१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३१ शनिबार
  • Saturday, 14 June, 2025
पवन बराइली काठमाडाैं
२o८२ जेठ ३१ शनिबार ११:३४:oo
Read Time : > 5 मिनेट
फिचर प्रिन्ट संस्करण

नेपाली संगीतमा रञ्जितले भरेको रंग

Read Time : > 5 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ३१ शनिबार ११:३४:oo

नेपाली गीत–संगीतमा रञ्जित गजमेरको योगदान अतुलनीय छ । उनले नेपाली सिनेमामा संगीत मात्रै भरेनन्, आफैँले गीत पनि लेखे । कुसुमे रुमाल..., मोहनी लाग्ला है..., वीरताको चिनो..., मन छाडे मैच्याङलाई..., सुन कथा एउटा गीत...लगायत उनका सयौँ गीत आमजनजिब्रोमा अहिले पनि झुन्डिरहेका छन् । बलिउडका वरिष्ठ संगीतकर्मीहरू आरडी बर्मन, लता मंगेशकर, किशोर कुमारसँग समेत काम गरेका गजमेर बलिउडमा ‘कान्छा’ उपनामले परिचित छन् । बलिउडमा नेपाली बाजा मादल परिचित गराउने श्रेय पनि उनैलाई जान्छ । संगीतकै सिलसिलामा हाल नेपाल आइपुगेका गजमेरले आफ्नो संगीतिक यात्राको अनुभव पवन बराइलीसँग सुनाए । 

बुबा र काकाहरूको दार्जलिङमा सुन व्यवसाय थियो । त्यतिवेला पढाइ सकेपछि सुन पसलमा काम गर्नुपर्थ्यो । मलाई सुनको काम गर्न मनै लाग्दैनथ्यो । सानैदेखि संगीतमै रुचि थियो । कोसँग संगत गर्दा मिठो संगीत सुन्न पाइन्छ भन्ने इच्छा लाग्थ्यो । तर, घरपरिवारका मान्छे र आफन्त संगीतमा लागेको मन पराउँदैनथे । परिवारको सबैजना व्यवसायमा थिए । तर, म भने संगीत पछ्याउँदै हिँड्थेँ । 

सन् १९५०–०५३ तिर हुनुपर्छ । त्यतिवेला दार्जिलिङमा मेरा एकजना भिनाजु संगीतकार हुनुहुन्थ्यो । उहाँले कलकत्ताबाट संगीत सिकेर आउनुभएको थियो । म पनि उहाँसँग पछि लाग्न थालेँ । उहाँसँगै संगीत सिक्न थालेँ । संगीत सिक्दासिक्दै साथीहरू भेट भयो । त्यसवेलाका मेरा स्कुलका साथीहरू शरण प्रधान, अरुणा लामा, अम्बर गुरुङ थिए । त्यसपछि गीत–संगीतको माहोल बन्यो । स्कुलमा हामी नियमितजसो सांगीतिक कार्यक्रम गर्थ्यौँ । त्यतिवेला अम्बर दाइले गीत सिर्जना गर्नुहुन्थ्यो । म, शरण प्रधान, गोपाल योञ्जन, कर्मा योञ्जन संगीत भथ्र्यौं । अरुणा लामा, जितेन बर्देवा, गगन गुरुङ, रुद्र गुरुङ गाउँथे । त्यसपछि हाम्रो एउटै समूह बन्यो । तर, अम्बर दाइ आफ्नै कामतिर लाग्नुभयो । म पनि विवाहपछि घरजमतिर लागेँ । त्यतिवेला हातमुख जोड्न समस्या थियो । समूह छुट्टिए पनि मैले संगीतचाहिँ छोडिनँ । त्यसवेला हामीले आफ्नै ब्यान्ड पनि बनाएका थियाैँ । त्यसमा म ड्रम बजाउनुका साथै गीत पनि कम्पोज गर्थेँ । त्यसवेला दार्जिलिङमा हामीलाई सबैले चिन्थे । म, शरण प्रधान, अरुणा लामा, जितेन बर्देवा, रुद्र गुरुङ, गगन गुरुङ, गोपाल योञ्जन, कर्मा योञ्जन सबैले अम्बर गुरुङ दाइबाट संगीतसम्बन्धी ज्ञान सिकेका हौँ । उहाँले हामीलाई कक्षामा राखेरै संगीत सिकाउनु त भएन, तर धेरै सिक्यौँ । म त उहाँलाई गुरु मान्छु । म यहाँसम्म आइपुग्नुमा उहाँकै योगदान छ । 

