहेको दूतावासको दाबी छ । इजरायलले सन् २०१६ देखि केयर गिभरअन्तर्गत कामदार लिन थालेको हो । त्यसयता आकर्षक कमाइको प्रलोभनमा धेरै नेपाली इजरायल पुग्ने गरेका छन् । त्यस्तै, इरानमा १२ नेपाली कार्यरत रहेको मन्त्रालयले जनाएको छ । त्यसैबिच मध्यपूर्वमा नेपालीको संख्या करिब १५ लाख रहेको अनुमान छ । ‘युद्ध बढेर गयो भने त्यसले मध्यपूर्वलाई असर गर्नेछ र नेपालीलाई पनि अकल्पनीय असर पर्नेछ,’ मध्यपूर्वमा खटिएका एक नेपाली कूटनीतिक अधिकारीले भने, ‘यस सम्बन्धमा पनि नेपाल सरकारले अहिलेदेखि नै एउटा सोच बनाउनु आवश्यक हुन्छ ।’