
पाँच दशकअघि बस्ती बसेको विजयनगर–१, थरौलीका सुकुमवासीहरूलाई गत बिहीबारको दिन निकै विशेष लाग्यो। जग्गा नाप जाँच टोली बस्तीमै पुगेपछि ६५ वर्षीय नन्दबहादुर सुनारीको अनुहारमा खुसी झल्किएको छ। उनले मुस्काउँदै भने, ‘अब त पुर्जा पाइएलाजस्तो लाग्यो।’ कपिलवस्तुको विजयनगर गाउँपालिकामा भूमिहीन, दलित, सुकुमवासी र अव्यवस्थित बसोबासका लागि बिहीबारदेखि जग्गा नाप जाँच सुरु गरिएको छ। थरौली बस्तीबाट अभियानको थालनी गरिएको छ। जहाँ पूर्वमन्त्री तथा साहित्यकार मोदनाथ प्रश्रितले आश्रय स्थलका रूपमा बस्ती स्थापना गर्न सहयोग गरेको बताएको छ। हाल बस्तीमा करिब ५० घरधुरी छन्। तर, कसैसँग पनि जग्गाधनी प्रमाणपत्र छैन।
भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष झबिलाल पोखरेलले नाप जाँच कार्यको उद्घाटन गर्दै भूमि समस्या समाधानमा सबै तहको सहकार्य आवश्यक भएको बताएका छन्। आयोग तीव्र रूपमा काममा लागेको छ। स्थानीय तहले सहयोग गरेमा छिटो काम सम्पन्न गर्न सकिने पोख्रेलको भनाइ छ। गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाका अनुसार यो कार्यलाई गाउँपालिकाले उच्च प्राथमिकता दिएको बताएका छन्। ‘भूमिहीनको लालपुर्जा पाउने सपना साकार गर्न हामी तत्पर छौँ। सकेसम्म छिटो नापीको काम सक्ने र छानबिनको आधारमा जग्गा वितरणको प्रक्रिया अघि बढाउने छौँ।’ गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बस्तीमा लामो समयदेखि लालपुर्जाविना बसिरहेका नागरिकको समस्या अब समाधान हुने बताइन्।
कार्यक्रममा आयोगका विज्ञ सदस्य मोहन केसी, जिल्ला सदस्य मञ्जु थारु, टोप बहादुर बिक तथा विजयनगर भूमिहीन सेवा केन्द्रका शाखा प्रमुख वासुदेव जमरकट्टेल पनि नाप जाँच कार्यलाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। गाउँपालिकामा मात्र तीन हजार पाँच सय बढी भूमि सम्बन्धी समस्या भएका घरधुरी रहेको पालिकाले जनाएको छ ।