सन् १९६७–०६८ तिरको कुरा हो । कलेजको पढाइ सकेपछि संगीतमै पूर्णकालीन काम गर्ने इच्छा जाग्यो । तर, दार्जिलिङमा गीत–संगीतमै पूर्णकालीन लाग्ने वातावरण र अवसर थिएन । यहीवेला नेपालमा रेडियो स्टेसन खुलेको छ रे भन्ने सुनेँ । ठुल्ठुला होटेलमा पनि बाजा बजाउने काम पाइन्छ रे भन्ने सुनेँ । वीरगन्जमा एउटा स्कुल खुल्दै छ भन्ने सुन्यौँ । नेपालका स्कुलमा दार्जिलिङबाट शिक्षक ल्याउने चलन पहिल्यैदेखि थियो । नेपालमा अवसरको सम्भावना छ भन्दा श्रीमतीले पनि जाऊँ भनिन् । त्यसपछि हामी वीरगन्ज आयौँ । यहाँ ६–७ महिनाजति बस्यौँ । एकपटक काठमाडौं घुम्न जाने सल्लाह गर्‍यौँ । म, पिटर जे कार्थक, अनुराधा कोइरालासहित काठमाडौं घुम्न आयौँ । काठमाडौंको वातावरण देखेपछि यतै बस्ने योजना बनायौँ ।

त्यतिवेला हामीले रेडियो नेपालमा रामशरण दर्नाललाई चिनेका थियौँ । उहाँसँग भेट भयो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा बालकृष्ण सम कुलपति हुनुहुन्थ्यो । म प्रज्ञा प्रतिष्ठानमा काम गर्न थालेँ । नेपालमै संघर्ष गरिरहेको थिएँ । तर, यहाँ जति काम गरे पनि राम्रो गर्न सकिरहेको थिइनँ ।

मुम्बईमा बसेर गीतसंगीतमा काम गरिरहनुभएका मनहरि सिंह दाइ त्यसवेला सपरिवार नेपाल घुम्न आउनुभएको थियो । यही क्रममा उहाँसँग भेट भयो । उहाँ नेपालका संगीतकारलाई भेट्न आउनुभएको रहेछ । मनहरि दाइ एसडी बर्मन र आरडी बर्मनसँग काम गर्ने मान्छे हुन भन्ने सुनेको थिएँ । त्यसैले, मैले उहाँलाई आँट गरेर भनेँ, ‘दाइ हामी पनि मुम्बई आयौँ भने काम पाइन्छ ?’ उहाँ दार्जिलिङको नामी संगीतकार हुनुहुन्थ्यो । उहाँले पनि एकपटक आउनू भन्नुभयो । कोसिस गर्दैमा के हुन्छ ? भनेर भन्नुभयो । एक–दुईजना संगीतकारसँग चिनजान गराइदिउँला । उहाँले त्यति भनेपछि म खुसी भएँ । मुम्बई जाने कुरामा श्रीमतीको पनि सहमति भयो ।

त्यसवेला हामीसँग पैसा थिएन । एकेडेमीमा काम गर्थें, रेडियोमा कहिलेकाहीँ बाजा त बजाउँथेँ, तर पैसा थिएन । हामीलाई घरमा बस्न दिने नोर्बु गुरुङका बुबाले दुई सय भारतीय रुपैयाँ दिनुभयो । त्यसपछि ट्रकमा चढेर काठमाडौंबाट वीरगन्ज हुँदै तीन दिनमा मुम्बई पुग्यौँ । मुम्बई पुगेपछि आरडी बर्मनको गाडी चलाउने, खाना बनाउनेलगायत सबै काम गर्ने मनोहरि दाइको भाइ सन्तोषसँग भेट भयो । 

देवानन्दले भने– अंग्रेजीमा यस्तै खाले गीत चाहियो
मनहरि दाइले एसडी बर्मन र आरडी बर्मनलाई भेटाइदिनुभयो । त्यतिवेला मादल लिएर गएको थिएँ । आरडी बर्मन पहिले नेपाल आउँदा मादल देखेका रहेछन् । सबैले मादल बजाउन लगाए । चिटचिट पसिना आइरहेको थियो । धेरै ठुल्ठुला संगीतकार थिए । उनीहरूले मलाई गीत पनि गाउन लगाए । धेरैअघि बनाएको ‘कान्छा रे कान्छा रे...’ भन्ने गीत मादल बजाउँदै सुनाएँ । देवानन्दले अंग्रेजीमा यस्तै खालको गीत चाहियो भने । त्यसपछि आरडी बर्मनले तीन दिनपछि गीत रेकर्ड गर्नुपर्छ स्डुडियोमा मादल लिएर आउनू भने । म मादल लिएर स्टुडियो पुगेँ । किशोर कुमार र लता मंगेशकरले त्यो गीत गाउने तयारी गरिसकेका रहेछन् । आरडी बर्मन भित्र थिए । गीत रेकर्ड सुरु भयो । रेकर्ड सकिएपछि सबैले तारिफ गरे । आरडी बर्मनले खुसी हुँदै भने, ‘अबी तेरा नाम कान्छा हे ।’ त्यसपछि मेरो नामै कान्छा भयो । ३०–३१ वर्ष एसडी बर्मन र आरडी बर्मनसँग काम गरेर बसियो । आरडी बर्मनको निधनपछि नेपाली फिल्ममा काम गर्न थालेँ । 

अनि लागेँ नेपाली फिल्मतिर 
तुलसी घिमिरे, शम्भु प्रधान, बन्नी प्रधान, डेनी, उगेन, बलरीधर हामी सबै उतै भेटेका थियौँ । बम्बईमा मेरो सानो घर थियो । उहाँहरू सबै घरमै आउनुहुन्थ्यो । सबै जम्मा हुँदा खुब रमाइलो लाग्थ्यो । दसैँतिहारमा सबै आउनुहुन्थ्यो । मेरी श्रीमती नेपाली भनेपछि खुब मन पराउँथिन् । उनले घरमा कसैलाई अंग्रेजी र हिन्दी बोल्न दिन्नथिन् । सबैले नेपाली बोल्नुपर्छ भन्थिन् ।

तुलसी घिमिरेजी फिल्म सम्पादनको काम गर्नुहुन्थ्यो । उहाँ मेरो घरमा बिदाको समय भेटघाट गर्न आइरहनुहुन्थ्यो । उहाँले मलाई एक दिन भन्नुभयो, ‘अब नेपाली फिल्म बनाउनुपर्छ ।’ ‘बाँसुरी’ भन्ने फिल्म बनाउने योजना बन्यो । मैले बाँसुरीका लागि ‘मिर्मिरे साँझ...’ गीत बनाएँ । त्यसवेला उदितनारायण झा चर्चित भइसकेका थिएनन् । उनी स्थापित हुन संघर्ष गरिरहेका थिए । आशा भोसले र उदितनारायणलाई गाउन लगाउने सल्लाह भयो । आशा भोसलेलाई मैले गीत गाउन अनुरोध गरेँ । पछि यो गीतलाई निकै रुचाइयो पनि । यही गीतले उदितलाई गायकको रूपमा परिचित गरायो । त्यसपछि मैले म्युजिक डाइरेक्टरका रूपमा काम गर्न थालेँ । एकपछि अर्काे नेपाली फिल्म बन्न थाले ।

यतिवेलै तुलसी घिमिरेजीले ‘कुसुमे रुमाल’ फिल्म बनाउन लाग्नुभएको रहेछ । कुसुमे रुमालबाटै शब्द आउनुपर्छ भन्ने लाग्यो । बिहान हार्माेनियमसहित ओछ्यानमै थिएँ । श्रीमती पनि सँगै थिइन् । उनी कुनै धुन राम्रो सुन्नेबित्तिकै ‘यो राम्रो छ’ भन्थिन् । त्यस्ता धुन कापीमा टिपेर राख्थिन् पनि । ‘कुसुमे रुमाल’ गीत उनलाई राम्रो लागेपछि मैले पूरा गरेँ । पछि तुलसीजीलाई गीत सुनाएँ । उहाँले पनि असाध्यै मन पर्‍यो भन्नुभयो । त्यसपछि त्यही फाइनल भयो । पहिलो रेकर्ड भयो बाँसुरी फिल्मको ‘झझल्को लिएर आएछ...’ हो । त्यसपछि ‘मोहनी लाग्ला है..., ‘वीरताको चिनो..., ‘मन छाडे मैच्याङ..., ‘सुन कथा एउटा गीत...जस्ता गीत बनाएँ ।

मैले अनगिन्ती नेपाली गीतमा काम गरेँ । हामीभित्र नेपाली माटोको साइनो गडेर बसेको छ । सबै नेपालीलाई म आफन्त मान्छु । नेपाली जहाँ छन्, सबै मेरा आफन्त हुन् । नेपाल टेक्नेबित्तिकै मलाई मेरा साथीको सम्झना आउँछ । यहाँ मेरा एकदमै मिल्ने साथी थिए । उनीहरूले मलाई नेपालमा हुँदा सबै अवस्थामा साथ दिएका थिए । पिटर जे कार्थक, नर्बु योञ्जनलगायत साथीले ठुलो गुन लगाएका छन् । 

अझै संगीत सिकिरहेको छु
नेपाली संगीतमा मैले गर्नुपर्ने काम धेरै छन् । भगवान्ले उमेर दिन्छ कि दिँदैन थाहा छैन । संगीतमा धेरै कुरा सिक्नु छ, जान्नु छ । अहिले पनि संगीत सिकिरहेको छु । अझै पनि कैयौँ जिज्ञासा छन् । जति सिक्यो, उत्तिकै सिक्दै जान मन लाग्ने रहेछ ।

संगीतमा अझै पनि संघर्ष गरिरहेको छु । हुन त बाल्यकालदेखि नै जीवन संघर्षपूर्ण रह्यो । आमालाई सधैँ सम्झन्छु । आमाको आवश्यकता सधैँ खड्किन्छ । १५–१६ वर्षको उमेरमा आमा बित्नुभयो । म काका, दाइहरूसँग हुर्किएँ । त्यो संघर्ष अझै पनि गरिरहेको छु । जीवन संघर्ष नै रहेछ । मान्छे खुसी हुने र दुःखी हुने संघर्षभित्रै नै रहेछ ।

कहिलेकाहीँ धनी मान्छे भएर फेरि जन्मन पाए हुन्थ्यो जस्तो लाग्छ । सबै कुरा पैसा रहेछ । पैसाले नै चाहेको सबै कुरा पूरा गर्न सकिँदो रहेछ । अहिले पनि यो गीतचाहिँ रेकर्ड गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । तर, पैसाकै कुरा आउँछ । पर्याप्त पैसा भएको भए अझै पनि कति राम्रा–राम्रा गीत रेकर्ड गर्थेँ होला भन्ने हुन्छ । अहिले त झन् गीत रेकर्ड गर्न धेरै पैसा लाग्छ । त्यत्रो पैसा कहाँबाट ल्याउने ?

जीवनमा मलाई धेरै पैसा कमाउने सोच कहिल्यै आएन । यो काम गरेपछि यति पैसा लिउँला भन्ने सोच आएन । हिजो फिल्मका गीत गर्दा पनि पैसा हेरेर काम गरिनँ । फिल्मका निर्माता आउँथे, यस्तो गीत चाहियो भन्थे, त्यसरी नै गीत तयार गर्थेँ । यति नै पैसा चाहियो भनेर मागिनँ । गीत बनाएपछि निर्माताले श्रीमतीको हातमा पैसा दिन्थे । कुन गीत कति पैसा आयो श्रीमतीलाई नै थाहा हुन्थ्यो । मलाई थाहै हुँदैन । जिन्दगी यसरी नै बित्यो । काममा मात्रै विश्वास गर्छु । पैसासँग संगीतको तुलना गरिनँ । तर, पैसाचाहिँ आवश्यक पर्ने रहेछ । 

मेरा कतिपय गीत त भर्खर सुन्न थालेका छन्
मेरा कतिपय गीत त मान्छेले भर्खर सुन्न थालेका छन् । सिर्जना भएर पनि बाहिर ल्याउन नसकेको अवस्था थियो । धेरै ठुला मान्छेसँग काम गर्न पाएँ, सिक्ने अवसर पनि पाएँ । सिकेको कुरा नयाँ पुस्तालाई दिन सक्छु भन्ने प्रयत्नमा छु । संगीत मनमा महसुस हुने हुनपर्छ । म आज संगीत नै सिकिरहेको छु । जीवनमा अनन्त कालसम्म सिकाइ चलिरहने रहेछ ।

हामीले सिक्ने भनेको ‘फोक सङ’बाटै हो । नेपाली मौलिक संगीत कहिल्यै बिर्सिनुभएन । हिजोआज कतिपय कम्पोजर अरूको संगीत नक्कल गरिरहेका हुन्छन् । यो राम्रो होइन । हाम्रै संगीत खोज्नुपर्छ । हाम्रै माटोको बास्ना खोज्नुपर्छ ।

हिजोआज सबैलाई चर्चा आउनु छ । सबै गीत राम्रो हुँदैन । गीत राम्रो हुनलाई सबै कुरा मिल्नुपर्छ । भगवान्ले सबै कुरा मिलाइदिएको हुन्छ । संगीत, गायन र शब्द मिलाइदिन्छ । संगीतको धुनसँग शब्द र आवाज मिल्छ । यसका लागि समय लाग्छ । सबैका लागि जीवनमा त्यस्तो मिल्दैन । भगवान्ले आशीर्वाद दिएको हो ।